पोखरेली जेठोबुढोको सान

समाधान संवाददाता २०७६ भदौ ९ गते १३:३०

विश्वमै धानको उत्पत्ति नेपाल र यसकै आसपास भएको मानिन्छ । त्यसैले पनि यहाँका धानका अनेक जात छन् । त्यसमा पनि खास हो जेठोबुढो धान । पोखराका लागि त झन् खास हो जेठोबुढो । मगमग बासना आउने र खाँदा उत्ति नै मिठो यो धानको चामलको भात चाडपर्व विशेषको विशेष खान्की नै हो । पोखराका सबै फाँटमा फल्छ यो धान ।

अचेल भने कंक्रिटको जंगल बनेको छ र धान फल्न छोडेको छ । त्यसमाथि विषादीहरुको प्रयोगले धानको गुणमा ह्रास आएको थियो । थोरै फल्ने, बासना आउन छाड्ने लगायत अवगुण पछिल्लो समय यो धानमा देखिएका थिए । किसानले जेठोबुढो रोप्न छाडेका थिए । आयातित धानले पोखरेली फाँटमा राज गर्न थालेको थियो ।

खुसीको कुरा जेठोबुढो धानका कमजोरी हटाउन कृषि वैज्ञानिक सफल भएका छन् । १९९८ देखि २००६ सम्म पोखरा विभिन्न फाँटमा फलेका ३ सय ३६ बोट लिएर नयाँ धान विकास गर्न वैज्ञानिकहरुले अनुसन्धान थालेका थिए । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) सहित अन्य ३ संस्थाले त्यो अनुसन्धानमा सफलता पाएका छन् ।

Advertisement

कीरा कम लाग्ने, बासना आउने धानको विकास वैज्ञानिकहरुले गरेका छन् । अब यो धानको नयाँ दिन आएको छ । यसै पनि बालीनालीमा रैथाने प्रजाति लोप हुने छाँट देखिएको थियो । जेठोबुढो धानमा भएको यो विकास ठूलो सफलता हो । अचेल विकसित देशले बालीनालीमा अनुवांशिक परिवर्तन (जिएमओ) प्रविधि विकास गरेका छन् । नेपाली लगायत थुप्रै देशमा जिएमओको राज चलेको छ । जिएमओ बालीको उत्पादन धेरै त हुन्छ तर बिउ काम लाग्दैन । किसानले बिउ राख्न पाउँदैनन् ।

बिउका लागि विदेशी कम्पनीमा भर पर्नुपर्ने अवस्था छ । त्यसैका लागि हामीले रैथाने बाली जोगाउनुपर्छ । रैथाने बाली जोगिएमात्रै नयाँ नयाँ बाली विकास सम्भव हुन्छ । रैथाने बाली नरहे न पुरानो न नयाँ बाली विकास हुन्छ । रैथाने बाली भनेको त्यस्तो तागतबर हुन्छ, जसमा रोगकीरासँग लड्न सक्ने सामथ्र्य हुन्छ । स्वादका हिसाबले पनि रैथानेको जस्तो तिख्खरपन जिएमओबाट विकसित बालीमा हुँदैन ।

Advertisement

जिएमओ बिउका कारण उत्पादनै हुने समस्यासमेत देखिएको छ । नेपालमै मकैबालीमा त्यस्तो समस्या देखिएको थियो । धन्न भारतमा जस्तो नेपाली किसानले आत्महत्याको बाटो रोजेनन् । तर रैथाने बाली जोगाएनौं भने किसानको आत्महत्याको मात्रै होइन महाभोकमरीको दिन नआउला भन्न सकिन्न । यसमानेमा लिबर्ड र वैज्ञानिकहरुलाई साधुवाद । यस्तो संवेशदनशील मामलामा सरकारले पनि यस्ता गैरसरकारी संस्था र वैज्ञानिकहरुलाई हौस्याओस् ।

तपाईको प्रतिक्रिया