के हो निष्क्रिय धूमपान ?
खिम लामिछाने काजी
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार धुम्रपान धुवाँमात्र नभएर सुर्तीजन्य पदार्थको सेवन र दुव्र्यसन हो । धुम्रपान गर्ने व्यक्तिले फालेको धुवाँ हावामा उसको वरपर रहेको व्यक्तिले लिनुलाई निष्क्रिय धुम्रपान अर्थात प्यासिब स्मोकिङ भनिन्छ । धुम्रपान ले प्रत्येक ६ सेकेन्डमा १ जनाको मृत्यु, प्रत्येक घन्टामा ६ सय ८४ जना ज्यान लिने गरेको तथ्यांकले देखाउँछ । त्यस्तै प्रत्येक दिन १६ हजार ४ सय ३८ जनाको मृत्यु र प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गर्छ । जसमध्ये १० प्रतिशत अप्रत्यक्ष धूमपानबाट मृत्यु हुने गरेको छ ।
चुरोटबाट निस्कने धुवाँमध्ये २५ प्रतिशत धुम्रपान गर्ने व्यक्तिले लिने र ७५ प्रतिशत हावामा फाल्ने हुँदा निष्क्रिय धुम्रपानकर्ता यसको शिकार हुने गर्छ । १ अध्ययनअनुसार हावामा फालिएको धुवाँमा धुम्रपान गर्ने व्यक्तिले तानेको धुवाँमा भन्दा २ गुणा निकोटिन, ३ गुणा कार्बन (टार), ५ गुणाभन्दा बढी कार्बनमोनोअक्साइड र ५० गुणाभन्दा बढी क्यान्सरजन्य रसायन हुन्छन् । यसबाट निष्क्रिय धुम्रपान कर्तामा धेरै धूमपान सम्बन्धी प्राणघातक रोग लाग्ने जोखिम हुन्छ । १ खिल्ली चुरोट करिब १२ मिनेटसम्म बल्छ भने चुरोट पिउनेले १ मिनटमा २ सर्कोमात्र तान्छ र त्यसैमा पनि बाहिर हावामा फ्याक्छन् ।
विश्व स्वास्थ्य संघको सर्वेक्षणमा मुलुकको ८२ प्रतिशत घरमा न्यूनतम १ व्यक्ति
धुम्रपान गर्ने गरेको पाइएको छ भने त्यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गर्छन । ७१.४ प्रतिशतभन्दा बढी महिला, ८५ प्रतिशतभन्दा बढी पुरुषले कुनै न कुनै रुपमा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको अनुमान छ ।
श्रीमान्ले गरेको धुम्रपानबाट उसको श्रीमतीलाई पनि असर पार्छ, त्यसैमा यदि श्रीमती गर्भवती छ भने गर्भमा रहेको कोमल भ्रुणलाई समेत घातक असर पुर्याएको हुन्छ । चुरोट पिउने गर्भवतीबाट तौल कम भएको बच्चा जन्मने, त्यस्तो बच्चा जन्मेको केही दिनमै मर्न सक्ने, बच्चाको वृद्धि विकास रोकिने र कसै–कसैमा मृत बच्चा जन्मने हुन सक्छ । धुम्रपान गर्ने आमाबाबुका कारण छोराछोरीमा रुघाखोकी, ब्रोङकाइटिस, निमोनियाजस्ता छातीका रोगबाट संक्रमित हुने सम्भावना बढी हुन्छ ।
२० औं शताब्दीमा १ करोडलाई मृत्युवरण गराइसकेको धूमपानले २१ औं शताब्दीमा १ अर्ब मानिसको मृत्युवरण हुने अनुमान छ । त्यस्तै निष्क्रिय धुम्रपान बाट वार्षिक ६ लाख बढीको मृत्यृ भइरहेकोमा १ चौथाई बालबालिका छन् । धूमपानका कारण नेपालमा दैनिक ६७ जनाले ज्यान गुमाउँछन् । मृत्यु हुनेमा ३ भाग पुरुष र २ भाग महिला छन् । एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने धूमपानले २५ किसिमका रोग र विभिन्न २ तिहाई क्यान्सर लाग्न सक्छ । सुर्तीसेवनले असर नपार्ने शरीरको कुनै तन्तु छैन ।
अमेरिकामा गरिएको १ सर्वेक्षणका अनुसार हरेक वर्ष धुम्रपान नगर्ने तर धूमपान गर्ने व्यक्तिको नजिकै बस्ने ७ हजार व्यक्तिको मृत्यु फोक्सोको क्यान्सरले भएको थियो । क्यालिफोर्निया प्रोटेक्सन एजेन्सीले २००५ मा गरेको अध्यनअनुसार स्तन क्यान्सर मध्ये ७० प्रतिशत युवतीलाई धुम्रपान गर्ने व्यक्तिको नजिकै बस्ने गरेका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार ६ लाख व्यक्ति हरेक वर्ष चुरोट पिउने व्यक्तिको नजिकै बस्नेले अकालमा ज्यान गुमाउन बाध्य छन् । उनीहरु मुटुको रोग, दम, सिओपिडी, क्यान्सर जस्ता कारणले मृत्यु भएको थियो ।
ब्रिटिस लिभर फाउन्डेसनका सल्लाहकार डाक्टर निक हपकिन्सनका अनुसार बच्चा अवस्थामा निष्क्रिय धुम्रपानको प्रभावमा परे पछि जीवनभर मुटु रोग, उच्च रक्तचाप, क्यान्सर जस्ता दीर्घरोग लाग्ने सम्भावना रहिरहन्छ । दक्षिण पूर्व एसियाली क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवनले हरेक वर्ष १२ लाख मानिसको मृत्यु हुन्छ भने नेपालमा ३१ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको सेवनले गर्दा मृत्यु हुने गरेको तथ्यांकले बताउँछ । जसमा ६ प्रतिशत व्यक्ति अप्रत्यक्ष वा निष्क्रिय धूमपानका कारणले मृत्यु हुने गर्छ ।
धुम्रपानमा बेन्जिन, क्याडियम, लिड, रेडियोएक्टिभ पोलोनियम, बेन्जोप्याररिन, एमोनिया, कार्बनमोनोक्साइड तथा निकोटिन जस्ता विशालु रासाइनिक तत्व हुन्छन् । जसले मानव शरीरलाई हानिमात्रै गर्दैन विभिन्न रोगसमेत निम्त्याउँछ । धुम्रपान तथा प्यासिब स्मोकिङको करणले घाटी र स्वरयन्त्रमा क्यान्सर हुन सक्ने, मस्तिष्कमा समस्या, पेट, मुत्रनली, स्तनआदिमा क्यान्सरको जोखिम बढाउँछ । त्यसैगरी धूमपान गर्ने व्यक्तिको नजिकै बस्ने बच्चा लिम्फोमा, ल्युकेमिया, कलेजोमा क्यान्सर, ब्रेन ट्युमर आदि जस्ता खतरानाक रोग लाग्न सक्छ ।
सरकारले २०६८ साल साउन २२ गतेदेखि लागु गरेको सुर्तीजन्य पदार्थ तथा धुम्रपान नियन्त्रण ऐन अहिलेसम्म प्रभावकारीरुपमा कार्यान्वयनमा आएको छैन । ऐन कार्यान्वयन गर्ने प्रश्नमा न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै अनुगमन समिति बनाएको छ न
धुम्रपान गर्नेको आनीबानीमा सुधार आएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ मा सार्वजनिक स्थानमा कसैले धुम्रपान गरेमा दण्ड जरिवानाको व्यवस्था छ ।
प्रचलित ऐन अनुसार १८ वर्ष मुनिका व्यक्तिले सुर्तीजन्य पदार्थ बेचविखन गर्न नपाउने, चुरोटका खिल्ली बिक्री–वितरण गर्न नपाइने, सार्वजनिक स्थलभन्दा १ सय मिटर टाढामात्र सुर्तीजन्य पदार्थ बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थ सम्बन्धी सचेतनामुलक सूचना हरेक सार्वजनिक निकायको परिसरमा टाँस्नुपर्ने हुन्छ । केही महिना पहिले राजधानीमा सार्वजनिक स्थलमा धूमपान गर्नेलाई दण्ड–जरिवाना तिराइएको कुरा छापामाध्यममा आएता पनि उक्त कार्यले निरन्तरता पाउन नसक्नु सरकारकै कमीकमजोरी हो । सार्वजनिक ठाउँमा धूमपान गर्नु मर्यादा बाहिर हो, लज्जास्पद कुरा हो । सार्वजनिक कानुन विरुद्ध हो र जघन्य अपराध पनि हो ।
चुरोटमा गरिएको खर्च विदेश गइरहेको सन्दर्भमा तत्कालीन प्रधानमन्त्री श्री ३ पद्मसमसेरले चुरोटको प्रयोग बढ्दै गई देशको ठूलो रकम चुरोटमा खर्च हुन जाँदा चुरोटको सट्टा तमाखु सेवन गर्न देशबासीमा सन्देश जारी गरेका थिए । ‘पहिले म पनि दिनमा ५०–६० ओटा चुरोट खान्थें, मैले चुरोट खान एकदम छोडिदिएको तीन वर्ष भयो त्यसपछि मैले बरोबर तमाखु खाने गरेको छु, चुरोट छोडेर तमाखु मात्रखाने गर्दा मलाई कुनै हानिभएको छैन । शरीरलाई पनि बहुतै हानि गर्ने चुरोट खानु बहुतै खराब अम्मल हो, यो अम्मललाई सकेसम्म एकैदिनमा छोड्नु बेस, नसके अलिअलि घटाउँदै लगे बेस, जसरी हुन्छ सबैले यो लतलाई छोड्न नै बेस छ । यो मेरो प्रार्थनालाई विचार गरेर तिमी सबैले पनि चुरोट छोड्ने चेष्टा गर्ने छाैं भन्ने आशा गर्दछु ।’
विसं २००४ असोज १० गते गोरखापत्रमा प्रकाशित देशवासीको नाममा श्री ३ पद्मको यो सन्देशले उतिबेलै चुरोट विदेशबाट झिकाउँदा ५०÷६० लाख रुपैयाँ खर्च लाग्ने गरेको र देशलाई ठूलो आर्थिक धक्का पुग्न गएको दर्शाउँछ । जनताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने ज्यानमारा चुरोट तथा सुर्तीजन्य पदार्थमा बेच–बिखन गर्न र सेवन गर्न गराउनमा रोक लगाउने प्रयाससम्म गरेको देखिँदैन ।
वास्तवमा श्री ३ पद्मसमसेरले चुरोटको सट्टा तमाखु खाने गरेको भए पनि तमाखुलाई स्वास्थ्यबद्र्धक भने मानिँदैन । सुर्तीजन्य सबै खाले अम्मल स्वास्थ्यका लागि हानिकारक छन् । कोही रहरले कोही देखासिकीले त कोही शोख, धक्कु प्रकट गर्न पनि धुम्रपान को लतमा फसेको पाइन्छ । सुर्तीमा हुने निकोटिनले यसको लतमा फसेपछि उम्कन गाह्रो पार्छ । निकोटिनयुक्त सुर्तीको प्रयोग प्राचिनकादेखि नै हुँदै आएको हो । सुर्तीबाट किटनासक औषधी तथा यसबाट निस्कने रंगलाई रोगनका रूपमा प्रयोग गरिन्थ्यो ।
धुम्रपानको इतिहास केलाउँदा सन् १५५६ मा फ्रान्समा, सन् १५५८ मा पोर्चुगलमा र सन् १५५९ मा स्पेन र सन् १५६५ मा बेलायतमा कुल्फी (पाइप) मा राखेर खाने सुर्तीको उत्पादन भएको थियो । सन् १८६५ मा वासिङ्टन ड्युकले अमेरिकाको नर्थ क्योरोलिनामा ३ सय एकड जमीनमा यसको व्यावसायिक खेती सुरु गरेका थिए । ‘सिभिलवार’ मा संलग्न सेनालाई कागजमा सुर्ती बेरेर हातैले तयार गरेको चुरोट बिक्री गर्ने उद्देश्यका साथ यसको खेती सुरु गरिएको थियो । सन् १८८१ मा जेम्स बोन्स्याकले चुरोट उत्पादन गर्ने मेसिनको आविस्कार गरेपछि हातले बेरिएको चुरोट हराउन थाल्यो । सिभिलवारमा संलग्न सेनाले नै चुरोटलाई बेलायतसम्म भित्र्याए ।
बेलायतले भारतलाई उपनिवेश बनाएको बेलामा नै हिन्दुस्तान हुँदै चुरोटले नेपाल भित्रियो । नेपालमा सन् १९६५ मा तत्कालीन सोभियत संघ (रुस) सरकारको सहयोगमा जनकपुरमा चुरोट कारखाना खुलेपछि भारतबाट भित्रिने बिँडी र चुरोटमा कमी आई जनकपुर चुरोट कारखानाबाट उत्पादित चुरोट प्रिय बन्यो । यो कारखाना बन्नु अघि प्रयोग हुँदै आएको तमाखु (हुक्का) तान्नेले पनि चुरोट नै खान थाले ।
तपाईको प्रतिक्रिया