मुस्ताङमा पहिलो पटक स्याउ जोन घोषणा, स्याउ जोनका लागि ५१ जनाको आवेदन

समाधान संवाददाता २०७५ चैत १६ गते ९:१४

मुस्ताङ, सुन्दरकुमार थकाली

स्याउ जोन मुस्ताङमा सूचीचकृत हुन ५१ जना किसानले आवेदन दिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ अन्तर्गत मुस्ताङमा पहिलो पटक स्याउ जोन घोषणा गरिएको हो ।

परियोजना कार्यान्वयन इकाइ स्याउ जोन कार्यालयले जिल्लाका ५ वटै स्थानीय तहका किसानलाई जोनमा सूचीकृत हुन गत पुसमा सूचनामार्फत आवेदन माग गरेको थियो । चालु वर्ष स्याउ जोन कार्यक्रममा सूचीकृत हुन पाऊँ भनी आवेदन दिनेमा सबैभन्दा बढी घरपझोङ गाउँपालिकाका किसान छन् भने लोमान्थाङ गाउँपालिकाबाट आवदेन परेन ।

Advertisement

घरपझोङबाट ३१, वारागुङबाट ८, थासाङ ८ बाट र लोघेकर दामोदरकुण्डबाट ४ आवेदन परेको परियोजना कार्यान्वयन इकाइका कृषि अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए । उनले चालु वर्ष ५१ जनाले जोनमा सूचीकृत हुन आवेदन दिएको जानकारी दिँदै छुटेकालाई आगामी आर्थिक वर्षको कार्यक्रममा समावेश गरिने बताए ।

मुस्ताङमा स्याउ जोनमा सूचीकृत गर्ने कार्यसँगै परियोजनाको कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन स्याउ जोन सञ्चालक समितिसमेत गठन भएको छ । समितिमा सबै स्थानीय तहको प्रतिनिधित्व गराइएको कार्यालयले जनाएको छ । घरपझोङ निवासी जयन्द्रलाल थकालीको अध्यक्षतामा ९ सदस्यीय स्याउ जोन कार्य समिति गठन भएको छ ।

Advertisement

उपाध्यक्ष कमला लालचन अधिकारी, सचिव विष्णु थकाली, सहसचिव विनोद थकाली छन् । सदस्यहरु सरीता विक, सोजन हिराचन, कुङ्गा तेन्जिङ गुरुङ, लाक्पाटसी गुरुङ र पासाङ गुरुङ छन् ।

स्याउ जोन विस्तारका लागि साना सिँचाइ पूर्वाधार कार्यक्रम अन्तर्गत संघीय सरकारबाट १५ लाख बजेट विनियोजन भएको हो । परियोजना कार्यान्वयन इकाइ मुस्ताङका लागि चालु वर्ष पोस्ट हार्भेस्ट सेन्टर र कस्टम हायरिङ सेन्टरका लागि उक्त रकम विनियोजन भएको अधिकृत गुप्ताले जनाए । समितिलाई जिल्लाका जोन सूचीकृत किसानलाई आवश्यक पर्ने सामग्री तथा औजार खरिदका लागि किसान छनोटको जिम्मेवारी दिइएकोे गुप्ताले बताए ।

चालु वर्षकै कार्यक्रम अन्तर्गत स्याउ जोन समितिलाई मागमा आधारित अर्को लाख बजेट विनियोजन भएको हो । जोनमा आवद्ध किसानले पोस्ट हार्भेस्ट सेन्टर स्थापनाका लागि सम्बन्धित र जोन व्यावसायीकरणका लागि प्रशोधन केन्द,्र गोदाम घर, ग्रेडिङ, तौल यन्त्र, प्रिन्टिङ, प्याकेजिङ, लेबलिङ, ढुवानी र बिक्री कक्ष पूर्वाधारका साथै उत्पादन उप्रान्त उपज व्यवस्थापन र त्यसका लागि ढुवानी साधन खरिद गर्न सकिने कार्यसूचीमा उल्लेख छ । सूचीकृत किसानले उल्लेखित सामग्री खरिदका लागि ८५ प्रतिशत अनुदान पाउने व्यवस्था छ ।

कृषि यान्त्रिकीकरण (कस्टम हायरिङ) सामग्री खरिदका लागि सूचीकृत किसानले ५० प्रतिशत अनुदान पाउनेछन् । स्याउ उत्पादनदेखि भण्डारसम्म किसानलाई आवश्यक पर्ने मेसिनरी औजार तथा उपकरण खरिदमा अनुदान प्राप्त हुने कार्यालयले जनाएको छ । मागमा आधारित ६ लाख रुपैयाँ स्याउमा लाग्ने विभिन्न संक्रमण नियन्त्रणका लागि छुट्याइएको छ । प्रकोप नियन्त्रणका लागि नीलोतुथो, चुना, जैविक विषादी र सर्वो आयल लगायतका औषधी खरिदमा खर्च हुने कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका अनुसार ५ सय हेक्टरमा गरिने स्याउ खेतीलाई जोनमा सूचीकृत गरेको हो । यसअघि परियोजनाले सुरु गरेको स्याउ पकेट र ब्लक जस्ता साना कार्यक्रम कृषि ज्ञान केन्द्र इकाइमार्फत संञ्चालन हुने कृषि अधिकृत गुप्ताले जानकारी दिए । मुस्ताङमा गतवर्ष १२ सय हेक्टरमा स्याउ खेती भएकोमा यसवर्ष ५७ हेक्टर थप जमीनमा स्याउ खेती भएको गुप्ताले बताए । यो वर्ष घरपझोङमा २५ सय र वारागुङमा साढे १४ हजार स्याउका बेर्ना लगाइएको हो । चालुवर्ष ५ हजार ८ सय टन स्याउ उत्पादन भएको थियो । मुस्ताङमा १ हजार २ सय ५७ हेक्टरमा स्याउ लगाइए पनि ४ सय ५० हेक्टरमा मात्र स्याउको उत्पादन भइरहेको कृषि अधिकृत गुप्ताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया