सहर विकासको योजना बनाउँदै गोरखा

समाधान संवाददाता २०७५ फागुन १० गते ९:२२

मोहसिन अलि मियाँ

गोरखा नगरपालिकाले अघि बढाएको एकीकृत सहरी विकास योजना निर्माण अन्तर्गत १४ वटै वडाको स्थलगत अध्ययन सकिएको छ । नगर क्षेत्रलाई दीर्घकालीन रुपमा व्यवस्थित बनाउन गर्नुपर्ने विकास निर्माणका काम र योजनाको विवरण संकलन गरी बुधबार प्रतिवेदन सार्वजानिक गरिएको हो । ‘नगर क्षेत्रको विकास निर्माणको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन योजना बैंक निर्माणको काम केही महिनाअघिदेखि नै सुरु गरेका हौं,’ नगर प्रमुख राजनराज पन्तले भने, ‘दोस्रो चरणको काम सकिएको छ, सबै वडाको स्थलगत र सम्भाव्यता अध्ययन सकिएको छ ।’

विकास निर्माणको कामलाई थप संस्थागत र प्रभावकारी रुपमा अघि बढाउन गोरखा नगरपालिकाले ५ वर्षको कार्ययोजना, १० वर्षको लक्ष्य र २० वर्षको भिजन तयार गरी अघि बढ्ने लक्ष्य राख्दै योजना निर्माणको काम थालेको हो । टेक्नोक्रेट नयाँ राष्ट्रिय नियात्रा जेभीसँग केही महिनाअघि सम्झौता भई अध्ययन काम सुरु भएको थियो । सो संस्थाका परामर्शदाताले हरेक वडामा पुगेर गरेको अध्ययन, वडा छलफलबाट आएका बिषयगत एवं संबद्ध क्षेत्रबाट प्राप्त सूचनालाई गोरखा नगरपालिकामा आयोजना गरिएको एक कार्यक्रमका बीच सार्वजानिक गरिएको हो ।

Advertisement

सहरी विकास योजना निर्माणपछि विकास निर्माणका कामलाई व्यवस्थित गर्नुका साथै क्रमबद्ध गराउन पनि मद्दत मिल्ने नगरपालिकाले दाबी गरेको छ । ‘अहिलेका कतिपय योजना पहुँचका आधारमा पनि आएका हुन सक्छन्, हामीले नदेखेका थुप्रै काम गर्नुपर्नै हुन सक्छ’, नगर प्रमुख पन्तले भने, ‘अब सहरी विकास योजना निर्माण भएपछि त्यस्ता गल्ती कम हुन्छन्, डुब्लिकेसनको सम्भावना पनि कम हुन्छ ।’

योजनाले पूर्वाधार, पर्यटन, सामाजिक, सांस्कृतिक, वन तथा वातावरण लगायत सम्पूर्ण क्षेत्रको विकासमा कहाँ के आवश्यकता छ त्यसको प्राथामिकरण गरेर लक्ष्य, कार्ययोजना र भिजन निर्धारण गर्ने गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए । ‘हामी नगरलाई सम्बृद्ध बनाउन दीर्घकालीन सोच र रणनीति तयार गर्ने चरणमा छौं, कहाँ के आवश्यकता छ, त्यसलाई प्राथमिकीकरण हुँदै छ’, उनले भने, ‘सबै वडाको स्थलगत अध्ययनको रिपोर्ट आएको छ, अब त्यसमा छलफल अघि बढाउँछौं ।’

Advertisement

बुधबार नगर कार्यपालिका सदस्य, व्यवसायी, बुद्धिजीवी, नागरिक समाज लगायत बिभिन्न संघ, संस्थाका प्रतिनिधिको उपस्थितिमा परामर्शदाता संस्थाका इन्जिनियर उमेश धितालले प्रतिवेदन प्रस्तुत गरेका हुन् । सहभागीले प्रतिवेदनमाथि आफ्ना राय सुझावसमेत दिएका थिए । थप सुझाव संकलन एवं तथ्यांक प्रमाणिकरणका लागि परामर्शदाताकै उपस्थितिमा आगामी १६ गते वडाध्यक्षहरुसँग र १७ र १८ गते बिषयगत समितिसँग छलफल गर्ने नगरपालिकाले तयारी गरेको इन्जिनियर ढकालले बताए ।

त्यसपछि तयार भएको योजनालाई राष्ट्रिय स्तरका विज्ञहरुसँग छलफल गरी अन्तिम रुप दिइने र आवश्यक संशोधन गरी तेस्रो चरणमा नगरपालिकाको दीर्घकालीन सोच तथा रणनीतिक योजना निर्माण कार्यशाला गोष्ठीमा प्रस्तुत गरिने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया