सिकागोको इतिहासमै पहिलोपटक अफ्रिकन-अमेरिकन समलिंगी महिला मेयर लाेरी

एजेन्सी
अमेरिकाको सिकागो सहरमा इतिहासमै पहिलोपटक अफ्रिकन-अमेरिकी महिला मेयर निर्वाचित भएकी छन् ।
मेयर पदका निम्ति लोरी लाइटफुटको प्रतिस्पर्धा अरू १३ जना उम्मेदवारसँग थियो । ७४ प्रतिशत भोट गनिसक्दा लोरीको अग्रता कायम भइसकेको थियो ।
पहिले कहिल्यै राजनीतिक कार्यभार नसम्हालेकी लोरी सहरकै पहिलो समलिंगी मेयर पनि हुन् । मेयर निर्वाचित भएसँगै उनले मञ्चमा आफ्नी श्रीमती र छोरीका साथै आफ्ना समर्थकसँग खुसी बाँडेकी थिइन् ।
‘आज राती धेरै केटाकेटीहरूले हामीलाई हेरिरहेका छन् । उनीहरूले आज बेग्लै किसिमको नयाँ इतिहास सुरू भएको देख्दैछन्,’ लोरीले बुधबार राती उनका समर्थकको भिडलाई सम्बोधन गर्दै भनेकी छन् ।
५६ वर्षीया लोरीको मुख्य चुनावी एजेन्डा भ्रस्टाचारविरूद्ध लड्ने र गरिब परिवारलाई सहयोग गर्ने हो । त्यस्तै उनले बन्दुक हमला नियन्त्रणमा पनि जोड दिएकी थिइन् । सिकागोमा पछिल्लो समय गोलिकाण्ड र हत्या-हिंसा बढ्दो छ ।
उनी यसअघि सिकागो प्रहरीको जिम्मेवारी र गतिविधि नियमन तथा छानबिन गर्ने निकायकी प्रमुख थिइन् । यो निकाय सन् २०१४ मा स्थापना भएको थियो ।
मेयर चुनावमा लोरीकी निकट प्रतिस्पर्धी अफ्रिकन-अमेरिकन महिला टोनी प्रेकविंकल थिइन् । सिकागोबाहेक एट्लान्टा, न्यू ओर्लिन्स र सन्फ्रान्सिस्कोसहित अमेरिकाका अरू सात सहर महिलाको नेतृत्वमा चल्दै आएका छन् ।
लोरी अघि सिकागोका मेयर र्याम इमानुएल थिए, जसले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा कर्मचारी प्रमुख भएर काम गरेका थिए ।
तपाईको प्रतिक्रिया