मनियल डाँडामा आन्दोलित मनहरु

समाधान संवाददाता २०७६ साउन ५ गते १५:१०

सरस्वती श्रेष्ठ ‘सरु’

गन्तव्य महासागर बनाउन हेतु बगिरहेछौँ हामी साना साना नदीहरू यात्रा बोकेर निरन्तर निरन्तर । यसपाली पनि यात्राको अर्काे नयाँ शृंखलामा जुटेका छौँ हामी । यात्राको गन्तव्य नितान्त नयाँ, कहिल्ये नहिँडेको बाटो । धेरै धेरै सुनिएको नाम, कास्की जिल्लाकै भरतपोखरी । भरतपोखरी, पोखराबाट त्यति टाढा नभएको हुँदा मध्यदिनमा मात्र म घरबाट बगेँ यात्राको सानो नदी बनेर र यात्राकी सहयात्री नदी रमा प्राशरजीसँग मिसिएँ नयाँ बजारमा । हामी दुवै साना नदीहरू सरुभक्त दाइसँग मिसिएर बिरौटा चोक पुग्यौँ ।

पर्वतबाट बग्दै आउनु भएका इन्द्रकुमार विकल्प, आर.के. अदिप्त गिरी, चितवनबाट उर्लेर आएका भुिपन व्याकुल र प्रसन्न घिमिरेसँग मिसिएर हाम्रो आकार केही विशाल बन्यो । हामी अझै अन्य शाखा नदीहरूको पर्खाइमा बग्न रोकिएर रहेका थियौँ । एक एक गर्दै सबै शाखा नदीहरूको उपस्थिति भएपछि, समयले निर्धारित सिमा काटेपछि ‘बागमारा’ लेखिएको बसमा हामी नदीहरू बोकियौं । बस, हामीलाई बोकेर गुड्यो ।

Advertisement

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हुँदै सीतापाइलाको बृद्धाश्रम छोडेर फुस्रेखोलाको पुल तरेपछि पिच नगरिएको कच्ची सडक हुँदै हामी साढे ३ बजे कालिकास्थान पुग्यौं र बसको यात्रा छोड्यौं । त्यहीँ नै हामीसँग अल्पज्ञानी र सञ्जीव पौडेल मिसिन आइपुगे । स्थानीय पसलमा चिया, खाजा खाएर ठिक ४ बजे हामी हुँडीकोटतर्फ उकालो लाग्यौं । यात्राको हाम्रो अभिप्रायः भनेको पैदल हिँड्नु हो । पैदल हिँड्न नपाए यात्राको कुनै आनन्द प्राप्त हुँदैन । पैदल हिँड्नुको मजा नै बेग्लै हुन्छ । अतः हाम्रा पाइलाहरू प्रिय धर्ती छुँदै प्रिय माटो टेक्दै, हिँड्न जम्जमाइरहेको थियो ।

घामले पनि आफ्नो दिनभरको यात्रालाई विश्राम दिने तरखरमा गन्तव्यतिर बिस्तारै ओरालो झर्दे थियो । हामी भने कालिका स्थानबाट दक्षिण तर्फको उकालो नाप्दै थियौं । यसपालिको यात्रामा यात्राका केही शाखा नदीहरू नयाँ थिए, हाम्रो बगाइमा मिसिन चाहने हामीले हाम्रो यात्रामा नियमित रूपमा लागिरहने बाहेक कहिलेकाहीं मिसिन चाहनेहरूलाई ‘नयाँ’ भन्छौँ । ती नयाँहरू अन्य शृखलामा नदोहोरिन सक्छन् । यसपालि नयाँहरूमा रुपिन्द्र प्रभावी ‘कटु’, सञ्जीव पौडेल, रेशम गिरी, मनोज अधिकारी, शंकर गिरी, सौगात संघर्ष सरिता तिमिल्सिना थिए । यीमध्ये सरिता दोस्रो पटक सहभागी थिइन् ।

Advertisement

हुँडिकोटबाट स्थानीय चेतबहादुर महतजी हामीलई लिन आउनु भएको थियो । त्यसरी नै सोही यात्रामा हाम्रा पथ प्रदर्शक अरू दुई जना मनियल डाँडाकै भाइहरू (मैले नाम बिर्से उहाँहरूको, माफ गर्नुहोला) थिए । गाउँका शान्त स्वभावमा घरहरू छिचोलेपछि हामी जंगलको बाटो उकालियौँ । बाटोमा भेटिएका बोट विरुवा, जडीबुटी र प्रकृतिसँग मन टाँस्दै, मन साट्दै हिँडिरहँदा मलाई बालापनको सम्झनाले पछ्यायो । म सानोमा प्रकृतिसँग कत्ति नजिकिन्थेँ ।

गोठालो जाँदा होस् या स्कुलबाट घर जाँदा आउँदा होस्, म प्रकृतिसँग नजिक हुन्थें । मसँगै घामले यात्रा गरिरहन्थ्यो । म घामसँग टाँसिँदै टाँसिँदै हिँड्थे । आफूसँगै कहिले कता कहिले कता बाँग्गिने छायाँसँग जिस्किँदै हिँड्थेँ । झोलामा ज्ञानको प्रतिक मानिने कापी, किताबहरू साथी त छँदै थिए । बाटोमा पनि विभिन्न बोट, विरुवा, ढुङगा, माटो, ढिस्को, थुम्को भेटिन्थे, ती पनि साथी नै बन्थे । जहाँ पुगेर म विश्राम लिन्थेँ, त्यो चौतारी, भञ्ज्याङ पनि साथी नै सम्झन्थेँ । केटाकेटी अवस्थामा २ घण्टाको उकालो आरोलो बाटो तय गरेर म स्कुल आउने जाने गर्थेँ ।

उकाली ओरालीसँग सुस्केरा साट्दै हिँड्न अभ्यस्त बनेकी थिएँ । त्यसरी नै हामी यो यात्रामा जङ्गलको बाटो उकालो लागि रहेछौँ, पवित्र धर्तीको माटो स्पर्श गर्दै प्रकृतिको सुगन्ध मीठो लागिरहेको छ । मलाई मेरो लमजुङको पाखाभरि पाइने वनस्पति र यो पाखामा पाइने वनस्पति उस्तै छन् कि छैनन् भनेर हेर्दे हिँड्न मन लाग्यो । नियाली रहेँ प्रत्येक रुख रुखमा जेलिने लहरा, रुखका हाँगामा आफ्नो अस्तित्व बचाइरहेका सुनाखरी र सुनगाभा । सबै मैले देखिरहे झैँ लागे, सबैलाई मैले भेटिरहेझैँ लागे र सबैलाई मैले स्पर्श गरिरहे झैँ लागे । पहाडी इलाका प्रायः जहाँ पनि उस्तै हुन्छ ।

नेपालको भौगोलिक बनोट प्रायः सबै उस्तैउस्तै नै हुन्छन् । मलाई मेरो रिस्ती खोला पारिको जङ्गलमा दाउरा घाँस गर्न गए झैँ लाग्यो । सूर्यपालको भीरपानी पाखामा दाउरा मार्न गए जस्तो लाग्यो । पानी भर्न जाँदा बाटोमा ऐसेलु टिपेर खाँदाको सम्झना भयो । शनिबारको दिन नुहाइधुवाइ सकेर अँगेरी टिपेर खाँदा मुख निलै भएको पनि सम्झना भयो । गोठालो जाँदा मकरकाँची हातभरि रातै बनाएर लगाएको सम्झना भयो ।

यसरी नै मैले आफ्नो बालापनको एक सुन्दर अध्याय सम्झँदै, हाम्रो संस्कृति, हाम्रो संस्कार, रीति रिवाजसँग गाँसिएको जीवनको व्याख्या गर्दै बाटो काटिरह्यौँ । भूपिनले ‘काँकरी पात’ भन्दै सहस्र बुटीको पात मिचेर सुघाउँदा, फेरि म आफ्नो बालापानमा डुब्न पुगेँ । म पनि सानो छँदा काँक्रो जस्तै बास्ना आउने काँकरी पात हातमा राखेर के–के, के–के भन्दै सुँघ्थेँ । नभन्दै काँक्रो कै जस्तो ताजा बास्ना आउँथ्यो । मलाई अचम्म लाग्थ्यो— कसरी त्यो झारको पात यसरी काँक्रो जस्तै बसाउँछ ?

गाउँ घरको यस्तो अप्ठ्यारो उकालो बाटोमा कहिल्यै नहिँड्नु भएकी रमा प्राशरजीलाई हिँड्न कति कठिन भइरहेको थियो भन्ने कुरा मैले महसुस गरेकी थिएँ । तर उहाँको जाँगरमा छुट्टै स्फूर्तता थियो । उहाँ पनि कुनै तन्नेरी भन्दा कम हिँड्नु भएन । मात्रै सोध्नुहुन्थ्यो— ‘अब कितनी दूर है ?’ हाम्रो गन्तव्य कति टाढा छ, भन्ने त हामीलाई पनि थाहा थिएन । तर पनि मैले भनिदिन्थेँ अब ‘५ मिनट’ । यस्ता ५ मिनट थुप्रै पटक हिँडिसकेपछि पुनः उहाँ सोध्नु हुन्थ्यो — ‘अब कितनी दूर है ?’ मेरो उत्तर उही हुन्थ्यो । पटक पटक एउटै उत्तर भएपछि र गन्तव्य आइनपुगेपछि भन्न थाल्नुभयो— ‘अब तो इसकी बात पर विश्वास हि नहीं ।’ उहाँको यो बोलीको लवज मलाई अत्यन्त प्रिय लाग्छ । बोलीमा कति मिठास घोलेर बोल्नुहुन्छ रमा प्राशर जी ।

म त्यसको बयान मेरा शब्दहरूमा गर्नै सक्दिन । केही यात्राहरूमा कारणवश साथ छुटेको छ, प्रिय बहिनी सरस्वती प्रतीक्षासँग उनको अभाव खट्किरहेछ ममा । हामी यसरी हिँड्दा जानी नजानी गीत सुसेल्ने गथ्र्याैँ । सुर ताल भत्काएर भए पनि । त्यो मीठो याद अँगालेर म हिँडिरहेकी थिएँ, फेरि अर्काे अर्काे यात्राको पर्खाइमा ।

कालिकास्थान देखि हामी पुग्नुपर्ने गन्तव्य स्थान सम्मको १ घन्टाको बाटो तय गर्न हामीलाई २ घन्टा लाग्यो । भरतपोखरीको वडा नं. ६ स्थित मनियल डाँडासम्म पुग्दा घामले त्यो दिनको यात्रा पूरा गरिसकेको थियो । तर त्यो समय अत्यन्त मनमोहक र प्रिय लागिरहेथ्यो । हाम्रो शरीर थकानले लत्रक्कै गलेको थियो । तापनि मनियल डाँडाको त्यो सौन्दर्यले हाम्रो थकान हामीबाट हराउन बाध्य बन्यो । हाम्रो शरीरमा जागँर पलायो । त्यो डाँडाबाट उत्तरतिर फर्कंदा पोखरा मात्र नभइ कास्की जिल्ला पूरै देखिँदो रहेछ ।

दक्षिणतिर फर्कं)दा पनि त्यस्तै रमाइलो । आहा ! कति रमाइलो ठाउँ । यस्तो ठाउँमा सधैँ बस्न पाए भन्ने पो लाग्यो । हामीलाई अझै त्यो माथिको भैरव मन्दिरसम्म जाने जाँगर पलायो । आँखाले टाढा टाढासम्म देखिने दृश्वालोकन गर्न चाहिरह्यो । पटक्कै ढिलो नगरी हामी पुनः अलिकति माथिको भन्ज्याङमा उक्लियौँ । गोधूली साँझ, सुरम्य समय, मनोरम वातावरण मनै हर्ने दृश्य, मानौ यो सपनाको छुट्टै संसार नै हो कि झैँ लाग्ने । आँखा र मन दुवै आनन्दानुभूतिमा सयर गरिरहेका थिए मेरा ।

रमणीय दृश्यावालेकनले मन पुलकित भइरहेको बेला खुसुक्क साँझ ओल्र्याे हाम्रो पोल्टामा र लुकायो, आफ्नै खोकिलामा त्यो उज्यालो । समयले दिने हरेक प्रहरलाई आत्मसात् गर्दै हामी बासस्थान तर्फ ओर्लियौँ । बेलुकीको खाना खाएपछि किरण थापा भाइ (जो कास्की जिल्ला क्षे.नं. ३ का ने.क.पा. माओावदीका इन्चार्ज हुनुहुन्थ्यो त्यतिबेला) लगायत गाउँका अन्य साथीभाइहरूसँगरमाइलो कुराकानी भयो । किरण थापा भित्र पनि साहित्यिक मन रहेछ । उहाँको सामीप्यताले त्यो बताउँथ्यो ।

त्यो गाउँमा हामीले भाइकै सहयोग लिइरहेका थियौँ । अर्का सहयोगी भाइ हुनुहुन्थ्यो चेतबहादुर महत । चेतबहादुर महत लोकगायक हुनुहुँदो रहेछ । ‘पानी छाँगामा’ नामक गीति एल्बम समेत प्रकाशित रहेछ उहाँको । समयाभावका कारण उहाँकै स्वर सुन्ने अवसर नमिले पनि क्यासेट प्लेयरलाई प्ले गरेर उहाँको स्वर र गीत सुनी केही बेर आनन्दित हुने मौका पायौँ । उहाँको सम्पूर्ण परिवारको आतिथ्यतामा लुटुपुटु हुँदै आत्मियताका साथ रात कटाएका थियौँ हामीले ।

रातको आवरण पूरै खुलिसकेपछि मनकुमारी महतको हातबाट चियापान गर्ने अवसर पाइयो । उहाँलाई धन्यवादका शब्दहरू टक्य्राउँदै हामी पुनः मनियल डाँडातर्फ उक्लियौँ र हाम्रो प्रमुख उद्देश्य तिर अभिमुख हुँदै सबै आन्दोलनकारी स्रष्टाहरू आआफ्नो बाटो समातेर बग्न थाल्यौँ । अर्थात् सिर्जना गर्न, बिम्बका फाँकीहरू बटुली सुन्दर कविता जन्माउन । कविताको बिम्बको शीत बटुल्दै आफ्नै शैलीमा रंग भर्ने क्रममा हामी मनियल डाँडाबाट १५ मिनेटको बाटो हुँडीकोटसम्म पुग्यौँ । हुँडीकोट पनि रमणीय स्थल रहेछ । उहिल्यैका बाइसी चौबिसी राजाहरूको एउटा कोट, एउटा दरबार । जो अहिले इतिहास बनिसकेको छ ।

मलाई दोस्रो पटक झ्याउँकीरीका आलापले आलापित पारे । झ्याउँकीरीका रागले मलाई कविताका बिम्बहरू बटुल्न सघायो । संरक्षण कविता आन्दोलनको यो यात्रामा म झ्याउँकीरीमय भएँ । थाहै नपाइ सुलुलु बगेँ सुरौँदी खोला जस्तै नागबेली बन्दै । उनिँदै गएँ सुरौँदीले छोडेको बगर, बगर । हुँडकिोटको त्यो विराट छातीमाथि म झ्याउँकीरीमय भएँ । बकैनाको रुखमा उल्टो झुण्डिँदै हृदयको आलाप उरालिरहेँ । अनुवाद भएँ अक्षरहरूमा । सुन्दर कविताको जन्म भयो र मेरो प्रसव पीडा शान्त भयो ।

रमा प्राशर जी माथिसम्म उक्लिन सक्नु भएन । उहाँले यो हुँडीकोटको सुन्दरता पनि देख्न पाउनु भएन । मैले त हेरेँ आँखाको धीत मरुन्जेल । कुहरिोको पातलो आवरणले नढाकिएको भए त्यहाँबाट १६ वटा जिल्लाहरू देख्न सकिने रहेछ । यो अवसरबाट वञ्चित हुनुपर्दा भने कुहिरोसँग बेस्सरी रिस उठ्यो । त्यही दिन टाँगिनु पथ्र्याे र त्यसलाई पनि क्षितिज भरि ? हाम्रो रिसै लागेछ क्या हो त्यसलाई । यसरी कुहिरोले ढाकेको बेला फेरि मलाई बालापनकै झल्को लाग्यो । बच्चा हुँदा हामीले कुहिरो धपाउने एउटा गीत गाउँथ्यौँ—
‘भाग भाग कुहिरो अझै छिटो भाग
तेरो घर चोर पस्यो, माना पीठो लुकायो’
यति भनेपछि कुहिरो भागेको भ्रम टाँगिन्थ्यो हाम्रो मानसमा ।

किरण थापा भन्दै हुनुहुन्थ्यो— वातावरण सफा भएको बेला यहाँबाट १६ वटा जिल्लाहरूको अवलोकन गर्न सकिन्छ । ती जिल्लाहरूमा लमजुङ, तनहुँ, गोरखा, मनाङ, पर्वत, स्याङ्जा, चितवन, नवलपरासी, गुल्मी, पाल्पा, बागलुङ, म्याग्दी, प्युठान, मुस्ताङ, धादिङ र कास्की त भै हाल्यो । बादलको घुम्टोले आफ्नो बनाएको हुँदा हिमशृंखलाको ऐना हेर्ने अवसर पाएनन् आँखाहरूले । बरु जिल्ला भित्रकै तालहरूको बगैँचा फेवा, रुपा, बेगनास, दिपाङ, खास्टे, मैदी लगायत तालहरूमा आँखाहरू टाँसिए ।

त्यसैगरी पोखरा शहरको घरैघरको सुन्दर बगैँचा अवलोकन गरेर पनि रमाए । आँखाहरू । चञ्चल पुतली झैँ आँखाहरू परेली फिरफिर गर्दै जताततै टाँसिन पुग्छन् । यी आँखाहरूर्ला राख्ने कुनै झ्यालखाना छैन । मलाई नारायण गोपालले प्राण भरेको त्यो कालजयी गीतको संस्मरण भयो । साँच्चै यी आँखालाई छोप्ने परेली बाहेक अरू केही छैन ।

समग्रमा हेर्दा हुँडीकोटलाई साँच्चै पर्यटकीय स्थलको रूपमा विकास गर्न सके कति राम्रो हुने थियो । यसको लागि स्थानीय युवाहरूको पहल हुनु जरुरी छ । त्यहाँको मनोरम दृश्यले जो कोहीको । मन नलोभ्याउला भन्न सकिन्न । आन्तरिक पर्यटनको विकास गर्ने हेतु पनि हामी जो कोही यस ठाउँमा जानु पर्ने देखिन्छ । समय मिलाएर त्यहाँ एकपटक पुग्नु होला भनेर म सबैलाई आफ्नो तर्फबाट आग्रह गर्न चाहन्छु ।

हुँडिकोटबाट दक्षिण तर्फ फर्केर हेर्दा नागबेली बन्दै बगिरहेको सुरौँदी खोलाले अवश्य सबैको मन लोभ्याउने छ । वरपर हरियाली त छँदै छ । अझ यहाँको मखमली फूलको बारेमा कुरा गर्न त बाँकी नै छ । कालान्तरमा त्यहाँ अत्यधिक मात्रामा मखमली फुलको बगैँचा रहेछ । (हामीले त्यतिबेला त देखिएन) । त्यसैले मनियल डाँडाको र मखमली फूलको किम्बदन्ती जोडिएको रहेछ । ‘मनियल’ डाँडाको नामाकरण मखमली फूलबाटै भएको रहेछ । ‘मखमली शब्द अपभ्रंश भएर ‘मनियल’ भएको भनेर किरण थापाजीले रमाइलो प्रसङ्ग उल्लेख गर्नुभएको थियो ।

तदस्थानमा कविता लेख्ने काम सकिएपछि सबै जना खाना खाने ठाउँसम्म निर्धारित समयमा जम्मा भयौँ । खाना खाने बेलामा खानासँगै अति आत्मीयता अनुभव भएको महसुस भयो मलाई । बहिनी अनिता रानामगरले हामी तीन जना (रमा प्राशर, सरिता र म) लाई साउन महिना (ब्रत बस्ने महिना) परेको हुँदा विशेष रूपले शुद्धताका साथ (लसुन, प्याज, माछा, मासु बेगर) खाना खुावउनु भयो । उनीप्रति यति आत्मीयताको बदलामा हामीले मात्र मन चढाउन सक्यौँ । अरू केही दिन सकेनौँ । हामीसँग दिने मन मात्रै थियो । यही मन पनि नभएको भए हामी के दिन्थ्यौँ कुन्नि ? धन्न यो मन सबैलाई बाँड्न पुग्छ ।

बाँडेर कहिल्यै नसकिने यै एउटा मन त रहेछ संसारमा । उनले पनि मनले हात थापेर मन लिइन् होला भन्ने लाग्छ । हामी यात्रामा सहभागी सबैलाई खान र बस्नको व्यवस्था गर्ने भाइहरू किरण थापा र चेतबहादुर महत लगायत अन्य शुभचिन्तकहरूले मिलाउनु भएको थियो । उहाँहरूप्रति हामी सदा सदा मन देखि आभारी रहने छौँ ।

दिउँसो संरक्षण कविता आन्दोलनको ४८ औँ शृंखलामा त्यहाँका स्थानीय बासिन्दाहरूले तन्मयताका साथ हाम्रो साथ दिइरहनु भएको थियो । कार्यक्रमको सभापतित्व स्थानयि समाजसेवी लोकबहादुर महतजीले गर्नुभएको थियो । आफ्ना मृदुभाषामा स्वगत मन्तव्य राख्नु भएको थियो— चेतबहादुर महतजीले । त्यहाँ नवोदित साहित्यकुञ्जको पनि उदय भएको रहेछ । संरक्षण कविता आन्दोलनका संयोजक सरुभक्त दाइद्वारा हाम्रो कार्यक्रमको अभियानको बारेमा जानकारी गराइयो ।

कविता वाचन गर्नेहरूमा स्थानयि कवि विशेश्वर ‘हरामी’, दिनेश आचार्य, अर्जुन अधिकारी, किरण थापा, विकास भुषाल, सौगात सङ्घर्ष आदि थिए । आन्दोलनकारी कविहरूमा सरुभक्त, लक्ष्मण थापा, इन्द्रकुमार विकल्प, ईश्वरमणि अधिकारी, भुपिन व्याकुल, प्रसन्न घिमिरे, रमा प्राशर, आर.के. अदिप्त गिरी, रुपिन्द्र प्रभावी, अल्पज्ञानी, सञ्जीव पौडेल, प्रकाश ज्ञवाली, सरिता तिमिल्सिना, रेशम गिरी, शंकर गिरी र म ।

यसरी संरक्षण कविता आन्दोलनको ४८ औं शृंखला सफलतापूर्वक समापन गरी मनभरि मनियल डाँडाको सौन्दर्य बोकेर ओरालै ओरालो बग्दै आयौं हामी बाटो जस्तै नागबेली बन्दै ।

तपाईको प्रतिक्रिया