सरकारले विकासको प्राथमिकता छुट्याउन सकेनः रामचन्द्र पौडेल

समाधान संवाददाता २०७६ जेठ २६ गते १४:३५

कृष्ण न्यौपाने
दमौली

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको १ महिने कार्यक्रमको शनिबार दमौलीमा समापन गर्दै वरिष्ठ नेता पौडेलले सरकार कुहिरोको काग जस्तै भएको आरोप लगाए ।

सरकार गठन भएको लामो समय बितिसक्दा समेत सरकारले विकासका केही पनि काम गर्न नसकेको वरिष्ठ नेता पौडेलले बताए । विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन भएकोमा जोड दिँदै वरिष्ठ नेता पौडेलले अहिले देशलाई लोकतन्त्र र सुशासनको आवश्यकता परेको बताए । उनले भने, ‘लोकतन्त्रले पारदर्शितालाई बलियो बनाउँछ र सुशासनले विकासका कामलाई तीव्रता दिन सहयोग पुर्‍याउँछ, तर सरकारको गतिविधिका कारण यी दुवै कुरा प्राप्त हुने जटिल भइरहेको छ ।’

Advertisement

कांग्रेसको नीतिले गर्दा मुलुक आज यो अवस्थामा आइपुगेको दावी वरिष्ठ नेता पौडेलले दावी गरे । गाउँमा नै बसौ बसौ बनाउने काङ्ग्रेसको अभियान अझै पूरा हुन नसकेको बताउँदै वरिष्ठ नेता पौडेलले गाउँमा नै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सके मानिस गाउँबाट पलायन नहुनेमा जोड दिए ।

जनतालाई साथमा लिएर कांग्रेसले भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलन सुरु गर्ने बताउँदै वरिष्ठ नेता पौडेलले त्यसका लागि जनता जागरुक हुनुपर्ने बेला आएको बताए । सरकारका गतिविधिबारे जानकारी गराउन र कांग्रेसका कार्यकर्तामा जागरण ल्याउने उद्देश्य सहित आयोजना गरिएको पहिलो चरणको अभियान सफलतापूर्वक सम्पन्न भएको बताउँदै वरिष्ठ नेता पौडेलले दोस्रो चरणको अभियान अझ सशक्त रुपमा सञ्चालन गरिने बताए ।

Advertisement

उनले भने, ‘दोस्रो चरणको अभियान प्रचारमुखी होइन संगठनमुखी हुनुपर्छ । तल्लो तहदेखि नै कांग्रेसलाई मजबुद बनाउने सशक्त अभियान दोस्रो चरणमा आउँदैछ ।’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले देशको नेतृत्व गर्न सक्ने सक्षम पार्टीको रुपमा कांग्रेस पुनर्जीवित हुने बताए । उनले कांग्रेस पुरानै अवस्थामा फर्कने दाबी गर्दै कांग्रेसभित्रको कमजोरी सच्याउँदै एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । वैशाख २५ गतेदेखि सुरु जागरण अभियान अन्तर्गत तनहुँका १० वटै स्थानीय तहमा कार्यक्रमहरु सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया