५ जिल्ला हेर्न २ कर्मचारी

समाधान संवाददाता २०७६ साउन १० गते १४:०८

कृष्ण न्यौपाने
दमौली

५ जिल्लाको खाद्यान्न अनुगमन गर्ने जिम्मेवारी पाएको डिभिजन कार्यालयमा २ जना मात्रै कर्मचारी छन् । २ जनामध्ये १ कार्यालय प्रमुख हुन् भने अर्का कार्यालय सहयोगी । कर्मचारी अभावमा कार्यालयले सोचे जसरी काम गर्न सकेको छैन ।

तनहुँको दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भयो । तनहुँसहित गोरखा, लमजुङ, मनाङ र नवलपुरको जिम्मेवारीसहित २०७५ कात्तिक १५ गते डिभिजन कार्यालय दमौलीलाई कार्यक्षेत्र तोकियो ।

Advertisement

कर्मचारी अभाव हुँदा हुँदै पनि तनहुँ जिल्लामा भने कार्यालयले बेला बेलामा अनुगमन गर्ने गरेको डिभिजन प्रमुख शिवजी बरालले जानकारी दिए । २ जना प्राविधिकसहित ४ जनाको दरबन्दी रहेको कार्यालयले कर्मचारी अभावमा तनहुँबाहेक अन्य ४ जिल्लामा अनुगमनको काम गर्न नसकेको बरालले बताए ।

‘ ५ जिल्लाका होटल र उद्योग निरीक्षण एवं अनुगमन तथा खाद्य नमुना संकलनको जिम्मेवारी कार्यालयलाई भए पनि कर्मचारी अभावमा समस्या भोग्नुपरेको छ,’ बरालले भने, ‘तनहुँ सदरमुकाम दमौलीका केही होटल र उद्योगको अनुमगन गरिए पनि १÷१ पटक गोरखा र लमजुङ पुग्नेबाहेक अन्य काम गर्न सकिएको छैन ।’ बरालका अनुसार नवलपुर र मनाङमा भने १ पटक पनि अनुगमन भएको छैन ।

Advertisement

संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहत रहेको कार्यालय दमौलीको १ घरमा भाडामा सञ्चालित छ । ‘जुन उद्देश्यका साथ डिभिजन कार्यालय स्थापना भएको हो, कर्मचारी अभावमा उद्देश्य अनुसारको काम गर्न सकेका छैनौ,’ बरालले भने, ‘कर्मचारी दरबन्दीको विवरण सम्बन्धित ठाउँमा जानकारी गराएका छाैं ।’

प्रमुख पर्यटकीय गन्तव्य रहेको तनहुँ, लमजुङ, गोरखा र मनाङमा धेरै होटलहरु रहे पनि ती सबै होटलको अनुगमन गर्न नसकिएको बरालले बताए । यद्यपि जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालय र होटल व्यवसायी संघको समन्वयमा दमौलीमा बेला बेलामा अनुगमन हुने गरेको उनले बताए ।

तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले ५ जिल्लाको खाद्य अनुगमन गर्ने जिम्मेवारी तोकिएको कार्यालयमा कर्मचारी नभएको बारेमा सम्बन्धित ठाउँमा जानकारी गराएको बताए ।

५ वटा जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा अनुगमन कार्य प्रभावकारी हुन नसकेको क्षेत्रीय होटल संघ तनहुँका सचिव विकास खनालले बताए । संवेदनशील क्षेत्र खाद्य अनुगमन गर्ने जिम्मेवारी पाएको कार्यालयमा नै कर्मचारी अभाव हुनु दुःखद भएको खनालले बताए । उनले भने, ‘सरकारले जतिसक्दो छिटो कार्यालयमा कर्मचारी पठाएर अनुगमनलाई प्रभावकारी बनाउन सहयोग गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया