केटा केटीसँगको क्षमता

समाधान संवाददाता २०७५ चैत ९ गते ९:३०
Boys and girls running towards ball
दिनेश बस्नेत

बुवा बिरामी हुनु भएको पनि धेरै भयो । ६ महिना भयो । बुवाको अझ सेवा गर्न पाइयोस् हामी सबैको त्यही एउटा प्रार्थना छ । यो प्रार्थना भगवानबाट सुनुवाई होस्, म आजकल भगवानसँग दैनिक प्रार्थना गर्छु ।

तर पनि यस्तो लाग्छ रोग नै सबभन्दा ठूलो शत्रु रहेछ । माच्छेको मात्र नभई खुसीको पनि । अझ भनौ परिवारमा एक जनालाई रोग लागेपछि सम्पूर्ण परिवारलाई रोग लागे जस्तो अनुभव हुँदो रहेछ । परिवारको एक जनालाई रोग लागेपछि परिवारको हाँसोमा अपुताली परे जस्तो हुँदो रहेछ । पारिवारिक वातावरण नै धुमिल भए जस्तो हुँदो रहेछ । यसर्थ हाम्रो परिवारलाई आजकल खुसीले बिर्सेको छ । घरिघरि नौलो बटुवाझँै बाटो बिराएर आईहाले पनि क्षणभरमा नै गायब हुन्छ । खुसीविहीन दिनचर्या जीवनको निम्ति परिक्षण अवधि जस्तो हुँदो रहेछ ।

म सम्झन्छु, पहिला हाम्रो परिवार ‘हाँसो नै जीवनको सफलता हो’ भन्ने कुरामा विश्वास राख्ने परिवार हो । यावत समस्याका बावजुत पनि बेलुका खाना खाए पछि परिवार एकत्रित भएर बस्ने अनेकन प्रकारका गफहरूमा खुसी ढुँडल्ने । अर्थात् भनौं गफलाई चिन्ता र पीडा घटाउने माध्यम बनाउँथ्यौं । बेमेलता बासी नहुँदै कुराकानी सुरु गरिहाल्थ्यो । हाम्रो परिवारभित्र बाहिरबाट देखेजस्तो विपन्नता र विस्मयता थिएन । हामी आपसी समझदारी, आपसी बोलिचाली र आपसी सद्व्यवहारमा भरिपूर्ण थियौँ ।

Advertisement

अहिले हाम्रो परिवाले बनाएका मूल्य, मान्यता र परम्परा तोडिएका छन् । बुवाको रोगी अनुहार हेर्‍यो, मन नरमाइलो बनायो । उहाँका गुनासा, चाहाना र समस्यातर्फ आकर्षित भयो । कुन बेला कुन माग राख्नुहुन्छ भनेर सचेत भयो । दिन बित्छ । बुवाका निम्ति केही गर्न सकिएन कि ? बुवाका बाँकी केही कुरा थिए कि ! मनमा भने एक प्रकारको थकथकी जिउँदो रूपमा रहिरहन्छ । अनि अर्को दिन झिसमिसेसँगै सुरू हुन्छ, उही प्रकृतिको दिन ।

त्यो श्रृंगारविहीन क्षणहरूले मलाई कता कता थकित बनाएको छ । आजकल मनले नौलो कुनै रसलाग्दो खुराँक खोजेको छ । कतै न कतैबाट आगमन हुन सक्ने खुसीलाग्दो समयको खोजीमा छ मन ।

Advertisement

‘बेलुका विमला र गीता आउने भनेका छन् ।’ आमा भन्नुहुन्छ ।

ममा उत्साह छाउँछ । एउटा नौलोपनले मनलाई जगाउँछ । यसमानेमा कि बहिनीहरू नआएको धेरै भएकोे थियो । उनीहरू आउदा भान्जाभान्जी पनि सगसँगै आउँथे । ती भन्टयाङभुन्टुङसँग बोल्न पाउँदा मलाई अचम्मलाग्दो खुसी आभास हुन्छ । मनमा भएका समस्त विकार क्रमशः हराउँदै जान्छ । अनि साना केटाकेटी खुसीका साधन भएझैं लाग्छ ।

‘कति बेला आउँछन अरे ।’ म लाहुरे लोग्ने आउने खवर सुनेझैं हतार भावमा सोध्छु ।
‘भरे बस्ने अरेर आउँछन अरे ।’ आमाले जवाफ दिँदै भन्नुहुन्छ ।
‘बस्लान नि केही दिन ।’
‘एक दिन बस्लान नि, अहिले स्कुल बिदा छ क्यारे । रोजिता (ठूली भान्जी) बिदिसा (विमला बहिनीकी छोरी) केही दिन बस्लान् । आमाहरू जालान् ।’

आफन्तको महत्व हरेक हिसाबले अर्थपरक हुन्छ । बहिनीहरू त हमेसा साथ दिन खोज्ने आफन्त हुन । त्यसपछिका फुपूहरू र मावली । फेरि बहिनीहरू त माइतीको सानो दुखमा पनि दुखाइको महसुस गछर्न्, सानो खुसीमा पनि हाँस्दै एकपल्ट बुरूक्क उफ्रन्छन् । म सोच्छु, कति बेला, बहिनीहरू आउलान् र आँत खोलेर गफ गरौंला । बुवाको रोगी अवस्थाले ग्रसित पीडालाई कम गरौंला । सोचेर, मात्र मन शान्त हुन्न । म फोन गर्न थाल्छु । पहिला गीतालाई । ऊ ५ बजेको गाडीमा आउने बताउँछे ।

‘ज्वाइँले मोटरसाइकलमा ल्याइदिनु हुन्छ कि, बसमा आउछेस् ।’

‘बसमा आउँछु’

‘ढिलो हुन्न ? बस पाइन्छ ?’

‘सात बजेसम्म बस लाग्छ ।’

फेरि कान्छी बहिनी विमलालाई फोन गर्छु । उसले पनि बेलुका आउने कुरा गर्छे ।

घाम सेलाउँदै पश्चिममा गएर बस्छन । सूर्य गोलको फिलिंगाझैं रातो हुन्छ । आमाको मोबाइल बज्छ, १ क्षण बोलेपछि आमा भन्नुहुन्छ, ‘जा त पुलपारी विमला आएकी छे अरे, झोलासँग छोरो त्याउँदा त्यसलाई गाह्रो हुन्छ ।’

आमाको निर्देशन मैले मातहतमा पुर्‍याउँछु । छोरो अमृतलाई अह्राउँदै भन्छु, ‘जा त अमृत पुल पारिसम्म दिदी आउँदै छ अरे । झोला र भान्जा ल्याउँदा असजिलो होला । त्यति काम गर त बाबु ।’

अमृत अल्छी मान्दै भए पनि जान तम्सन्छ । केही क्षण विदिसा देखा पर्छिन् । अलि पछि विमला र भान्जा आउँछन् । विदिसाले सबलाई नमस्कार गर्छिन् । स्वभावतः उनी अरूभन्दा अलि संस्कारी, मिजासिली र फरासिली छिन् । ‘बुवालाई पनि नमस्कार गर न कान्छी ।’ आमा चेपारो पार्दै भन्नुहुन्छ ।

‘खोइ र बाबा ।’

‘भित्र हुनुहुन्छ ।’

उनी फुर्तीसाथ पिँढीमा उक्लिन्छिन् । र कोठामा नियाल्छिन, ‘नमस्ते बाबा !’ विदिसाले हात जोड्दै भन्छिन् ।

‘नमस्ते, आयौ, भाइ खोइ त ?’ बुवा खुसीमिश्रित स्वरमा भन्नुहुन्छ ।

‘भाइ ममीसँग आउँदैछ ।’

एक छिनपछि विमला र भान्जा (दिप्सन) आइपुग्छन् । ‘सबलाई नमस्कार गर बाबु, मामालाई नमस्कार गर । भान्जालाई सम्झाउँदै विमलाले भन्छे । भान्जा एउटा हातमा चिजबल लिएर हात उचाल्छन् । ‘यो चिजबल मलाई दे त, अलि राम्ररी नमस्कार गर’ फेरि विमलाले भन्छे । भान्जा चिजबल दिन मान्दैनन् ।

‘बाबा सन्चै हुनुहुन्छ ।’ ढोकाबाट हेर्दै विमलाले भन्छे ।

‘सन्चै छु, खोइ त नि बाल्खो ।’

‘यहिँ दिदीसँग छ । आउ बाबु ! बुवालाई नमस्कार गर ।’

उनले वास्ता गर्दैनन् । विमला आफैले उचालेर बुवानेर त्याउँछे । बुवा अलिकति हसिँलो बनाएर भन्नुहुन्छ, ‘ल बाबु आइज यहाँ बस्न् ।’

बुवा नाति नातिना भनेपछि हुरूक्क हुनुहुन्छ । देख्दा मात्रै पनि एक प्रकारको खुसी महसुस गर्नुहुन्छ । तिनीहरूसँग कुराकानी गर्दा आनन्द मान्नु हुन्छ । उनीहरू खेलेको रमाइलो मानेर हेर्नुहुन्छ ।

‘गीता पनि आउने भनेकी होइन त नि ? कतिखेर आउँछे ।’ बुवा गुनासो गर्नुहुन्छ ।

‘अहिले आउलि नि । कतिथरि धन्दा भ्याउनु पर्छ, कहाँ भनेको बेला फुत्केर हिँड्न पाउँछे र,’ आमाले त्यतिभनेर सक्नु भएको थिएन, गीता टुप्लुक्क आइपुग्छे । साथमा रोजिता (भान्जी) र रोजित (भान्जा) पनि देखा पछर्न ।

‘नमस्कार !’ मैले रोजितालाई व्यंग्य गर्दै भन्छु । रोजिता अलि लजाएझैं गर्छिन् ।

‘मामालाई गर्नु पर्नेमा उल्टै मामाले गर्दा पनि नमस्कार फर्काउनु छैन ।’ गीताले डाट्दै भन्छे ।

‘ल बाबु नमस्कार गर मामालाई, दाइलाई, आमालाई पनि गर्दे त ।’ गीताले फेरि भन्छे । भान्जाले लुलो गरी हात ठडाउँछन । मैले नमस्कार फर्काउँछु । बुवा बाहिर निस्कनु हुन्छ । ‘जाडोमा भित्र लुगा ओडेर नबसेर किन निस्कनु भयो होला ।’ मैले बुवालाई भन्छु ।

‘ट्वाइलेट जान निस्केको ।’ बुवा चप्पल लाउँदै भन्नु हुन्छ ।

सबै बुवा सुत्ने कोठातिर जान्छन् । बुवा पनि कोठाभित्र प्रवेश गर्नुहुन्छ । ‘बाबा !’ दिप्सन भान्जाले मिठासपूर्ण तवरले बोलाउँछन् । ‘हजुर’ बुवा हसिलोपाराले बोल्नु हुन्छ ।

उता विदिसा र रोजिता मिलेर चटपट खाइरहेका छन् । रोजित भान्जा दिन्छन् कि भनेर आडमा उभिएकाछन् । ‘भाइलाई पनि देओ न ।’ आमाले न्याय दिलाउँदै भन्नुहुन्छ ।

‘अघि भरखरै दिएको हो । होइन त काले ।’ रोजिता भान्जी चर्केर भन्छिन् ।

रोजित केही भन्न सक्दैनन् । सायद दिएको हुन भनुँ भने फेरि दिन्नन् । उनलाई खान मन लगेको थियो । आमाले मर्म बुझेर एउटा मिठाइँ दिनुहुन्छ रोजितलाई । उनी खुसी हुन्छन् । ‘हाम्लाई पनि चाहिन्छ ।’ विदिसा र रोजिता भान्जी हक सफा गर्न खोज्दै भन्छन् । २ वर्षका जति उमेरका दिप्सनले पनि आस गर्दै भन्छन, ‘बाबु हाम ।’

रोजिता, विदिसा, रोजित र दिप्सन भान्जा एकत्रित भएर कानेखुसी गछर्न् । ‘घोडा बनी खेल्ने,’ रोजिताले भन्छिन् । रोजिता घोडा बन्छिन् । विदिसा चढ्न खोज्छिन तर रोजितले आफू चठ्नलाई विदिसालाई हटाउन खोज्छन् । ‘नगर न मेरो पालो हो, चढ्ने ।’ विदिसाले उनका हात हटाउँदै भन्छिन् ।

‘एक फेरि मात्र है त काले ।’ रोजिताले शर्त राख्दै भन्छिन् । ‘ल एक पटक मात्रै ।’ रोजितले मोटो स्वर निकालेर भन्छन् ।
रोजित चढेपछि ओर्लन्नन् । विदिसा रिसाएर एकापट्टी बस्छिन् । सायद एकक्षणपछि रिस मोर्छ कि ! उनले गीत गाउन थाल्छिन्, ‘गोजीमा दाम छैन । मेरो गोजीमा दाम छैन । गोजीमा सुको नहुने मान्छे केही पनि काम छैन ।’ गीतको तालमा नाच्छिन् पनि । उनी नाच्न र गाउन सिपालु छिन् । रोजितालाई भने त्यस्ता कुराको केही वास्ता छैन ।

भान्जा, भान्जीहरू अर्थात् बुवा–आमाका नाति नातिनाहरूको बाल्य बोलचाल र चहलपहलले घरको माहोल नै रमणीय बनाउँछ । बुवा पनि रमाउनु हुन्छ । ‘यिनीहरू भोकाए कि, घर कति बेला के खाएर आएका थिए ।’ बुवा चिन्ता व्यक्त गर्दै भन्नुहुन्छ ।

विमला भान्जालाई लिटो खुवाउन थाल्छे । रोजित झोलाबाट स्याउ झिकेर खान थाल्छन । ठूलो गेडा कोपरेर खान्छन् । ‘काटेर दिएको भए हुने नि ।’ बुवा सल्लाह दिँदै भन्नुहुन्छ ।

‘सिंगै सक्छ ।’ गीताले उत्तर दिन्छे ।

दिप्सनले फिल्टर खोल्छन् । टुटीमा नै मुख जोडी पानी खान थाल्छन् । ‘मुख जोडेर खानु हुन्न ।’ बहिनीले धारो बन्द गर्दै भन्छे । दिप्सन भान्जाले फेरि फिल्टर खोल्छन् । विमलाले बोकेर बाहिर ल्याउँछे । र, डाँट्दै भन्छे, ‘कति भनेको नमान्ने पिट्दिउँला र ।’

केही सम्झेझैं गछनर्् । केही समय चुप लाउँछन् । फेरि फिल्टरमा जान्छन् । विमलाले फेरि तानेर ल्याउँछे । उनी च्याँठ्ठिएर रून्छन् । मैले फिल्टरबाट गिलासमा पानि ल्याएर दिन्छु । उनीले खान्नन् ।

रोजिता र विदिसा भान्जी दोकानमा गएका रहेछन् । रोजितले अमृतलाई भन्छन, ‘दाइ उता जाम ।’ भर्खरै ३ वर्ष पुगेको रोजितको बोली अलि फड्कालिएको छैन । न त स्पष्टसँग कुराकानी गर्न नै सक्छन् ।

‘कता जाने ?’ अमृतले रोजितको हात समाउँदै भन्छ ।’

‘दिदी गए, दोकान जाम ।’ रोजितले बल्लतल्ल बुझाउन सक्छन् ।

‘दिदी गए, दोकानमा जाने भन्छ भाइले पैसा ल्याउनोस् त ।

‘पैसा दिएर पल्काउने होइन । कम्ती सताउँछन पैसा मागेर यिनले । पैसा देख्नै हुन्न । ड्याडीले ५० रुपैयाँ दिदी भनेकीलाई दिएका थिए, अहिले दोकानमा दौडीहाली ।’ गीताले बहिनी गुनासो पोख्दै भन्छे ।

‘आऊ म लैजान्छु ।’ म हात बढाउँदै भान्जातिर फर्कन्छु ।

‘दोकानमा नलैजानोस दाइ ।’

‘यसो घुमाएर ल्याउँछु । लैजान्न दोकानमा ।’

‘दोकानमा जाने, दिदी गयो ।’ रोजितले औंलाले बाटो देखाउँदै भन्छन् ।

म हाम्रो घरतिरबाट पल्ला घरको बारीमा खुलेको बाटो घुमाएर ल्याउन खोज्छु, रोजित भान्जा दोकानतिर देखाउँदै भन्छन्, ‘त्यता जाम ।’

त्यतिनै बेला रोजिता र विदिसा आउँछन । हातमा मिठाई राखिदिन्छन् । ‘आर्को पनि ।’ रोजितले हात थाप्दै भन्छन् ।
‘अर्को छैन । सबै तैले मात्र खाने हो र ।’ विदिसाले भन्छिन् ।
दुवै घरतिर दौडिन्छन् । भान्जा मेरो काखमा आउन हात दिन्छन् ।

घरमा पुगेपछि सबैजना आँगनमा रमाउन थाल्छन् । ‘अब खाना खाने हो ।’ आमाले सबैलाई तयार हुन निर्देशन दिँदै भन्नुहुन्छ, ‘रोजिता विदिसालाई हात धोओ त, ल गीता रोजितलाई पनि खुवा ।’

सबै खाना खान थाल्छन् । रसिकलाग्दो र रमाइलो वातावरण घर वरिपरि छाउँछ । तिनीहरूको बोली, हाँसो र रूवाइ सुन्दामात्र पनि शरीरमा एक प्रकारको तरङ चलमलाउँछ । मनमा आनन्द छाउँछ । सधँै भान्जाभान्जी आउँथे । तर यति खुसी, यति उत्साहित र यति रमाइलो महसुस मैले कहिल्यै गरेको थिइन । बुवा पनि आफुसितको पीडा, नैराश्यता र चिन्ता लुकाएर नातिनातिनीको चरित्र हेरिरहनु हुन्छ । म पनि आफूसँग भएको निराशाजनक बोझ बिसाएर तिनीहरूमा समाहित हुन्छु । महिनौदेखि ननुहाएको शरीर नुहाएर शारदीय घाम तापझैं महसुस भइरहन्छ । लाग्छ, केटाकेटी साच्चिकै ईश्वरका वरदान हुन् । तिनीहरूसँग जस्तोसुकै पीर, चिन्ता र पीडा भुलाइ दिनसक्ने क्षमता हुन्छ ।
(प्रकाशोन्मुख कृति ‘बुवासँग’ मा संग्रहित कथा)

तपाईको प्रतिक्रिया