नेपाली सेनाको कार्यक्रममा निजी मिडियालाई प्रवेशमा रोक

समाधान संवाददाता २०७६ वैशाख १० गते १५:१६

समाधान संवाददाता, काठमाडाैं

नेपाली सेनाको कार्यक्रममा निजी सञ्चार माध्यमलाई प्रवेशमा रोक लगाइएको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन उद्घाटन गर्ने कार्यक्रममा निजी मिडियालाई प्रवेशमा रोक लगाइएको हो ।

Advertisement

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको सैनिक मुख्यालयमा आयोजना हुने विशेष समारोहकाबीच उद्घाटन गर्ने कार्यक्रम छ ।

गोरखा भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढंगबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो ।

Advertisement

विसं २०७३ जेठ २४ गते निर्माण सुरू भएको उक्त भवन दुई वर्ष १० महिनाको अवधिमा तयार गरेको हो । उक्त भवन निर्माणका लागि दैनिक ४ सयको सङ्ख्यामा जनशक्ति अहोरात्र खटिएका थिए ।

सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत् सरकारले रु तीन अर्ब ४४ करोड रकम विनियोजन गरेको थियो ।

उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ वटा कार्यालय सञ्चालन हुनेछ । अलग/अलग सातवटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लो छ ।

सैनिक मुख्यालयको सङ्गठन संरचना अनुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । नेपालको संविधानको धारा २६७ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रियहितको रक्षाका लागि संविधान प्रतिबद्ध समावेशी नेपाली सेनाको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया