नेपाल बार चुनाव: दुवै पक्षको जित्ने दाबी

समाधान संवाददाता २०७५ चैत ९ गते १०:२९

समाधान संवाददाता

नेपाल बार एसोसिएसनको नेतृत्वको लागि अध्यक्षका प्रत्यासीद्वय चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेल दुवैले आ–आफ्नो जीतको दाबी गरेका छन् ।

नेकपाका तर्फबाट श्रेष्ठ नेतृत्वको प्यानल चुनावी मैदानमा छ भने कांग्रेसको तर्फबाट पोखरेल नेतृत्वको प्यानल चुनावी मैदानमा छ ।

Advertisement

निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा अध्यक्षका प्रत्यासीद्वय श्रेष्ठ र पोखरेलले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका हुन् । प्रगतिशील, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका प्रत्यासी श्रेष्ठले आफूहरुले ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो सरोकार ः स्वतन्त्र, सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि व्यवसायिक बार’ भन्ने मूल नारा दिएको सुनाए ।

उनले न्यायापालिकामा देखिएको विकृति, विसंगति तथा भ्रष्टाचारलाई नियन्त्रण गर्ने सुनाए । विधिको शासन, मानवअधिकारको रक्षा र पेशागत हकहितको लागि आफूले काम गर्ने श्रेष्ठको प्रतिबद्धता छ ।

Advertisement

स्वतन्त्र न्यायपालिका बनाउनको लागि बारले सहकार्य र खबरदारीको दुवै भूमिका निर्वाह गर्ने पनि उनले सुनाए । त्यस्तै, न्यायपालिकालाई स्तरीय बनाउनको लागि न्याय परिषदमार्फत मूल्यांकन गर्ने र डाटाबेसमा लैजाने उनले आफ्नो योजना सुनाए ।

कानुन व्यवसायीहरुको पेशागत हकहित र व्यवसायिक सुरक्षाको लागि पनि आफूले गम्भिर पहलकदमी लिने सुनाउँदै श्रेष्ठले ‘लयर्स एकेडेमिक एक्ट’ ल्याउने जनाए । उनले भने,‘व्यवसायमा आउने नवोदित साथीहरुको पक्षमा हामी र्छौं । व्यवसायमा देखिएका सबैखाले समस्याको समाधानको लागि म सक्रियताका साथ लागिपर्छु ।’
त्यस्तै उनले कानून व्यवसायीहरुको मर्यादालाई उच्च राख्नको लागि सरकारसँग पहल गर्ने सुनाए । उनले थपे,‘विगत ३ वर्षको अवधिमा बारले विशेष पहल गर्न सकेको छैन । त्यसैले व्यावसायिक बार बनाउन र नवोदितदेखि बरिष्ठ साथीहरुको हकहितको सुरक्षाको लागि हाम्रो टिम लागि पर्छ ।’

उनले राष्ट्रिय सरोकारको विषयमा पनि आफू नेतृत्वको टिमले सशक्त भूमिका निर्वाह गर्ने सुनाए । उनले भने,‘हाम्रो टिममा इमानदार साथीहरु हुनुहुन्छ ।’ उनले काम गर्नसक्ने टिम भएकोले आफ्नो प्यालन विजयी हुने स्पष्ट पारे ।

उनले थपे,‘न्यायपालिकालाई स्वतन्त्र, निश्पक्ष र मर्यादित राख्नको लागि काम गर्छौं । मेरो ४३ वर्षे सेवा अनुभव छ । मैले अहिलेसम्म प्रलोभनमा परेर काम गरेको छैन् । बार भनेको स्थायी प्रतिपक्षी हो, त्यसैले यसको भूमिकामा खरो उत्रिन्छौं । म प्रधानमन्त्रीसँग फेस–टु–फेश कुरा राख्न सक्छु।’

त्यस्तै बृहत्त लोकतान्त्रिक, समावेशी तथा पेशागत समूहबाट अध्यक्षका प्रत्यासी सुनिल पोखरेलले आफ्नो प्यानलले ‘स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त र निर्भिक न्यायपालिकाको स्थापनाका लागि बृहत लोकतान्त्रिक प्यानलको जीत’ भन्ने नारा तय गरेको सुनाए ।

पोखरेलले यसपटकको निर्वाचन नेतृत्वकेन्द्रित नभएर नीति केन्द्रित हुने स्पष्ट पारे । न्यायापालिकामा रहेका विकृति सुधार्नुनै आफ्नो प्रमुख लक्ष्य भएको उनको भनाइ छ । उनले आफूले बारको भिजन र मिसनलाई अघि बढाउने पनि प्रतिबद्धता जनाए । उनले न्यायालयमा निर्देशित र नियन्त्रित शासन व्यवस्था हटाउन, स्वतन्त्र न्यायापालिकाको रक्षा गर्न, कानून व्यवसायीको मर्यादाको स्तरोन्नति तथा न्यायपालिकालाई विकृतिविहीन बनाउन’ जुडिसिएल ट्रेन्ड एनालाइसिस’को सुरुआत गर्न आफूले उम्मेदवारी दिएको र जीत सुनिश्चित रहेको दाबी गरे ।

आफूले देशभरिका कानुन व्यवसायीहरुको हकहित संरक्षण गर्ने र मर्यादाक्रम कायम गर्ने पनि उनले सुनाए । त्यस्तै, बार काउन्सिललाई प्रभावकारी बनाउने र बारलाई पारदर्शी बनाउने पनि पोखरेलले योजना सुनाए ।

पेशामा आउन लागेका नवोदित व्यवसायी साथीहरुलाई तपाईंहरुको लागि आशाको केन्द्रको रुपमा बार छ है भनेर देखाउने पनि उनले सुनाए । बार र अदालतलाई रिफर्म गर्ने एजेन्डासहित आफू चूनावी मैदानमा होमिएको उनले सुनाए । उनले नेतृत्वको लागि स्वस्थ प्रतिष्पर्धा हुने र आफूहरुको विचार पनि धेरै मिलेको जिकीर गरे ।

तपाईको प्रतिक्रिया