जिएमसी प्रकरण: बयान सकियो, थुनछेक बहस जारी

समाधान संवाददाता २०७५ चैत १८ गते ७:५२

समाधान संवाददाता

गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा संयोजक लक्ष्मण शर्माविरुद्ध दायर ठगी मुद्दामा आइतबार बयान सकिएर थुनछेक बहस सुरु भएको छ । फागुन २२ गते पक्राउ परेका दुवै विरुद्ध प्रहरीले जिल्ला न्यायाधिवक्तामार्फत फागुन १४ गते बिहीबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो ।

परीक्षा संयोजक लक्ष्मण शर्मासँग शुक्रबारै बयान लिइएको थियो । सिइओ सन्तोष खनालसँग आइतबार बयान लिइएको हो । बयान सकिएलगत्तै न्यायाधीश बाबुकाजी श्रेष्ठको इजलासमा थुनछेक बहस सुरु भएको छ । पौने ६ बजेसम्म इजलास बसे पनि बहस नसकिएका कारण सोमबार निरन्तर सुनुवाइ हुने भएको छ । आइतबार पक्षबाट जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले र सहायक न्यायाधिवक्ता पूर्ण शर्माले बहस गरे ।

Advertisement

आरोपितद्वयको तर्फबाट वरिष्ठ अधिवक्ता निर्मलकुमार कार्की र कृष्णबहादुर थापा, जगन्नाथ ढकाल, दीपक पौडेल, तोयनाथ पौडेल, दीपक शर्मा पौडेलले बहस गरेका थिए । वकालतनामा पेस गरेका ६ जना कानुन व्यवसायीले बहस गर्न बाँकी छ । न्यायाधीशले ढिलै गरेर भए पनि बहस सक्ने सोचमा रहे पनि कानुन व्यवसायीले निरन्तर सुनुवाइका लागि आग्रह गरेपछि इजलास स्थगित भएको हो ।

कलेज सञ्चालक र कर्मचारीले बारम्बार विद्यार्थीलाई धम्की दिएर बिना रसिद रकम असुल्दै आएकाले पुपक्र्षका लागि थुनामै राख्नुपर्ने जिकीर न्यायाधिवक्ताले गरेका छन् । विद्यार्थीलाई मानसिक तनाव दिने, प्रयोगात्मक परीक्षामा सहभागी नगराउने, कलेजबाटै निकालिदिनेसम्मका धम्की दिएर बढी रकम असुल्दै आएको फिरादमा उल्लेख छ ।

Advertisement

कलेजका सिइओ सन्तोष खनाल असोज २० गते नै उक्त पद छाडेर उपचारका लागि बाहिर गएकाले उनीमाथि मुद्दा चलाउनु नै बदनियतपूर्ण रहेको खनाल पक्षका वकिलको जिकीर छ । विदेशबाट उपचार गराएर फर्केपछि सहजीकरणको लागि कलेज गएका बेला प्रहरीले पक्राउ गरेकाले साधारण तारेखमा राखेर मुद्दा चलाउनुपर्ने भनाइ कानुन व्यवसायीले राखे । कलेजले होस्टेल, खाना, यातायात, परीक्षा शुल्क, रजिस्ट्रेसन वापत अतिरिक्त शुल्क लिएको उनीहरुको भनाइ थियो । परीक्षा संयोजक लक्ष्मण शर्माको दायित्व मर्यादित रुपमा परीक्षा सञ्चालन गराउनु मात्र रहेको, रकम असुलीमा कुनै संलग्नता नरहेकाले सामान्य कर्मचारीलाई मुछेर मुद्दा चलाउनु न्यायसंगत नरहेको जिकीर उनका पक्षका कानुन व्यवसायीले गरे ।

फागुन २१ गते कजेज सञ्चालक र कर्मचारीविरुद्ध ठगी आरोपमा विद्यार्थीले पहिलो जाहेरी दिएका थिए । त्यसको भोलिपल्ट कलेज सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी गरेकै दिन खनाल र शर्मा पक्राउ परेका थिए ।

सञ्चालक अर्याल, प्रिन्सिपल प्राडा. रवीन्द्रप्रसाद श्रेष्ठ, लेखाप्रमुख युवराज शर्मा, प्रशासकीय अधिकृत कृष्ण शर्मा, लेखा कर्मचारी हरिमाया पौडेल, कृष्ण घिमिरे र कर्मचारी तीलक पौडेल, कृष्ण पौडेल, विश्वराज घिमिरे अहिले फरार छन् ।

सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोके पनि कलेजले १५ लाख रुपैयाँसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ । विद्यार्थीहरु माघ १६ देखि चरणबद्ध आन्दोलनमा उत्रेका थिए । कलेज सञ्चालक विरुद्ध १ करोड ८२ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । कलेजका विद्यार्थीले पटक पटक गरी ५ वटा जाहेरी दिएका थिए । भदौ १ गते अघि भएको कसुरका लागि मुलुकी ऐन ठगीको महल अनुसार ४ वर्षसम्म कैद मागदाबी गरिएको छ । भदौ १ गतेपछिको कसुरका लागि मुलुकी अपराध संहिता अनुसार ठगीमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबीसहित मुद्दा दायर भएको हो ।

तपाईको प्रतिक्रिया