मुस्ताङमा नागरिकताभन्दा राहदानी लिने बढी

समाधान संवाददाता २०७६ साउन १० गते १४:५७

एसके थकाली
मुस्ताङ

मुस्ताङमा नागरिकताभन्दा बढी राहदानी बनाउने पाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा नागरिकताभन्दा राहदानी बनाउने दोब्बर भएको उल्लेख छ ।

आर्थिक वर्ष ०७५÷०७६ को असार मसान्तसम्म राहदानी सिफारिसकै लागि कुल ५ सय ७ जना कार्यालय आए । जसमा २ सय ५४ जनाले जिल्लामै साधारण राहदानी पाए भने द्रुत राहदानीका लागि २ सय ५३ जनाले सिफारिस प्राप्त गरे ।

Advertisement

प्रशासन कार्यालय र घुम्ती शिविर गरी नयाँ नागरिकता बनाउने २ सय ८१ जना छन् । यसैवर्ष तिब्बतीयन शरणार्थी ५९ जनाले परिचयपत्र नवीकरण गरे भने १ जनाले नागरिकता परित्याग गरेका छन् ।

चालुवर्ष जिल्ला प्रशासनले ३३ लाख २७ हजार ३ सय ९८ रुपैयाँ संकलन गरेको छ । संघ संस्था नवीकरण दर्ता, हातहतियार इजाजत तथा नवीकरण, न्यायिक दस्तुर, राहदानी र अन्यबाट उक्त राजस्व संकलन भएको प्रशासनले जनाएको छ ।

Advertisement

प्राकृतिक प्रकोपमा परेका पीडित १ सय २३ घरधुरीलाई १० लाख ३९ हजार ९ सय राहत वितरण गरिएको प्रशासनले जनाएको छ । चालु वर्ष जुवातास र अभद्र व्यवहारका ७ मुद्दा परे । अघिल्लो वर्ष सरेको ३ अभद्र गरी १० वटै मुद्दा किनारा लागेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए । यसवर्ष १५ जनाले हातहतियार नवीकरण गरेका छन् ।

तपाईको प्रतिक्रिया