बजेटमा पर्यटन– होम स्टेलाई २५ करोड, पर्यटन पूर्वाधारलाई ३५ करोड

समाधान संवाददाता २०७६ असार १ गते २०:४७

समाधान संवाददाता
अर्थमन्त्री किरण गुरुङले आइतबार गण्डकी प्रदेशको सभामा प्रस्तुत गरेको बजेटमा पर्यटन क्षेत्रलाई दोश्रो प्राथमिकतामा राखेका छन् । तर बजेट बिनियोजन पूर्वाधारलाई भन्दा होम स्टेको विकासलाई धेरै महत्व दिइएको छ ।
पर्यटन उद्योगको विकास गर्ने योजना अनुसार बजेटमा आगामी अंग्रेजी बर्षलाई छिमेकी राष्ट्रका पर्यटक आकर्षण गर्ने बर्षका रुपमा मनाउने कुरा बजेटमा उल्लेख छ । यसका लागि एक करोड रुपैया बिनियोज गरिएको छ भने ४४ वटा गन्तब्यमा पूर्वाधार विकास लागि १७ करोड ६० लाख बिनियोजन गरेका छन् । त्यस्तै चर्चित पदमार्ग लगायतका पर्यटकीय आकर्षणको विकासका लागि १८ करोड बिनियोजन गरेका छन् ।
तर गत वर्ष पनि आलोचित बनेको होम स्टे विकासका लागि भने यस बर्ष पनि प्रयाप्त रकम दिएका छन् । पर्यटन मन्त्रालयको योजना अनुसार होम स्टेको लागि आगामी बर्षका लागि पनि २५ करोड रुपैया बिनियोजन भएको छ ।
अर्थमन्त्रीले बजेट भाषण गर्दा पर्यटन क्षेत्रको बारेमा गरेको सम्बोधन जस्ताको तस्तै–

पर्यटन
पर्यटनमैत्री कार्यक्रमका माध्यमबाट गुणस्तरीय सेवा र नयाँ पर्यटकीय गन्तव्यको विकास गरी पर्यटकको बसाई अवधि लम्बाउने तथा निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिको रूपमा सम्मान गर्ने अतिथि देवो भवः अभियानलाई निरन्तरता दिने व्यवस्था गरेको छु ।
पर्यटन पूर्वाधारको विकास र विस्तार गरी पर्यटन सेवामा सुधार गरिनेछ । प्रकृति, संस्कृति र साहसिक पर्यटन समेट्ने गरी पर्यटन क्षेत्रको एकीकृत विकास गर्ने गुरूयोजना तयार गर्न १ करोड विनियोजन गरेको छु । साथै, पर्यटन क्षेत्रका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न पर्यटन कार्यालय तथा पर्यटन सूचना केन्द्रको स्थापना गर्न ५ करोड विनियोजन गरेको छु ।
पर्यटन क्षेत्रलाई प्रदेश समृद्धिको मुख्य आधारका रूपमा लिइनेछ । सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष सम्पन्न गर्न तथा सन् २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्षको रूपमा मनाउन १ करोड विनियोजन गरेको छु ।
प्रदेश पर्यटक आकर्षक क्षेत्रको रूपमा घोषणा भएका १ सय १० पर्यटन गन्तव्यमध्ये प्रत्येक जिल्लामा ४ गन्तव्यको छनोट गरी जम्मा ४४ गन्तव्यमा पूर्वाधार विकास गर्न रू १७ करोड ६० लाख विनियोजन गरेको छु ।
राउन्ड अन्नपूर्ण पदमार्ग, धौलागिरी पदमार्ग, मिलेनियम ट्रयाक लगायत पदमार्ग, पार्क, उद्यान तथा भ्युटावर निर्माणका कार्यक्रमलाई निरन्तरता दिन १८ करोड विनियोजन गरेको छु । चालु आर्थिक वर्षमा सञ्चालित होमस्टे प्रवद्र्धन कार्यक्रमलाई परिमार्जन गर्दै सञ्चालन गर्न २५ करोड विनियोजन गरेको छु ।

Advertisement

तपाईको प्रतिक्रिया