मर्दी खानेपानी ट्रिटमेन्ट शिलान्यास भोलि हुनेः ठेक्का जापानी कम्पनीलाई

समाधान संवाददाता २०७६ जेठ २७ गते १५:३८

समाधान संवाददाता
पोखरा

मर्दीखोलाको पानीलाई पिउन योग्य बनाउन खानेपानी सुधार आयोजनाको काम सुरु हुने भएको छ । खानेपानी मन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास २८ गते मंगलबार शिलान्यास गर्ने तय भएको खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले समाधानलाई जानकारी दिए ।

मर्दी खोलास्थित खानेपानी सुधारका लागि याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले सन् २००४ मा अध्ययन गरेको थियो । उक्त डिजाइन अनुसार खानेपानी सुधार तथा विस्तारका लागि जापान सरकार सहयोग संस्था (जाइका)ले नेपाललाई ४ अर्ब ८१ करोड ३० लाख जापानी येन अनुदान दिने सम्झौता विसं २०७३ माघ २० मा भइसकेको छ ।

Advertisement

‘मर्दी मुहानमा शुद्धीकरण प्लान्ट बनाउने योजना अघि बढ्न लागेको हो,’ संस्थानका महाप्रबन्धक डा. प्रसादले समाधानसँग भने, ‘नेपाल सरकारले संस्थानलाई ऋण उपलब्ध गराउन लागेको हो । प्लान्ट निर्माण गर्ने जिम्मेवारी पाएको ठेकेदार जापानी हो ।’

प्लान्ट निर्माण आगामी ३ वर्षभित्र सकिसक्ने संस्थानको लक्ष्य छ । विसं २०८१ असार १५ गतेदेखि संस्थानले १ प्रतिशत ब्याजसहित नेपाल सरकारलाई ऋण बापतको किस्ता बुझाउने छ । ७ वर्ष ग्रेस अवधिसहित ३० वर्षसम्म संस्थानले सरकारलाई किस्ता बुझाउने सम्झौता ०७४ जेठ ३ मा भइसकेको छ । संस्थानले किस्ता भुक्तानीमा समान वार्षिक सेवा स्वरुप १६ करोड ४ लाख ३३ हजार ३ सय ३३ जापानी येन अनुसारको रकम बुझाउनुपर्ने हुन्छ ।

Advertisement

संस्थानका अनुसार काठमाडौं उपत्यका बाहिर सुरु हुन लागेको पहिलो ठूलो आयोजना हो । जापानले यो अनुदान रकम ‘सिभिल ठेक्का’का लागि दिएको संस्थानले जनाएको छ । जापानले दिएको अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियो ।

जसमध्ये हाजमा एन्दो कर्पोरेसन कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनीसँग संस्थानले २०७५ फागुन २४ गते सम्झौता गरेको छ । हाजमा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा उक्त कामको ठेक्का पाएको हो ।

खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक प्रसादले जानकारी दिए । अनुदान रकम पानी शुद्धीकरण प्लान्ट निर्माण र पाइपलाइन विस्तारमा खर्च हुने महाप्रबन्धक प्रसादले बताए ।

दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने छ । त्यस्तै, खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ । पोखराको पस्र्याङ, फूलबारी र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माण गरिने भएको हो ।

यस आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्रका साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने छन् । खानेपानी संस्थान अन्तर्गत पोखराका ४० हजार घरधुरीमा खानेपानी धारा जडान भएको छ । दैनिक साढे ६ करोड लिटरको माग भएपनि हाल ५ करोड लिटरमात्रै आपूर्ति हुँदै आइरहेको संस्थान पोखरा शाखाका सूचना अधिकारी दिनेश्वरप्रसाद यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया