पूजाआजा गरेर हिउँ माग्नेलाई हिउँकै सास्ती

समाधान संवाददाता २०७५ फागुन २२ गते ९:२५

सुन्दरकुमार थकाली

मुस्ताङमा हिउँ नपर्दा मुस्ताङवासीले लामा-धामी राखेर गुम्बामा पूजाआजा गर्थे । गुम्बामा सामूहिक हिउँपूजा गर्दा हिउँ पर्ने र अन्नबाली सप्रने उनीहरुको विश्वास थियो । पूजा विधिबाट लामा किताब पढेर उनीहरुले हिउँलाई पुकार्थे । तर, विगतमा हिउँ नपर्दा चिन्तित हुने मुस्ताङीलाई यसवर्ष भने त्यही हिउँले नै सास्ती र पीडा दिएको छ ।

१० वर्ष पहिले मुस्ताङका अधिकांश घरहरु माटोकै संरचनाले निर्माण हुने गरेका भए पनि सडक सहज हुन थालेपछि आरसिसी पक्की घरहरु बन्न थालेका छन् । अहिले १० प्रतिशत घर आधुनिक डिजाइनमा बन्न थालेपनि धेरैजसो घर माटोकै छन् । माटोले बनेका यस्ता परम्परागत घरको छतमाथि ढलान गर्न सख्खर माटो बिछ्याइन्छ ।

Advertisement

यहाँका प्राचीन शैलीमा निर्माण भएका माटाका घरहरु जोखिममा पर्न थालेको बताइएको छ । पटक÷पटक परेको हिउँ घरको छतमाथि थुप्रिने र त्यसलाई पन्छाउँदा स्थानीयलाई सास्ती भएको छ । जोमसोमका स्थानीय अजित थकालीले भने, ‘हिउँ पर्दैन भन्यो हिउँ पर्छ । दिनहुँ हिउँ पन्छाउने कामले सास्ती थपिदियो ।’ उनले यो सिजनमा ५ पटक छतबाट हिउँ पन्छाएको बताए ।

हिउँ परेपछि अन्नबाली राम्रो हुने भएकाले खुसी हुने गरेका स्थानीय यसपटक हिउँकै कारण पीडा भोगेका छन् । उपल्लो मुस्ताङको उत्तरी कोरलानाका उत्तरतर्फ १० किमी परको गाउँ सम्जुङमा १ स्थानीय किसानका कम्तीमा १० वटा चौरी हिमपातका कारण मरे । सञ्चार सम्पर्क असहजताका कारण पुरै विवरण आउन बाँकी रहेको सीमा प्रहरी चौकी लोमान्थाङका असइ नरेन्द्रकुमार पौडेलले जानकारी दिए । मुस्ताङको जोमसोम, मार्फा, कोवाङ र टुकुचेका चौरीपालक किसानले चौपाया बस्ती छेउ ल्याए पनि बस्तीमा हिउँ पर्दा लेकमा पालिने चौरी संकटमा पर्न थालेको कोवाङ किसान सोजन हिराचनले बताए ।

Advertisement

२०५० सालदेखि निरन्तर मुस्ताङमा शिक्षण पेसा गर्दै आएका शिक्षक महासंघ मुस्ताङका अध्यक्ष राजु श्रेष्ठले २६ वर्षको मुस्ताङ बसाइमा यहाँ यति लामो समयसम्म हिउँ नपरेको बताए । उनले केही वर्ष हिउँ नपर्दा खेतीपाती राम्रो नहँुने भएकाले हिउँ पार्न स्थानीयले पूजापाठ गर्ने गरेको र अब हिउँ नपरोस् भनेर पूजा गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । लगातारको हिमपातले विद्यालयको पठनपाठन तथा सडक अवरुद्ध हुँदा पर्यटन व्यवसायमा समेत असर परेको बताए । स्याङ्का कर्णबहादुर थकालीले हिउँ पर्नु प्राकृतिक देन भएको बताए । मुस्ताङमा हिउँ नपर्दा बालीनाली बिग्रिएको ७ वर्ष भएको उल्लेख गर्दै मुस्ताङका लागि हिउँ पर्नु राम्रो भएको उनले बताए । यसवर्ष बढी हिमपातले चौपाया तथा लेकमा पाइने पशुपंंक्षीलाई असर पुर्‍याएको थकालीको भनाइ छ ।

तपाईको प्रतिक्रिया