कृषि र पर्यटनबाट समृद्धि सम्भव- मन्त्री गुरुङ

समाधान संवाददाता २०७५ चैत ४ गते ९:१३

समाधान संवाददाता

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कृषि र पर्यटनबाट आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् । मुख्यमन्त्री नमूना कृषि गाउँ घोषणाका लागि तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीमा आइतबार भएको तयारी भेलामा मन्त्री गुरुङले कृषि क्षेत्रको व्यावसायीकरणसँगै पर्यटन प्रबद्र्धनबाटै समृद्धि सम्भव रहेको बताए ।

मन्त्री गुरुङले प्रदेशलाई समृद्ध बनाउन गण्डकी प्रदेश सरकार लागिरहेको भन्दै समृद्धिको अभियानमा स्थानीयले समेत साथ दिनुपर्ने बताए । उनले भने, ‘सरकारले समृद्ध प्रदेश बनाउने भनेर अभियान सञ्चालन गरिरहेको छ । यो अभियानमा सबै जनता सहभागी हुनुपर्छ ।’

Advertisement

उनले प्रदेशका ३६ निर्वाचन क्षेत्रमा नमूना कृषि गाउँका लागि ठाउँहरु छनौट भइसकेकोले साँच्चैको नमूना गाउँ बनाउन स्थानीयको पनि भूमिका हुने धारणा राखे ।

प्रदेशभित्रका ८५ वटै स्थानीय तहमा नमूना कृषि गाउँ बनाउने लक्ष्य भएपनि पहिलो चरणमा ३६ निर्वाचन क्षेत्रमा यो कार्यक्रम लागु भएको उनको भनाई थियो । चैत १० गते भानुमतिलाई नमूना कृषि गाउँ घोषणाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै मन्त्री गुरुङले उक्त कार्यक्रममा मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरु लगायत सबै मन्त्रालयका सचिवहरु सहभागी हुने बताए ।

Advertisement

भानुमतिलाई देशभरकै नमूना कृषि गाउँ बनाउन स्थानीय जुट्नुपर्ने बताउँदै उनले भने, ‘गाउँ हेर्ने हो भने भानुमति जाउँ है बनाउने वातावरण निर्माण गर्नुपर्छ ।’ यस ठाउँमा सञ्चालनमा आएको घरबासले समेत पर्यटन प्रबद्र्धनका लागि टेवा मिल्ने बताउँदै उनले घरबासकै नजिकै रहेको क्यानोनिङमा समेत पर्यटक आकर्षित गराउन सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले नमूना कृषि गाउँलाई विश्वकै नमुना बनाउनुपर्ने बताए । भीमाद नगरपालिका वडा नं ९ का अध्यक्ष इमान थापाले यस ठाउँ नमूना कृषि गाउँमा छनौट हुनु खुसीको कुरा भएको भन्दै गाउँलाई नमुना बनाउन यहाँका स्थानीय प्रतिबद्ध रहेको बताए ।

तपाईको प्रतिक्रिया