चुनौतीबीच गुज्रिएको पत्रकारिता

समाधान संवाददाता २०७६ वैशाख २५ गते १५:४२

नेपाली पत्रकारिताको इतिहास त्यति धेरै लामो छैन । १९५८ वैशाख २४ गते गोर्खापत्र प्रकाशन सुरु भएपछि नेपाली पत्रकारिताको जग बसेको हो । अरुभन्दा उदार मानिएका देव समशेरले खै के सोचेर हो, पण्डित नरदेव पाण्डेलाई अघि सारेर तत्कालीन अवस्थामा गोर्खापत्र प्रकाशन थाले । जंगबहादुरले बेलायतबाट ल्याएको गिद्धे प्रेसको वास्तविक प्रयोग गोर्खापत्र प्रकाशनपछि नै भएको हो । पत्रकारिता आरम्भको १ सय १९ वर्षमा प्रवेश गरिरहँदा हामी कहाँनेर छौं भन्ने वास्तविकता खोज्ने बेला आएको छ । यहाँनेर प्रस्ट रुपमा पत्रकार र मिडिया सञ्चालकले बुझ्नै पर्ने कुरो के हो भने हामी जुन विषयलाई पत्रकारिताको परिभाषामा समेटेका छौं, के त्यही वास्तविक पत्रकारिता हो त ? पत्रकारितालाई प्रविधिको विकासले निकै सहज बनाइदिएको छ । प्रविधि त केबल माध्यम हो । तर पत्रकारितामा पस्कने सामग्रीमा हामीले कत्तिको विविधता ल्याउन सकेका छौं भनेर सोच्ने बेला आएको छ ।

भनिन्छ पत्रकार बन्न सजिलो छ । तर पत्रकारिता गर्न गाह्रो छ । लहैलहैमा पत्रकारितामा लाग्ने, अनि ८-१० वर्ष बिताएपछि ओ हो, मैले त किन यस्तो पेसा अपनाएछु भनेर पछुताउनेहरु पनि नदेखिएका होइनन् । यसो भन्नेहरु पत्रकारिता गर्न नसक्ने भन्दा पनि आफ्नो कर्मलाई माया नगर्नेहरु हुन् । आफ्नो रहरले जुन पेसा अंगालेको छ, त्यही पेसालाई सम्मान गर्न सकिँदैन भने किन लागिरहने । यसबाट बाहिरिन कुनै बार र बन्देज पनि त छैन नि । पत्रकारिता पेसा अरु भन्दा विशिष्ट पेसा हो । यसो भन्नुको अर्थ पत्रकारलाई जहिले, जहाँ र जे पनि गर्ने छुट छ भन्ने त होइन । राज्यले बनाएका कानुन, आचारसंहिताको परिधिमा रहेर काम गर्नु पत्रकारको पहिलो दायित्व हो । आफैं बिरामी आफैं धामी भनेझैं समाजमा भएका घटनालाई आफू अनुकूल व्याख्य गर्ने अनि फैसला पनि आफैं गरिदिने गर्दा पत्रकारिताप्रति विस्वसनीयता घटेको महसुस हुन्छ ।

हो, प्रविधिले पत्रकारितामा सहजपन थपेका छ । सामाजिक सञ्जालले पत्रकारिताको महत्व घटाइदियो भन्नेहरु पनि नभएका होइनन् । पश्चिमा मुलुकमा लामो इतिहास बोकेका पत्रिकाको छापा संस्करण अब देख्न मुस्किल परिसकेको छ । उनीहरु वेब बेसमा गइसकेका छन् । कुनै निश्चित भूगोलमा वितरण हुने पत्रिका अहिले प्रविधिकै कारण विश्वव्यापी भएका छन् । सामाजिक सञ्जालले पत्रकारिताको काम कहिल्यै गर्दैन । केबल सामान्य जानकारीका लागि मात्र यी सञ्जाल प्रयोग भइरहेका हुन्छन् । घटना र घटनाक्रम मात्र नभएर त्यसपछाडिका कारक तत्वको बारेमा उधिनेर सूचना बाहिर ल्याउने काम सामाजिक सञ्जालका आम प्रयोगकर्ताबाट सम्भव छैन । यसमा जिम्मा फेरि पनि पत्रकारकै हो । गोर्खापत्र अहिले गोरखापत्र भइसकेको छ । उसले पनि आफूलाई परिमार्जन गर्दै लैजान जरुरी छ । त्यसरीले नेपालका आम पत्रकारिता जगत पनि सच्चिएर जानुपर्छ । कर्पोरट कल्चरको प्रभावमा नेपालमात्र हैन विश्वका धेरै सञ्चालमाध्यम परेका छन् र परिरहनेछन् । त्यसबाट बचेर अघि बढ्नु पनि अर्को चुनौती हो । भूइँ मान्छेका आवाज उठाउने दिन अब सुरु भएका छन् । यसमा कत्ति पनि ढिला नगरौं ।

Advertisement

तपाईको प्रतिक्रिया