मनोमानी ब्याजदरले होटल थला

समाधान संवाददाता २०७५ फागुन २२ गते ९:०९

समाधान संवाददाता

पर्यटक बनाउन उच्चस्तरीय होटल थपिँदै गए पनि बैंकको मनोमानी ब्याजदरले होटल, पर्यटन क्षेत्र थला पर्ने अवस्था आएको होटल व्यवसायीले बताएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको मंगलबार आयोजित १९ औं अधिवेशन तथा ३८ औं साधरण सभामा वक्ताले होटल क्षेत्रमा वार्षिक अर्बौं रुपैयाँ लगानी थपिंदै गएको तर यसको संरक्षणतर्फ सरकार उदासिन देखिएको आरोप लगाए ।

पछिल्लो क्रममा होटलको संख्या बढ्दा होटलको अकुपेन्सी दर भने घट्न पुगेको उनीहरुले दाबी गरे । यही क्रममा बैंकहरुले कर्जाको ब्याजदर मनोमानी ढंगले बढाएको भन्दै सरकारले यसविरुद्ध तत्काल हस्तक्षप गर्नुपर्ने उनीहरुको माग छ ।

Advertisement

पोखरामा नयाँ विमानस्थल बन्दै गरेको तर पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग र भूपी शेरचन राजमार्गको स्तारोन्नति पनि जरुरी भएको सो अवसरमा जोड दिइएको थियो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पर्यटनको विकासका लागि पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिए । होटलले स्तरीय सेवा दिनेतर्फ पनि सचेत हुनुपर्ने सुझाव उनको थियो ।

गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताउँदै उनले सहासिक र खेल पर्यटनको विकासमा पनि थुप्रै काम गर्न बाँकी नै रहेको बताए । पाहुना नै भगवान हुन् अर्थात् अतिथि देवो भवः लाई मुख्य ब्रान्ड नै बनाएर नेपाल अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन हुन सक्ने उनले बताए ।

Advertisement

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सडक नबनेसम्म हिमाल हाँसे पनि पर्यटन नआउने बताए । पर्यटन बसपार्कसम्बन्ध्ी सम्झौता छिटै हुने भन्दै उनले यही वर्षभित्र पोखराका १० चोकमा ट्राफिक लाइट राखिने जानकारी दिए । प्रदेश सभा सदस्य राजीव पहारीले पोखरालाई ग्रिन क्लिन सिटी बनाउनुपर्ने बताए । हिमागृहलाई तत्काल खोल्न माग गर्दै उनले फेवा तालको माटो निकाल्ने काम रोकिन नहुने बताए । संघका पूर्व अध्यक्ष एवं पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष सुन्दरकुमार श्रेष्ठले होटल बचाउने दायित्व सरकारको पनि भएको बताए । नेपाल पर्यटन बोर्डका नवनियुक्त सदस्य एवं होटल संघ नेपालका सदस्य विप्लव पौडेलले व्यवसायीको संरक्षण र नेपालको प्रबद्र्धन आफ्नो मूल नारा भएको भन्दै बंगलादेशमा नेपाल प्रबद्र्धन गर्ने गरी छिटै योजना आफूले लिएर आउने प्रतिबद्धता जनाए ।

होटल संघ नेपालका कोषाध्यक्ष साजन शाक्यले पोखरा दक्षिण एसियाको पर्यटकीय ढोका बन्न सक्ने भनाइ राखे ।

संघका अध्यक्ष विकल तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपिबहादुर भट्टराई, संघका महासचिव गणेशराज पहारी र उपाध्यक्ष लक्ष्मण सुवेदीले पनि बोलेका थिए । कार्यक्रममा बोर्डका सदस्य पौडेल र टेनिसमार्फत् पर्यटन प्रबद्र्धनमा सहयोग गरेकोमा कास्की जिल्ला टेनिस संघका संस्थापक अध्यक्ष विनोद कायस्थलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया