कानुन व्यवसायी भन्छन्- न्यायालय विचौलियको घेरामा

समाधान संवाददाता २०७५ फागुन २९ गते ८:२८

समाधान संवाददाता

बार र बेञ्च परिपूरक हुन् । दुवैको सहकार्यबिना न्याय सम्पादन प्रभावकारी हुँदैन । एउटै मञ्चमा भएका बेला कानुन व्यवसायी र न्यायाधीशले प्राय एकअर्काको कुरा काट्दैनन् । बरु सहकार्यमै जोड दिन्छन् । मंगलबार पोखरामा भएको १ कार्यक्रममा कानुन व्यवसायीले सुरु अदालतप्रति थुप्रै गुनासो गरे । जुन कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश थिएनन् ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसँग उच्च बार पोखरा र कास्की जिल्ला बार एसोसिएनले गरेको छलफलमा सहभागी धेरैजसो कानुन व्यावसायीले जिल्ला अदालतको काम कारवाहीप्रति असन्तुष्टि पोखे । उनीहरुले सुधारका लागि सर्वोच्च अदालतले हस्तक्षेप गर्नुपर्ने माग समेत गरे । अधिवक्ता सुकदेव गौतमले मुद्दा दर्तादेखि सक्कल, नक्कल उतार्नका लागि समेत फाँटवालाईलाई सानोतिनो रकम बुझाउनै पर्ने अवस्था अझै कायम रहेको बताए । न्यायालयमा ठूलो परिवर्तनको कुरा गरिए पनि मुद्दामा सुरुदेखि नै सेटिङ हुने क्रम नरोकिएको उनको भनाइ थियो । उनले भने,‘प्रहरी र सरकारी वकिलले मुद्दामा सेटिङ मिलाउने प्रवृत्ति रोकिएको छैन, नेतृत्व फेरियो, नीति फेरिएन ।’ फैसला भएको लामो समयसम्म पूर्ण पाठ पाउन नसकिएको तिर ध्यानाकर्षण गराउँदै उनले अब फैसला मिति र फैसला तयार भएको मितिसमेत उल्लेख गर्न आग्रह गरे । सर्वोच्च अदालतमा मुद्दा चाङ धेरै भएको भन्दै बरु एकैपटक २ सय जना अस्थायी न्यायाधीश नियुक्त गरेर अघि बढ्न उनले सुझाव दिए ।

Advertisement

अधिवक्ता जगन्नाथ ढकालले सानातिना काममा समेत फाँटवालासँग मोलाहिजा गर्नुपर्ने अवस्था रहेको बताए । सर्वोच्चको नेतृत्वले नियन्त्रित न्यायालय बनाउन खोजेको भन्दै उनले न्यायाधीशलाई पहिल्यै तर्साएर होइन कि गलत काम गरे कारवाही गरेर न्यायालय सुधार्न सुझाव दिए । अधिवक्ता कमल पौडेलले सुक्ष्म निगरानीको त्रासले न्यायाधीशहरु फौजदारी मुद्दामा तसिर्ने अवस्था आएको बताए । अधिवक्ता जनकल्याण पराजुलीले जिल्लादेखि सर्वोच्चसम्म विचौलियाको बिगबिगी रहेकाले यसतर्फ ध्यान दिन आग्रह गरे । अधिवक्ता इन्द्र बरालले समान प्रकृतिको मुद्दामा एउटै अदालतका न्यायाधीशबाट फरकफरक खालका व्यवहार हुने गरेको भनाइ राखे । उनले भने,‘न्यायाधीशबीच कार्यविधिगत एकता भएन, हामीले न्यायाधीश रोजेर अघि बढ्नुपर्ने अवस्था आएको छ ।’

अधिकृत वारेसनामा बनाउँदा, वहुविहाहका मुद्दामा व्यक्ति पिच्छे व्यवहार फरक हुँदा कानुन व्यवसायी र सेवाग्राही मर्कामा परेको धेरैजसोको गुनासो थियो । भर्खर वकालत सुरु गरेका कानुन व्यवसायीसँग त अदालतका कर्मचारीले निकै असहज व्यवहार गर्ने गरेको गुनासो सहभागीले गरे ।

Advertisement

सहभागीको जिज्ञाशा सुनिसकेपछि न्यायाधीश सपना प्रधान मल्लले बेञ्चबाट हुने आदेश र निर्णयमा सुक्ष्म निगरानीले कुनै असर नपार्ने बताइन् । उनले भनिन्,‘सुक्ष्म निगरानीको दायरमा म पनि हुन्छु, बेञ्च बाहिर हुने चलखेल रोक्न यसले काम गर्ने हो, न्यायाधीशले गर्ने निर्णयमा चुनौती दिन कसैले सक्दैन ।’ हरेक न्यायाधीश डरबाट मुक्त भएर काम गरे मात्र न्याय प्रभावकारी हुने भन्दै उनले निगरानीको नाममा कोही कसैलाई हतोत्साहित गर्ने उद्देश्य नरहेको प्रष्ट पारिन् ।

कर्मचारी अभावका कारण फैसलाको पूर्णपाठ आउन नसकेकोतर्फ संकेत गर्दै उनले दक्ष जनशक्ति व्यवस्थापन मुख्य चुनौती रहेको भनाइ राखिन् । न्यायाधीश मल्लले उच्च र जिल्ला तहमा समेत रिटको क्षेत्राधिकार रहे पनि सर्वोच्चमा मात्रै रिटको चाप भएको उनले बताइन् । कतिपय मुद्दामा धेरै कानुन व्यवसायी राख्ने, धेरै समय वहस गर्ने गर्दा पनि मुद्दा फछ्र्योट प्रभावित भएको उनको भनाइ थियो । अधिकृत वारेसनामा र वहुविवाहको मुद्दामा परेका केही अड्चनका बारेमा आफूले फूलकोर्टमै कुरा राख्ने उनले बताइन् ।

उच्च अदालत बारका अध्यक्ष रोहितराज बास्तोलाले न्यायालयले परिवर्तित अवस्थामा समयानुकुल कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला बारका अध्यक्ष मुक्तिनाथ सापकोटा, अधिवक्ता हेमराज बराल, वेदनाथ भण्डारी, निर्मला सुवेदी, शिव सुनार, विनीता नेपाली लगायतले जिज्ञाशा राखेका थिए ।

तपाईको प्रतिक्रिया