असारभित्रै शान्तिघाटमा आधुनिक शवदाह गृह निर्माणको तयारी

समाधान संवाददाता २०७६ वैशाख ३१ गते ८:४७

समाधान संवाददाता

एभरेस्ट बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिकाले निर्माण गर्ने आधुनिक शवदाह गृह असारभित्रै सञ्चालनमा ल्याउने तयारी थालिएको छ । महानगरले पोखरा ९, शान्तिघाटमा शवदाह गृह निर्माणका लागि आवश्यक क्रंकिट संरचना बनाइरहेको छ ।

‘आधुनिक शवदाह गृह स्थापनाको काम अघि बढिरहेको छ,’ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने, ‘निर्माणको काममा कुनै अवरोध नआए असारभित्रै सञ्चालन गर्न सकिन्छ ।’

Advertisement

स्वच्छ भारत अभियान अन्तर्गत दाउरा र इलेक्ट्रिक मिश्रित प्रविधिमा आधारित शवदाह गृह स्थापनालाई महत्व दिइएको थियो । त्यस्तै अवधारणालाई पछ्याउँदै पोखरा महानगरले वातावरणमैत्री शवदाह गृह सञ्चालनमा ल्याउन लागिएको स्वकीय सचिव तिमिल्सिनाले जानकारी दिए ।

उनले भने, ‘दाउराको प्रयोगसमेत हुने भएकाले निर्माण हुने शवदाह गृह पूर्ण इलेक्ट्रिक भने होइन । एक व्यक्तिको शव पूर्ण रुपमा नस्ट हुन १ सय केजी दाउरा खाँचो पर्छ ।’ मानिसको मृत्युपछि नेपाली अनुसार अन्तिम संस्कारमा गरिने सबै विधि उक्त शवदाह गृहमा गर्न सकिने उनले बताए । ‘शवलाई दागबत्ती दिने लगायत अस्तु संकलन गर्न कुनै समस्या हुँदैन,’ उनले स्पष्ट पारे ।

Advertisement

काठमाडौंको आर्यघाटमा प्रयोगमा ल्याइएको शवदाह गृह पूर्ण इलेक्ट्रिक हो । यसबाट उत्सर्जन हुने धुँवा मानवीय स्वास्थ्यमा प्रतिकूल हुन सक्ने भन्दै आवाज उठिरहँदा यहाँ निर्माण हुने शवदाह गृहबारे स्थानीयले चासो देखाएका थिए । शान्तिघाट छेउका केही स्थानीयले त्यस्तै प्रतिकूल असर गर्ने सम्भावना देखिएको भन्दै शवदाह गृह निर्माणको काममा झन्डै डेढ महिनासम्म अवरोध समेत पुर्‍याएका थिए ।

वातावरण विभागले पोखरामा स्थापना गर्न लागेको शवदाह गृह वातावरणअनूकुल प्रयोगमा ल्याउन सकिने प्रमाणित गरिसकेको महानगरले जानकारी दिएको छ । यसबारे बुझाएर स्थानीयलाई निर्माण काममा अवरोध नगर्न र आधुनिक शवदाह गृह सञ्चालनमा सहयोग गर्न महानगरले निरन्तर पहल गरेपश्चात्त हाल स्थापनाको काम भइरहेको बताइएको छ । भारतमा यस किसिमको उपकरणबाट निर्मित शवदाह गृह सञ्चालनमा कुनैपनि त्रुटि नदेखिएकाले यहाँको प्रयोगमा समेत समस्या नदेखिने तिमिल्सिनाले जानकारी दिए ।

शान्तिवन बाटिका ओरालो लाग्ने सिँढी छेउकै भिरालो जमिनमा शवदाह गृहका लागि आवश्यक विद्युतीय उपकरण ढुवानी भइसकेको छ । ६४ लाख सहयोगमा एभरेस्ट बैंकले शवदाह गृह स्थापनाका लागि महानगरसँग समन्वय गरिरहेको हो ।

परीक्षण स्वरुप शान्तिघाटमा आधुनिक शवदाह गृहको सञ्चालन गर्ने र यसको प्रयोग सफल भएमा अरु ठाउँमा समेत विस्तार गर्दै लैजाने महानगरको तयारी रहेको बताइन्छ । एकपटकमा एउटा शव जलाउन मिल्नेछ । एउटा शव पूर्णरुपमा नस्ट हुन कम्तीमा ४५ मिनेटदेखि १ घन्टा लाग्ने जनाइएको छ ।

सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत शवदाह गृह सञ्चालन गर्न महानगरले आन्तरिक तयारी थालेको छ । घाटमा परम्परागत विधिबाट दाउराले शव दहन गर्नुपर्ने अवस्थामा सामान्यतया लाग्ने खर्च बराबरकै खर्च लाग्न सक्ने अनुमान गरिएको छ । तर यकीन शुल्क भने अपरेटिङ लागतको आधारमा तय हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया