नवप्रभातलाई नजिकैको महेन्द्र माविमा गाभ्न सिफारिश

समाधान संवाददाता २०७६ वैशाख २६ गते ८:०८

फडिन्द्र अकिञ्चन

धनबहादुर, लीलबहादुर र जीतबहादुर राति २ बजे नै उठ्छन् । विद्यार्थी उमेरका भए पनि उनीहरु त्यसपछि किताब पल्टाउँदैनन्, वालुवा बोक्न रामघाट पुग्छन् । बिहानसम्म काम गर्छन्, त्यसपछि पढ्न पोखरा ९ को नवप्रभात मावि आउँछन् । उनीहरु कक्षा ४ का विद्यार्थी हुन् ।

उनीहरु जस्तै नवप्रभात पढ्नेहरु धेरैजसो विपन्न, गरिब परिवारका छन् । करिब साढे ४ सय विद्यार्थी, २ तले आफ्नै भवन, पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलमैदान, सभाहलसहितको नवप्रभातको भवन छ । संघीय सरकारले सरकारी विद्यालयलाई सशक्तीकरण गर्ने नीति लिएको छ तर पोखरा ९ को वडा कार्यालयले भने नवप्रभातलाई पोखरा ९ मै रहेको महेन्द्र माविमा मर्ज गर्न सिफारिस गरेको छ ।

Advertisement

नवप्रभातका विद्यार्थी, शिक्षक र अभिभावकसँग वडा कार्यालयले छलफल गरेको छैन । वडाको सिफारिसपछि शैक्षिक सत्र सुरु भए पनि यहाँका विद्यार्थी र शिक्षक अन्योलमा छन् । महानगरले केही दिनअघि सरोकारवालालाई छलफलका लागि बोलाएको थियो । नवप्रभात माविका शिक्षक र अभिभावकले भने आफूहरुलाई खबर नगरे पनि छलफलका लागि आएको बताएका थिए ।

छलफलमा विद्यार्थी नेता अमरदीप पराजुलीले संघीय सरकारको नीतिभन्दा वडा कार्यालय उल्टो गतिमा लागेको विचार राखे । विपन्न र मजदुरका छोराछोरी पढ्ने स्कुललाई वडा कार्यालयले सौतानी व्यवहार गरेको उनले दाबी गरे । पराजुलीले भने, ‘संघीय सरकार सबै नेपालीलाई सरकारी विद्यालयमा पढाउने योजनामा छ, पोखरामा अझै १५, २० वटा स्कुल खोल्नुपर्ने अवस्था छ, भएको सरकारी स्कुल मर्ज किन ?’

Advertisement

नवप्रभाव माविका विद्यालय व्यवस्थापन समितिका भूपू अध्यक्ष लेखुराम खतीले सरकारवालासँग छलफलै नगरी विद्यालय मर्जको सिफारिस आउनु विडम्बनापूर्ण भएको बताए । छलफलबाट निष्कर्ष आउन नसक्ने देखेपछि मेयर मानबहादुर जिसीले तत्काललाई केही निर्णय नगरिने जनाउँदै पोखरालाई शैक्षिक हब बनाउने महानगरले विवेकपूर्ण निर्णय गर्ने बताए । आधारभूत स्कुल र कलेज एकै ठाउँमा हुनै नसक्ने बताउँदै उनले त्यसको विकल्प सहमतिमै खोजिने प्रष्ट पारे ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख गंगाबहादुर गुरुङ पूर्वाधार र विद्यार्थी भएकै स्कुल किन मर्जका लागि सिफारिस भयो भन्ने प्रश्नमा वडाले मर्जका लागि सिफारिस गरे पनि आफूहरु अध्ययनकै क्रममा रहेको बताउँछन् । उनले भने, ‘हामीले त गरेका छैनौं नि । महानगरले सरोकारवालासँग छलफल गरिसकेको छ । भर्खरै केही गर्ने अवस्था छैन ।’

पोखरा ९ का बासिन्दा धनराज आचार्य महेन्द्र र नवप्रभात मर्जबारे अहिलेसम्म ५० वटा भन्दा बढी बैठक भइसकेको बताउँछन् । उनले भने, ‘क्याम्पस र यी २ स्कुललाई मिलाएर व्यवस्थापन गर्नु जरुरी छ ।’

नवप्रभातका निवर्तमान प्रधानाध्यापक विजयराज भण्डारी नवप्रभातका विद्यार्थीलाई महेन्द्रले समेट्नै नसक्ने दाबी गर्छन् । राम्रा स्कुलले कमजोर र गरिब विद्यार्थी भर्ना नगर्ने भएकाले आफूहरुले त्यस्तालाई प्राथमिकता दिएको उनको भनाइ छ । उनले भने, ‘हामीकहाँ आउने बालबालिकाको पृष्ठभूमिका कारण यसलाई शीतलादेवी, अमरसिंहसँग तुलना गर्न मिल्दैन । सबैले छाडेका बालबालिका ल्याएर पढाउँछौं हामी । यी बच्चालाई पढाउने कसले न बोडिङले न राम्रा सरकारी स्कुलले ?’ नवप्रभातबारे अफवाह फैलाउन र भएको संरचनामा अर्काे संस्था ल्याउन अहिलेसम्म वडाले व्यवस्थापन समितिसमेत गठन नगरेको उनको भनाइ छ ।

तल्लो स्तरका बालबालिका बढ्ने स्कुलमै नटेकी मर्जको सिफारिस गर्नेहरुप्रति पनि उनले कटाक्ष गरे । भण्डारी भन्छन्, ‘सामुदायिक विद्यालय सिध्याएर कलेज बनाउनुपर्छ भन्ने कस्ता बुद्धिजीवी ? घरको आडमा भएको स्कुल मारेर साना बालबालिका टाढा कसरी पढ्न जान्छन् ?’

वडाध्यक्ष रामराज लामिछाने शिक्षाविद्हरुको सुझावमा मर्ज सिफारिस गरिएको दाबी गर्छन् । अभिभावक र विद्यार्थीसँग छलफल किन भएन भन्ने प्रश्नको उनले उत्तरै दिएनन् । उनले भने, ‘नवप्रभातमा विद्यार्थी कम छन्, स्कुल राम्रोसँग सञ्चालन हुन सकेको छैन । हामीले सबैसँग छलफल गरेरै निर्णय लिएका हौं ।’

लामिछानेले यस्तो दाबी गरे पनि वडाले शिक्षा महाशाखामा पठाएका भेला र अन्य दस्तावेजमा नवप्रभातका शिक्षक र अभिभावकको उपस्थिति देखिँदैन । नवप्रभातको पूर्व विद्यार्थी मञ्चले १ वर्षमा सुधार्छाै भन्ने प्रतिबद्धता गरे पनि स्कुल नसुध्रेपछि मर्जका लागि सिफारिस गरिएको उनको जिकिर छ ।

२०७५ मंसिर २१ गते भएको वडाको शिक्षा समितिको बैठकले महेन्द्र र नवप्रभात मर्ज गरी नवप्रभात महेन्द्र मावि नामकरण गर्ने निर्णय ग¥यो । निर्णयपछि वडा कार्यालयले निर्णय कार्यान्वयनका लागि महानगरलाई पत्राचार गरेको थियो । वडा कार्यालयको २०७४ माघ ११ गतेको बैठकले शिक्षक र अभिभावकसहित महेन्द्र माविका समायोजन गर्ने र नवप्रभातको ठाउँमा पोखरा बहुमुखी क्याम्पस सञ्चालन गरी जग्गासमेत क्याम्पसकै स्वामित्वमा राख्ने निर्णय गरेको थियो ।

१ सय १३ जनाले मर्ज गर्ने निर्णय कार्यान्वयन गराउन वडाध्यक्षको ध्यानाकर्षण गराउँदै गत मंसिर १४ गते पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा तीर्थ श्रेष्ठ, आनन्दराज मुल्मी, अशोक पालिखे, विन्दुकुमार थापा, बद्रीप्रसाद श्रेष्ठ, चन्द्रकृष्ण कर्माचार्य, विष्णु बास्तोला लगायतको हस्ताक्षर छ ।

पहिले नवप्रभातमा विद्यार्थीले कक्षा छाड्ने क्रम बढेपछि पूर्व विद्यार्थी र शिक्षकको पहलमा विद्यार्थीका लागि दिवा खाजाको पनि व्यवस्था गरिएको थियो । यसपालिको शैक्षिक सत्र सुरु भएपछि यहाँका शिक्षकले पोखराका मुख्य क्षेत्रमा भर्ना अभियान चलाए । अभियानमा केही विद्यालय नै नगएका विद्यार्थी थपिए । अभियानबाट सयभन्दा बढी विद्यार्थी थपिएको शिक्षिका गौरी तमु बताउँछिन् ।

वडाध्यक्ष र सदस्यलाई भर्ना अभियानमा सहभागिताका लागि अनुरोध गरिए पनि उनीहरुले बेवास्ता गरेको शिक्षकहरुको दुखेसो छ । वार्षिकोत्सव समारोहमा निम्त्याउँदा पनि जनप्रतिनिधिले समय नदिएर अर्घेलो व्यवहार गरेको अभिभावकहरु बताउँछन् ।

नवप्रभातमा बिहानी सत्र पनि छ । अहिले ६४ वर्षकी नन्दकुमारी गुरुङ कक्षा १० मा पढ्दै छिन् । २०२५ बाट प्रौढलाई पठाउन सुरु गरेको नवप्रभातले २०४१ बाट दिवा सत्र सुरु गरेको थियो । अहिले बालकक्षाबाट १० सम्म दिवा कक्षा चल्छन् भने बिहानी सत्रमा पढाइ हुने कक्षा ८ देखि १० मा १ सय १७ विद्यार्थी छन् ।

तपाईको प्रतिक्रिया