पछि हट्दै भारत-पाकिस्तान

एजेन्सी
दुई दिनदेखि भारत र पाकिस्तानबीच देखिएको युद्धको स्थिति बिस्तारै मत्थर हुन थालेको संकेतहरू देखिएका छन् ।
बुधबार विवादीत कस्मिरमा भारतीय वायु सेनाको जहाज पाकिस्तानले खसालेपछि दुई देशको सम्बन्धको तनाव झन् चर्किने आशंका बढेको थियो।
भारतीय वायु सेनाको विमान खसेको २४ घन्टासम्म पनि भारतले कुनै जवाफी कारबाही गरेको छैन। र उसले त्यस्तो गर्ने संकेतहरू पनि देखिएको छैन। बरू भारतले पाकिस्तानले नियन्त्रणमा लिएका वायु सेनाका आफ्ना पाइलटलाई फिर्ता गरिदिन माग गरेको छ।
भारतीय जहाज खसेको केहीबेरपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा सल्लाहकार अजित डोभलसहित अधिकारीहरूको आकस्मिक बैठक बोलाएका थिए।
उक्त बैठकले पाकिस्तानमाथि थप जवाफी कारबाही गर्ने निर्णय गरेन बरू आफ्ना पाइलटलाई फिर्ता गर्न माग गर्यो।
दिल्लीस्थित पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएर भारतीय विदेश मन्त्रालयले पाकिस्तानी नियन्त्रणमा रहेका आफ्ना पाइलटलाई तुरून्त रिहा गर्न माग गरेको छ।
भारतले मंगलबार पाकिस्तानी भूमिमा छिरेर बमवारी गरेदेखि नै दुबै मुलुकको द्वन्द्व चर्काउने चाहना नभएको बताएका थिए।
मंगलबारको आक्रमणपछि पत्रकार सम्मेलन गर्दै भारतीय विदेश मन्त्रालयले यो आक्रमणको सैनिक र नागरिकलाई क्षति पुर्याउने लक्ष्य नभएको बताएको थियो।
फेब्रुअरी १४ मा ४० भारतीय सैनिकको ज्यान जाने गरी पुलवामामा आत्मघाती हमला गरेको आतकंवादी समूह जैस-ए-मोहम्मदले फेरि आक्रमण गर्ने सूचना आएकाले त्यसलाई रोक्नमात्र उसैका संरचनालाई निशाना बनाएर आक्रमण गरिएको भारतीय तर्क थियो।
भारतीय आक्रमणपछि पाकिस्तानले पनि संयम देखायो। उसले कुनै सैन्य वा मानवीय क्षति हुने गरी आक्रमण गरेन। जबकी सांकेतिक रूपमा भए पनि मंगलबार भारतले गरेको आक्रमणको कुनै न कुनै रूपमा जवाफ दिनु पर्ने बाध्यतामा पाकिस्तान थियो। त्यो बाध्यता पूरा गर्न उसले बुधबार भारत नियन्त्रित कस्मिरमा सैन्य संरचना र नागरिकहरूको बस्तीलाई छल्दै खाली ठाउँमा आक्रमण गर्यो।
बुधबार भारतलाई दिएको जवाफमै पाकिस्तान एक कदम पछाडि हटेको थियो। मंगलबार भारतीय वायु सेनाका जहाजले सीमा पार गरेर आक्रमण गरेका थिए। तर पाकिस्तानी जहाजले आफ्नै भूमिमा बसेर विवादीत कस्मिरको खाली ठाउँमा आक्रमण गरे।
बुधबारको पाकिस्तानी आक्रमणपछि भारतीय वायु सेनाका जहाज सीमा पार गरेर कसरी र किन प्रवेश गरे त्यो अझै खुलेको छैन। पाकिस्तानमाथि आक्रमण गर्ने उद्देश्यका साथ ती जहाज सीमापारि गएका थिए वा लाइन अफ कन्ट्रोलमाथि उड्दै गर्दा पाकिस्तानी विमानले आक्रमण गरेका थिए?
पाकिस्तानले सीमा पार गरेर आफ्नो भूमिमा भारतीय सैनिक जहाज छिरेपछि जवाफी कारबाही गरेको बताएको छ। सो कारबाहीमा भारतीय जहाज पाकिस्तान नियन्त्रित कस्सिरमा खसेको थियो।
पाकिस्तानी सेनाले भारतीय सेनाका दुईटा जहाजमाथि कारबाही गरेको, एउटा भारतमा र अर्को पाकिस्तानमा खसेको दाबी गरे पनि अहिलेसम्म एउटामात्र जहाजको भग्नावशेष भेटिएको छ।
सुरूमा दुई भारतीय पाइलटमा आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको पाकिस्तानले बुधबार साँझ एक जना पाइलटमात्र आफ्नो नियन्त्रणमा रहेको बताएको छ।
बुधबारको आक्रमणपछि पनि पाकिस्तानी सेनाले आफूले यसलाई थप चर्काएर युद्ध नचाहेको बतायो। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्ति र वार्ताका लागि सार्वजनिक रूपमा भारतलाई आह्वान गरे।
फेब्रुअरी १४ मा पुलवामामा भएको हमलापछि उनले सार्वजनिक रूपमै दुबै मुलुकले युद्ध चर्काउन नहुने बताएका थिए। इमरानले त्यही कुरा बुधबार पनि दोहोर्याए।
पाकिस्तानी प्रधानमन्त्री खानले वार्ताका लागि गरेको आह्वानमा भारतले औपचारिक रूपमा प्रतिक्रिया दिएको छैन। भारतीय सञ्चारमाध्यम र राजनीतिज्ञहरूले खानले आतंकवादीबारे कुनै पनि टिप्पणी नगरेको भन्दै सो आह्वानको आलोचना गरेका छन्।
तर भारतमा पनि पाकिस्तानीमाथि थप जवाफी कारबाही गर्नुपर्ने माग कतै देखिँदैन।
फेब्रुअरी १४ को आतंकवादी हमलापछि आक्रामक देखियो भारतीय मिडिया, विश्लेषक र आमधारणा पनि मत्थर देखिन थालेको छ।
अहिलेको अवस्थाबाट द्वन्द्व चर्कियो र कुनै पक्षले पनि फेरि आक्रमण गर्यो भने त्यसपछि युद्ध साँच्ची नै भड्किन सक्ने विश्लेषकहरूले बताएका छन्।
त्यही कारण पनि दुबै पक्षले बुधबारको घटनापछि बिस्तारै पछाडि हट्न थालेको संकेत देखिएको छ।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया