ओसामा बिन लादेनका छोरा मारिएको दाबी

समाधान संवाददाता २०७६ साउन १६ गते १५:४१

एजेन्सी

अतिवादी मुस्लिम संगठन अलकायदामा संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जा बिन लादेनको मृत्यु भएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् ।

३० वर्ष हाराहारीका हाम्जाको मृत्युबारे अमेरिकी सञ्चारमाध्यमहरू एनबिसी र न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेका छन् । हाम्जाको मृत्यु भएको अपरेसनमा अमेरिकी अधिकारीहरू पनि संलग्न भएको बताइएको छ । तर उनी कुन ठाउँमा कहिले मारिए भन्ने समाचारमा खुलाइएको छैन । उनको मृत्यु डोनाल्ड ट्रम्पले राष्ट्रपति सम्हालेका पहिला दुई वर्षमा भएको हुन सक्ने बताइएको छ।

Advertisement

हाम्जाको मृत्युबारे बुधबार संवाददाताले सोधेको प्रश्नमा ट्रम्पले यसबारेमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताएका थिए ।  

सन् २०११ मा अमेरिकी सैन्य कारबाहीमा परी ओसामा बिन लादेनको मृत्यु भएको थियो । त्यसपछि हाम्जालाई उनका उत्तराधिकारीका रुपमा हेरिएको थियो । हाम्जाले अडिओ र भिडिओ सन्देश जारी गर्दै अमेरिकालगायत अरु देशमा आक्रमण गर्ने चेतावनी दिएका थिए ।

Advertisement

अमेरिकाले हाम्जा कहाँ छन् भन्ने जानकारी दिनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया