प्रदेश बाल परिषद् गठन

समाधान संवाददाता २०७५ फागुन १४ गते ७:५४

समाधान संवाददाता

गण्डकी प्रदेशस्तरीय बाल भेलाले दीपा आचार्यको अध्यक्षतामा प्रदेश बाल परिषद् गठन गरेको छ । परिषद् उपाध्यक्षमा पुष्कर पुन, सचिवमा आश्मा अर्याल, सहसचिवमा विशाल खनाल, कोषाध्यक्षमा विराज राना क्षेत्री रहेका छन् । परिषद्को कार्य समितिको सदस्यमा श्रृष्टिका पाण्डे, राजेश परियार, गोविन्द गौतम, सुश्मिता चौधरी, लक्ष्मी बुढामगर, प्रकृति दवाडी, अमृता पौडेल, निश्चल गुरुङ, नवराज पाठक र कविता गोतामे छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशलाई बालमैत्री प्रदेश बनाउने घोषणा गरे । अब प्रदेशका हरेक संरचनालाई बालमैत्री बनाउने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले बालअधिकारको प्रत्याभूतिका लागि गण्डकी प्रदेश सरकार सधै सर्तक रहेको धारणा राखे । ‘बालबालिकामाथि बढेको दुव्र्यवहार रोक्न प्रदेश सरकारले छुट्टै नीति निर्माण गरेर कार्यान्वयनमा ल्याइने छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेशमा ९३ प्रतिशत बालबालिका शिक्षाको पहुँच रहेकोमा त्यसलाई बढाइने छ ।’

Advertisement

सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले प्रदेश सरकारले बाल विकासको लागि नीतिगत व्यवस्था गर्न लागेको जानकारी दिइन् । सरकारले श्रमिक बाल बालिकाको लागि स्थायी सिकाइ केन्द्र खोल्न लागेको उल्लेख गर्दै मन्त्री पुनले बाल बालिकालाई नीतिगतरुपमा सहभागिता गराउने प्रतिवद्धता व्यक्त गरिन् । प्रदेशस्तरीय बालबालिका सम्बन्धी ऐन निर्माणको क्रममा रहेको जानकारी दिँदै मन्त्री पुनले प्रदेशस्तरको बाल कोष खडा गर्ने बताइन् । उनले बालमैत्री प्रदेश घोषणाको लागि योजनाबद्ध ढंगले काम गर्ने उल्लेख गरिन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य तथा बाल अधिकारकर्मी विष्णुप्रसाद लामिछाने, जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव नारायण आचार्य, प्रमुख महिला विकास अधिकृत तुलसा अर्याल, गैसस महासंघका केन्द्रीय महासचिव रामप्रसाद सुवेदी, राष्ट्रिय अपांग महासंघका गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, गोविन्द गौतम, अमृता पौडेल, नवराज पाठक लगायतले बोलेका थिए ।

Advertisement

‘सुखी नेपाली समृद्ध नेपाल ः बाल अधिकार सबैको सरोकार’ भन्ने नाराका साथ भएको भेलामा गण्डकी प्रदेशका ११ जिल्लाबाट ४४ बाल क्लबका बालबालिकाले सहभागिता जनाएका थिए । कार्यक्रममा बाल क्लबका पदाधिकारीले बालविवाहसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया