फेवाताल जोगाउन आमा समूहको सक्रियता

समाधान संवाददाता
पोखरा महानगरपालिका ६ बैदाममा रहेको खहरे आमा समूहका सदस्य तथा सल्लाहकारले फेवाताल जोगाउन लाग्ने प्रतिवद्धता गरेका छन् । समूहको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष मैयाँ भट्टराई थापालगायतका पदाधिकारी र सदस्यलाई पदस्थापन गर्ने कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।
समूहका संस्थापक अध्यक्ष नानीमाया सिग्देलले फेवाताल वरपर बस्नेले नै फेवाताललाई फोहर गर्ने गरेको बताइन् । उनले डिहिकोपाटनदेखि खहरेसम्मका केही घरबाट कपडा धोएको, नुहाएको साबुन पानी ढलमा मिसाइएको र त्यही ढल फेवातालमा मिसिई फेवाताल दुर्गन्धित भएकाले त्यसलाई रोक्न आह्वान गरिन् ।
पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुली, सल्लाहकार चन्द्रकान्त पौडेल, पूर्व सल्लाहकार गुरुदत्त पहारी, संस्थाका उपाध्यक्ष सावित्री तिमिल्सिना र आजीवन सदस्य रीता पहारीले फेवाताल जोगाउन हरेक हप्ता सरसफाई कार्यक्रम गर्दै आएकोमा अब फोहर फ्याक्नेलाई कारवाही गर्नुपर्ने विचार राखे ।
निर्वाचन समिति संयोजक अधिवक्ता सूर्यप्रसाद तिमिल्सिनाले नवनिर्वाचित अध्यक्ष मैयाँ भट्टराई थापालाई र अध्यक्ष थापाले उपाध्यक्षलगायत पदाधिकारी र सदस्यलाई सपथ गराए ।
अधिवेशनले मैयाँ भट्टराई थापाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । समूहको प्रथम उपाध्यक्षमा अञ्जना पहारी, द्वितीय उपाध्यक्षमा सावित्री तिमिल्सिना, तृतीय उपाध्यक्ष पार्वती पहारी, महासचिवमा पम्फा थापा, सचिवमा मनु थापा भागिरथी, सहसचिवमा प्रभा कोइराला, कोषाध्यक्षमा सीता पौडेल पहारी, सहकोषाध्यक्षमा सत्य पहारी छन् ।
यस्तै, सदस्यमा कमला पहारी, सञ्जु पहारी, दीपा जलारी, कमला थापा, मिना रानाभाट, सत्य पहारी, उषा रावत, लीला अधिकारी कोइराला, चन्द्रा बास्तोला पहारी, सीतादेवी पहारी, देवी लामिछाने, रेनु पौडेल, लता पहारीर पार्वती गौतम निर्वाचित भएका थिए ।
नवनिर्वाचित अध्यक्ष थापाले फेवा ताल बचाउ अभियान अन्तर्गत हरेक हप्ता सरसफाइ गरिएको बताइन् । उनले अहिलेसम्म सरसफाइका १ सय ६ औं हप्ता पूरा भएको बताइन् । सो अवसरमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा १ मिनेट मौन धारण गरिएको थियो ।
निर्वाचन समिति संयोजक तथा संस्थाका कानुनी सल्लाहकार अधिवक्ता सूर्यप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममासामुदायिक सेवा केन्द्र बैदामका सहसचिव दीपेन्द्र पहारी र निर्वाचन समिति सदस्य प्रेरणा पराजुलीले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया