खतराको घन्टी तुरतुरे ताल

समाधान संवाददाता २०७६ असार २३ गते १३:१६

ताराप्रसाद शर्मा
बागलुङ

बागलुङको पश्चिम ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा बनेको कृत्रिम ताल आसपासमा पहिरोको जोखिम बढेको छ । वर्षासँगै तुरतुरे तालमा पानीको बहाव बढेकाले मध्यपहाडी लोकमार्ग कटानमा पर्दै गएको छ । कतिपय स्थानमा सडक भासिन थालेको छ । सडक भासिएर पहिरो खसेमा गत वर्ष पहिरोले थुनिएर बनेको कृत्रिम ताल फुट्न सक्ने खतरा देखिएको छ ।

गत वर्ष सोही पहिरोमा परी १ महिलाको ज्यान गएको थियो । पहिरोले विद्युतको केन्द्रीय प्रसारण लाइनका पोल र तारमा समेत क्षति पुर्‍याएको छ । विद्युतका पोल र तार सडकमा छरपस्ट भएको र पहिरोका कारण मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध हुन थालेको हो ।
स्थानीय दिनेश शर्माले तलबाट कृत्रिम तालले सडक भासिने र माथिबाट पहिरो खस्ने दुवै जोखिम बढेको सुनाए । अहिले सम्भावित जोखिमलाई ध्यानमा राखेर सडक छेउतर्फ ढुंगा राखेर कुनातर्फबाट सवारी र पैदलयात्रुलाई आवतजावतको व्यवस्था मिलाइएको छ ।

Advertisement

गत वर्ष भदौ २९ गते राति लोकमार्गभन्दा ५ सय मिटर माथिबाट पहिरो खस्दा बडिगाड खोला करिब ६ घण्टा थुनिएर ताल बनेको थियो । जसलाई स्थानीयले तुरतुरे ताल नाम दिएका थिए । लगभग ३सय मिटर लामो ड्याम बन्दा त्यसले वर्षे खोला पनि थेग्न सक्ने अनुमान गरी ताल फुटाइएको थिएन ।

तुरतुरे पहिरोको केही भाग चर्किएकै अवस्थामा छ । तालमा हिउँददेखि केही दिन अघिसम्म दैनिक डुंगा सयर गराएर स्थानीय कुमाल समुदायले आम्दानीसमेत गरेका थिए । तुरतुरे ताल क्षेत्र बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको संगम स्थल पनि हो ।

Advertisement

माथिबाट पहिरो खसेमा ढोरपाटन नगरपालिकाको भाग डुवानमा पर्ने र ताल फुटेमा बडिगाड लगायत गुल्मीका तटीय क्षेत्रमा ठूलो क्षति पुग्ने देखिएको भीमगिठे प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब उपरीक्षक ऋनबहादुर वैदारले बताए ।

तपाईको प्रतिक्रिया