अफगानिस्तानमा महिला र बालिकाकाे अधिकारलाई प्राथमिकता दिन आग्रह

राष्ट्रिय समाचार समिति (रासस) २०८० फागुन २३ गते १६:५२
स्वीजरल्यान्ड।

अफगानिस्तानमा महिलाहरूलाई आधारभूत अधिकारबाट वञ्चित भएको विवरणह आइरहेका समयमा मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, भोल्कर टर्कले अफगानिस्तानमा महिला तथा किशोरी अधिकारलाई प्राथमिकता दिन आह्वान गरेका छन् ।


तुर्कले अफगानिस्तानले सामना गर्ने महिला तथा किशोरीहरूको अधिकारको अत्यधिक उल्लंघनको विषयमा ध्यानाकर्षण गरेको खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ ।


अफगानिस्तानमा मानव अधिकारका लागि संयुक्त राष्टसंघीय विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिला तथा किशोरीहरूको दुरावस्थालाई विशेष जोड दिँदै अफगानिस्तान मानव अधिकारको गम्भीर अवस्थामा तुर्कको चिन्तालाई उजागर गरे ।
महिला अधिकारमा ध्यान केन्द्रित गर्दै अफगानिस्तानको इस्लामिक इमिरेटसँगको कुनै पनि अन्तरक्रियाका लागि मानव अधिकारको मौलिक सम्मान पूर्व शर्त भएको बेनेटले बताए ।

Advertisement


तालिबानले सत्ता कब्जा गरेको दुई वर्षभन्दा बढी समयपछि अफगानिस्तानमा मानव अधिकारको निरन्तर ह्रासबारे बेनेटको प्रतिवेदन २९ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्मा पठाइएको थियो ।


खामा प्रेसका अनुसार तुर्कले मानव अधिकारका मुद्दाहरूमा मात्र नभई तालिबानले सञ्चारमाध्यम र पत्रकारिताको दमनको बारेमा पनि चिन्ता व्यक्त गरेका छन् ।

Advertisement


प्रतिवेदनमा कान्दाहारमा व्यक्तिहरूको तस्बिरको प्रकाशनलाई गैरकानुनी बनाउने र खोस्ट प्रान्तमा महिलाहरूलाई रेडियो कार्यक्रममा समेत निषेध गर्ने जस्ता उपायहरू समावेश छन् । यद्यपि, तालिवान प्रशासनका प्रवक्ता जबिहुल्लाह मुजाहिदले महिला अधिकारका लागि वर्तमान सरकार प्रतिबद्ध भएको बताएका छन् ।


मानव अधिकारको उल्लंघनलाई अस्वीकार गरी पश्चिमी राष्ट्रहरूले अफगान सरकारलाई दबाब दिन यी दावीहरू प्रयोग गरेको दावी उनले गरे ।


तालिबानले महिला अधिकारमा लगाएको कडा प्रतिबन्धले उनीहरूको शिक्षा र रोजगारीका अवसरहरूमा घातक प्रभाव पारेको छ । अफगान महिला तथा बालिकाहरूले सशक्तिकरण र आर्थिक स्वतन्त्रताको लागि आवश्यक मार्गहरूबाट वञ्चित गर्दै विद्यालय जान वा सुखद भविष्यको खोजी गर्न विकराल अवरोधहरूको सामना गरिरहेका छन् ।


यसैगरी, अन्तर्राष्ट्रिय समुदायले व्यापक मानवीय प्रयासको एक हिस्साको रूपमा अफगान महिला अधिकारको संरक्षण र समर्थनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको खामा प्रेसले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया