विप्लवसामू प्रचण्डका २ विकल्प

समाधान संवाददाता २०७५ फागुन २१ गते ८:४४

समाधान संवाददाता

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ ले संविधानविरोधी र राजनीतिक अस्थिरता निम्त्याउने गतिविधि गरिरहे प्रशासनिक समाधान खोजिने बताएका छन् । अहिले राजनीतिक समाधानको खोजी जारी रहेको र अतिवादी सोचले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अगाडि बढिरहे सरकारले प्रशासनिक समाधान खोज्ने उनले बताएका हुन् ।

सोमबार विराटनगर विमानस्थल प्रचण्डले प्रशासनिक समाधान भनेको कस्तो हुने भन्ने व्याख्या नगरे पनि सरकारले विप्लव नेतृत्वको नेकपाविरुद्ध सुरक्षा निकाय परिचालन गर्ने संकेत गरे । विप्लव नेतृत्वको पार्टीले केही दिन पहिले मुलुकका विभिन्न स्थलमा बम विस्फोट र आगजनी गरेको थियो । जसमा १ जनाको मृत्युसमेत भएको थियो । यो घटनापछि सरकारले विप्लवविरुद्ध कडा कदम चाल्ने भएको हो ।

Advertisement

यसबीचमा विप्लव नेतृत्वका केही नेता र कार्यकर्तालाई पक्राउ गरिएको छ । अध्यक्ष प्रचण्डले विप्लवले गरेका गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने र लिइरहेको बताए । सरकारको नेतृत्व गरिरहेको पार्टीको अध्यक्षको नाताले विप्लवको विषयमा गम्भीर छलफल चलिहरेको प्रचण्डले बताए । ‘सरकार गम्भीर रूपले लागेको छ । मलाई लाग्छ यो नियन्त्रण हुन्छ । राजनीतिक सहमतिमा आउने हदसम्म सहमतिको प्रयास पनि सरकारले नगरेको होइन र भविष्यमा पनि गर्छ’, प्रचण्डले भने, ‘देशको संविधान त्यो पनि यत्रो ठूलो संघर्ष र बलिदानबाट बनेको संविधान र त्यस अनुसार बनेको दुई तिहाईको वामपन्थी सरकार भएको बेलामा यसलाई अस्थिर बनाउने कसैले प्रयास गर्छ भने त्यो अतिवाद बाहेक केही हुँदैन । अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रूपमा सोच्नुपर्छ, सोच्छ र सोचेको छ ।’ उनले यो समस्यालाई राजनीतिक र सरकारको प्रशासनिक दुवै तरिकाबाट समाधान गरिने बताए ।

उनले तत्काल मन्त्रिपरिषद्बाट मन्त्रीहरूलाई बाहिर निकाल्ने कुरा नभएको प्रष्ट पारे । मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीको भए पनि यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच कुनै कुरा नभएको उनको भनाइ छ । प्रचण्डले मन्त्रीहरूको मूल्यांकन प्रधानमन्त्रीले गरिरहेको भने जानकारी दिए । उनले भने, ‘अहिले मिडियामा जति आएको छ त्यो अनुसार मन्त्रिमण्डलमा हेरफेर गर्ने कुरा भएको छैन ।’ पार्टी एकता र हतियारबारे पार्टी एकताको काम अन्तिम चरणमा पुगेको प्रचण्डले जानकारी दिए । उनले प्रदेश कमिटीको विषय टुंगोमा लागिसकेकाले अबको केही दिनमा सार्वजनिक गरिने बताए ।

Advertisement

यो बीचमा मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन र पूर्वमन्त्री भरतमोहन अधिकारीको निधनले पार्टी एकताको टुंगो लाग्न ढिलाई भएको प्रचण्डको भनाइ छ । उनले विगतमा तत्कालीन माओवादीले हतियार बाहिर लुकाएको र अहिले सार्वजनिक हुन थालेको एवं विप्लवको पार्टीले बाहिर ल्याउन र प्रयोग गर्ने थालेको भन्ने विषयमा सही नभएको बताए । उनले त्यति बेला हतियार व्यवस्थापन र सेना समायोजन भएको बताए । अरूले लुकाएको भए त्यसको जिम्मेवारी आफूहरूको नभएको उनको धारणा थियो ।

केही हतियार क्यान्टोनमेन्टबाट हराएको र त्यसको जानकारी त्यति बेला नै सरकारलाई जानकारी दिएको पनि उनले बताए । उनले भने, ’त्यतिखेर चोरी भएको रिपोर्ट त्यतिबेला नै सरकारलाई दिएको थियो । यो सामान्य हो यसलाई अनावश्यक हल्ला गर्नु र चर्चा गर्नु आवश्यक छैन ।’ अध्यक्ष प्रचण्डले नेपालका दलहरू विगतमा नमिलून र राजनीतिक स्थिरता नहोस् भनेर धेरै शक्ति लागेको जिकिर गरे । उनले त्यस्ता शक्ति अहिले पराजित भइसकेकाले अब देश स्थायित्व, विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताए ।

तपाईको प्रतिक्रिया