पोखरामा रेडलाइटको ग्रीन सिग्नल

समाधान संवाददाता २०७६ जेठ २१ गते १४:३०

मोती भुजेल

रातो बत्ती बल्दा रोकिने, पहेंलो बत्ती बल्दा स्लो गर्ने र हरियो बत्तीबल्दा अगाडि बढ्ने ट्राफिक सिगनलको अर्थ हुन्छ । देशैभरि सवारी चाप हरेक दिन बढ्दो छ । सहरभित्र मुख्य चोकमा चारैतिरबाट सवारी आवगमन हुन्छ । जाम हुन्छ । त्यस्तो बेला आफ्नो दैनिक गन्तव्यमा समयै पुग्नसमेत हम्मेहम्मे हुन्छ ।

काठमाडौंमा त बुख्याँचा जस्ता ट्राफिक लाइटका पोल छन् तर पोखरामा त्यति पनि छैन । यहाँ गण्डकी प्रदेश सरकारलाई ट्राफिक लाइट राख्नुको सट्टा रेडलाइटको भूत चढेको छ । स्मार्ट सिटीका लागि ट्राफिक लाइट कि रेडलाइट आवश्यक हो ? बहस गर्नुपर्ने बेला आएको छ ।

Advertisement

पोखरामा यौन व्यवसाय व्यवस्थित गर्नेबारे बहस गर्नुपर्छ भन्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि उनको सर्वत्र विरोध भयो । थोरै केही मात्रैले मौन स्वीकृति दिए । रेडलाइट हुनुपर्छ भनेर तर्क गर्न सक्ने विद्वानको फेसबुक पोस्टबाहेक गहन लेख पढ्न पाइएन तर रेडलाइट एरिया हुनुहुन्न भन्ने पक्षमा पोखराकी सरस्वती प्रतीक्षा खुलेरै लागिन् ।

उनले सामाजिक सञ्जालमा मात्रै होइन ‘पोखरा, पटाया र इन्जोय जोन’ भनेर लामो लेख लेखिन् । उनको सो लेखमा र पोखराका अर्का लेखक डा. वसन्त गौतमको एउटै तर्क छ, पर्यटनको कुनै सम्भावना नै नभएको भए अन्तिम विकल्पको रुपमा रेडलाइट एरिया (इन्जोय जोन) चलाउन सकिन्छ होला । लुकिछिपी चलि आएको भनेर यसलाई व्यवस्थित गर्न लागेको मात्रै भनेर उम्कन खोज्नु लाचारी हो ।

Advertisement

‘जोइ न पोइ देखाइ दे …..’ भने झैं भयो रेडलाइट एरियाको कुरा । मत्थर हुँदै थियो बर्खाको खहरे जस्तै । पानी पर्नु भन्दा अघि आकाश गर्जनु भन्दा पहिला देखिने मिल्काइ झैं एक्कासी ठूलै मिल्काइ भयो गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको । ९ करोड बजेट छुट्टयाएर डिपिआर तयार गर्न समेत लागिसकेको कुरा गर्वका साथ सुनाए ।

उनकै शब्द सापटीमा ‘इन्जोय जोन’ मा गाँजा, भाङ, धतुरो, मदिराजन्य पदार्थ सबै र यौन क्रियाकलापसमेत गर्न पाइन्छ । माननीयले विदेश भ्रमणको बेला थाइल्यान्डको नाना प्लाजा, पटाया वाकिङ स्ट्रिट र फिलिपिन्सको एन्जिल्स सिटी यौनबजारका लागि प्रख्यात छन् र पर्यटकको बसाइ लम्बाएर आम्दानी राम्रो गरेको देखेर पोखरा भिœयाउन खोजेका हुन सक्छन् ।

गण्डकी प्रदेश सरकार डलर कसरी झार्ने भन्ने ध्याउन्नमा मग्न देखिन्छ । वर्षौंदेखि फेवातालमा उम्रिएको जलकुम्भी झार व्यवस्थापनप्रति आँखा चिम्लन्छ । जलकुम्भी फाल्ने मेसिनमा चढेर उद्घाटन गरेको अस्ती जस्तै लाग्छ, अचेल कहाँ छ पत्तो छैन । सरकार एकातिर ताल अतिक्रमणको कुरा पनि गर्छ अर्कोतिर त्यही फेवातालको बीचमा कफी हाउस खोलेर सय डलरमा कफी बेच्ने सपना देख्छ । र डिपिआर तयार भएपछि सञ्चालनको जिम्मा निजी कम्पनीलाई दिने घोषणा गर्छ ।

पोखरा त सम्भावना नै सम्भावना भएको उपत्यका हो । गुफा, तालतलैया, मठमन्दिर, नदीनाला, खोचहरूको सौन्दर्य सर्लक्कै एकातिर छ, अर्कोतिर साहसिक पर्यटन । प्याराग्लाइडिङ, बन्जीजम्प, र्‍याफ्टिङ, क्यानोइङ, माउन्टेन बाइकिङ, वाटर बलिङ, हाइकिङ जस्ता अनेकन साहसिक खेलका माध्यमबाट पर्यटक आकर्षित गर्न सकिन्छ । पोखरा भनेकै लेकसाइड वरपर हो भन्ने भ्रम पालेका कुवाका त नभनौ बैदामका पर्यटन व्यवसायीले धेरै कुरा बिगारेका छन् ।

पर्यटकले १ कप कफी पिउँदै आधीघन्टा र १ बोत्तल चिसो वियर पिउँदै १ घन्टा अँफूसँग भएको कुनै बुकसँग बितायो भने वेटरलाई १०÷१० मिनेटमा ‘यु वान्ट मोर डिस’ भन्दै बोरिङ गर्न पठाउने रेष्टुरेन्टको म्यानेजर÷मालिकलाई कल्ले सिकाइदिने ‘यु वान्ट रिड मोर न्यु बुक्स वि ह्याभ ?’ भन्न । पोखरामा रिडर्स कर्नर छ । जहाँ चिया, कफीसँगै विभिन्न जन्राका किताब पढ्न पाइन्छ । बुक पढेर इन्जोय गर्ने रिडर्सलाई सोध्नु, टु पिसमा सन्नी लियोनी नै अगाडि आए तपाईं के गर्नुहुन्छ ? उत्तर हुन्छ माझी औंलामा थुक लगाएर पढिरहेको पेज सकेर पल्टाइदिन्छु र नयाँ पेज सुरु गर्छु । उसलाई कुनै उत्तेजना हँुदैन ।

फेवाको गाउँसँगै जोडिएको फेवाताल । बैदामको गाउँसँगै जोडिएको बैदामताल हेर्न आउने जोकोही पर्यटक कुमारी माछापुच्छ्रेको छायाँ हेर्दाहेर्दै थाहै नपाई स्खलित भइजान्छन् । वान साइटेड लभर हुन्छन् । विदेशी भए भिजाको म्याद सकिन लागेको बैदामकै प्रहरीले भन्नु पर्छ । आन्तरिक भए १५ दिनको दसैतिहारको बिदा पनि थोरै हुन्छ । यो भन्दा लामो बसाइ बसाउनु पर्छ र ? अझ लंम्ब्याउनलाई पोखरा आसपासका मौलिक गाउँका ‘होमस्टे’ मा लैजाने वा जान प्रेरित गर्ने ।

गत वर्ष साउनदेखि यता ८ महिनामा गण्डकी प्रदेशमा भित्रिने विदेशी पर्यटकको संख्या २१ लाख २३ हजार ३ सय ३४ पुगेको थियो । पोखरा आएका पर्यटकलाई ताल वरपर नै रक्सी, गाँजा र यौनको रमझममा मात्र भुलाएर पर्यटक लुट्टने किसिमको ग्रीन सिगनलको बत्ति नबोल्दै रेडलाट बालेर सबारी रोकेजस्तै रोक्नुपर्छ । पर्यटकको संख्या बढाउन र बसाइ लम्ब्याउन ध्यान दिन आवश्यक छ । पर्यटकलाई जतिसक्दो लामो ‘होल्ड’ गराउन र खर्च बढाउन सकिए पोखराको पर्यटनले कोल्टो फेर्नेमा २ मत हुन सक्दैन ।

कास्कीकोटमा गुप्तकालीका मन्दिर, कुलमण्डन शाहकालको दरबार तथा अन्य भग्नावशेष आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू छन् । प्रदेशको पर्यटन उद्योगमा टेवा दिने ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलमा भएका मठमन्दिर, देवस्थल, देवीस्थान, पञ्चधाम, कुटी, बौद्ध विहार, शिवालय, ऋषिमुनिले ध्यान गरेका गुफाका साथै प्रदेशमा भएका ऐतिहासिक गडी र पुराना दरबारको पहिचान एवं पर्यटकीय सम्भाव्यता अध्ययन गरी काम सुरु गरी प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा राख्ने ।

पर्यटकलाई ती गन्तव्यको बारेमा प्रत्येक होटलले १० मिनेट ब्रिफिङ गर्नसक्यो भने बसाइ लम्बिन्छ । गण्डकी प्रदेश पर्यटन उद्योगका लागि स्वर्णभूमि हो । पोखराको पर्यटन उद्योग ‘प्रकृति, संस्कृति, धर्म र अध्यात्म’ लाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ । सुन्दर प्रकृति गण्डकी प्रदेश र पोखराको पहिलो र सबैभन्दा महत्वपूर्ण सम्पत्ति हो । समथर तराइदेखि ८ हजार मिटरभन्दा अग्ला हिमालसम्म समेटेको यो प्रदेशका सामु अथाह सम्भावना छ । यसैले प्राकृतिक संरक्षणसहितको धार्मिक पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन पहिलो काम हुनुपर्छ ।

गण्डकी प्रदेश र पोखरासँग यस्ता अनगिन्ती पर्यटन बिकाका प्राकृतिक पूर्वाधार छन्, जसमा टेकेर केही वर्षभित्रै समृद्धिको फड्को मार्न सकिन्छ । यति धेरै सम्पत्ति र सम्भावना भएको प्रदेशले कुनै उपाय नभएझैं देहव्यापार र लागु पदार्थ बेचबिखनको घृणित बाटो हिँड्न खोज्नु जानीजानी आफ्नो घरको धुरीको बरुलो पोलेर छिमेकीलाई दोष दिनु हो ।

कवि तथा संस्कृतकर्मी तीर्थ श्रेष्ठको भनाइमा, ‘प्रकृतिले दिएको उपहार बाहेक पर्यटकीय विकासका लागि पोखरामा न पर्यटन व्यवसायी लागेका छन्, न राज्यनै लागेको छ ।’ बरु अन्य संघसंस्थाले गरेका छन् । पोखरेली युवा सांस्कृतिक परिवारले पोखरा आसपासका गाउँमा कलाकारलाई तत स्थानीय ल्यान्डस्केप चित्र कोर्न लगाएर पोखराको पर्यटन बिकासमा सहयोग गरेको छ । १२ वर्ष अघि ‘फेवातालमा कविता वाचन’ को कार्यक्रम गरेर पोखराको पर्यटन विकासमा भूमिका खेलेको थियो । ‘वेस्टर्न म्युजिक अन आर्ट’ पनि गर्न सकिन्छ ।

पोखरामा पहिलो चोटी कविता कन्सर्ट गर्ने पब्लिक इभेन्टका उपेन्द्र पौडेल र सञ्जय मल्लले पनि प्रदेश सरकारले सहयोग गरे छुट्टाछुट्टै राष्ट्रका अन्तर्राष्ट्रिय कविको उपस्थितिमा फेरि अर्को ‘पोइट कन्सर्ट इन फेवाताल’ मा गर्न सकिन्छ ।

जंगल फेस्टिबलको ४ संस्करण सफलता पूर्वक सम्पन्न गरेर ५ औं संस्करणको तयारीमा रहेका परिचय नेपालका शोभित बस्यालले पहिलो चोटी लोपान्मुख राउटे जातिलाई स्टेजमा उतारेर आन्तरिक एवं बाह्य पर्यटकको मन जितेका थिए । ‘पोखराको पर्यटन विकासमा प्रदेश सरकार आफैंंले नयाँ केही गर्नै सक्दैन । हामी जस्ता पब्लिक इभेन्टले गर्ने पर्यटकीय प्रोग्राममा पनि असहयोग गर्छ ।’ शोभितले अर्को पनि गुनासो राखे, ‘हामी राज्यलाई कर तिर्छौ । रोजगारीका नयाँनयाँ अवसर पनि हामी आफै खोज्छौ, तिमी राम्रो नीतिनियम बनाउभन्दा पनि सरकारले हामी जस्ता युवाको कुरा सुन्दैन ।’ सांस्कृतिक र धार्मिक पर्यटनबाट माथि उठ्दै हामी आध्यात्मिक पर्यटनलाई पनि अघि बढाउन सक्छौं ।

अनादिकालदेखि नै ऋषिमुनिको तपोभूमि रहेको गण्डकी क्षेत्रमा अनुभूत गर्न सकिने आध्यात्मिक तरंगले धेरै सत्यका खोजीलाई आकर्षित गर्न सक्छ । यसको पूर्वाधारका रुपमा प्रदेशका विभिन्न स्थानमा सुविधायुक्त योग र ध्यानकेन्द्रहरुको स्थापना गरिनुपर्छ । यस्तै पूर्वीय ज्ञान र दर्शन अध्ययन गर्न चाहने विदेशीलाई लामो समयसम्म पढाउने सक्ने भौतिक र मानवीय पूर्वाधार शान्त हिमाली क्षेत्रमा व्यवस्था गर्न सक्ने हो भने त्यसले पनि प्रदेशको पर्यटन उद्योगलाई ठूलो टेवा दिन सक्छ । त्यसैले माननीय, रेडलाइटको स्विच अफ गरिदिनु ।

तपाईको प्रतिक्रिया