संस्कृति होइन, सोच बदलौं !

समाधान संवाददाता २०७६ भदौ १० गते १७:४९

सुजता ढकाल

परापूर्वकालमा नारीको स्थान ज्यादै महत्वपूर्ण र मर्यादित थियो । ‘नारी’ या महिला शब्दले घरको परिचय गराउँथ्यो । तापनि उनीहरूले समेत आफ्नो जिम्मेवारीको हिस्सा राख्थे । पत्नीलाई पतिको आधा अंग मानिन्थ्यो भने पुरुषलाई पनि पत्नीबिना पूर्ण मानिदैनथ्यो । पत्नीको अनुपस्थितिमा पतिबाट गरिएको धार्मिक कार्य समेत निष्फल हुन्छ भन्ने अवधारणा समेत रहेको कुरा राजा रामले अश्वमेघ यज्ञ गर्न लाग्दा सुनको सीता बनाइ आफूसँगै राखी यज्ञ गरेकोबाट पुष्टी हुन्छ ।

हाम्रो पूवीय सभ्यता अथवा हिन्दु धार्मिक ग्रन्थका आधारमा हेर्ने हो भने प्राचीनकाल देखिनै सरस्वती, लक्ष्मी, कालि, दुर्गा, सीताजस्ता मर्यादित र सम्माननीय स्थान ओगट्दै आएको महिलाहरूको स्थितिमा विस्तारै विस्तारै कुठाराघात हुँदै जान थाल्यो र महिलाहरूले घर बाहिर जानु हुँदैन भन्ने जस्ता कुविचारहरूको जन्म हुन पुग्यो । जुन परिपाटीलाई कालान्तरमा धर्मसँग जोडेर हेर्न थालियो र समयसँगै यसलाई अपव्याख्या गरी विकृत दिशातर्फ उन्मुख गराइयो ।

Advertisement

परापूर्व कालमा हिन्दु धर्मले अत्यन्तै महत्व दिएको महिलाको सवाललाई विकृत गराइएजस्तै विश्वमा महान विचार र अन्य धार्मिक ग्रन्थले समेत महिलाप्रतिको धारणालाई उदार राख्न सकेको देखिँदैन । जस्तैः अरस्तु भन्दछन् ‘पोथीको आत्मा हुँदैन ।’ महिलाहरूको शरीर कमजोर भएकोले नै उनीहरूको योग्यता पनि कमजोर भएको हो भनेर महिलालाई शरिरसँग मात्र जोडेर उनले व्याख्या गरेका छन् । समान ढंगले सिग्मन्ड फ्रायड भन्छन्– ‘महिलाहरूको शरीर नै भाग्य हो’ । त्यस्तै गरी अन्य धार्मिक दृष्टिकोणमा हेर्ने हो भने इश्लाम, क्रिश्चियन आदि धर्मशास्त्रले पनि लैंगिक विभेदलाई प्रोत्साहन दिइरहेको छ । अझ धार्मिक ग्रन्थ बाइबलका अनुसार ‘केटी र आइमाईलाई समान दयाभाव राख्नु पर्दछ’ भनेर नारीहरुलाई दयाका पात्रमा सिमित गरेको छ ।

धर्म र संस्कृतिका बारेमा मेरो पनि आफ्नै ढंगको धारणा छ । कतिपय कुहरुलाई मैले सकेसम्म सहज बनाउनुपर्छ भन्ने मान्यता राख्छु र सँगसँगै त्यस्ता कुराहरुको मौलिकता पनि नमरोस र गर्न खोजेको कामको सकारात्मक नतिजा समेत आओस भन्ने ढंगले अगाडि बढाउने गर्छु । हुनत आफूले गरेको कामको नजिता गलत नहोस भन्ने त जो कोहीलाई पनि लाग्छ र लाग्नु स्वभाविक नै हो । विशेषत मैले यहाँ जोड्न खोजेको कुरा धर्म, संस्कृति र त्यसका मान्यतालाई हो । त्यसमा पनि महिलाको चाड भनेर चिनिएको तीजका बारेमा केही कुरा; मेरो आफ्नो तीज प्रतिको धारणा र मेरो बुझाइलाई जोड्न चाहन्छु ।

Advertisement

करिब १ महिना पहिलेदेखि पोखरामा एउटा कुरा तरंगित छ, जुन कुरा सामाजिक सञ्जाल र मिडियामा अहिले पनि यत्रतत्र बनिरहेको छ । विभिन्न भेला र समारोहहरुमा समेत यसकै चर्चा छ । जसको सुरुआत जिल्ला प्रसाशन कार्यालय कास्कीले गएको साउन ९ गते जारी गरेको विज्ञप्तिले गराएको छ । तर प्रशासनलाई पनि यो विज्ञप्ति जारी गर्न वाध्य पार्ने विभिन्न कारण होलान् । जसको पक्ष र विपक्षमा थुप्रै आवाज आए ।

विज्ञप्ति नेपाली महिलाहरुले मनाउँदै आएको तीज पर्वसँग सम्बन्धित छ । जहाँ तीज पर्वलाई होटल, पार्टी प्यालेस आदिमा दर खाने÷ख्वाउने, भेटघाट कार्यक्रम राख्ने, अग्रिम टिकट बुकिङ गर्ने जस्ता शब्दावलीहरुको प्रयोग गरी तीजलाई त्यसरी मनाउन नपाइने र मनाएको खण्डमा कानुनको हवाला दिँदै कारवाही गरिनेसम्मको व्यहोरा उल्लेख छ । यिनै कुराहरुमा वादविवाद सुुरु भएको हो ।

जसको केही समयपछि प्रशासनले समेत आफ्नो धारणा गलत मनसायले नभएको भन्दै मिडिया मार्फत नै स्पष्ट पार्दै तीज पर्व मनाउन कुनै रोकतोक नभएको जानकारी गरायो । तीजका विषयमा कास्की जिल्ला प्रशासन कार्यालयले मात्र नभई देशका अन्य जिल्ला प्रशासन कार्यालयहरुले समेत विज्ञप्ति जारी गरेका छन् ।

सदियौंदेखी भाद्र शुक्ल त्रितियादेखि पञ्चमीसम्म मनाइँदै आएको तीज पर्वका बारेमा कुनै विवाद जरुरी छैन । कास्की जिल्ला प्रशासनले विज्ञप्ति जारी गर्‍यो, जसका पक्ष र विपक्षमा आवाज आउन थाले, विज्ञप्ति जारी भएको केही समय पश्चात प्रशासनले आफ्नो तीज मनाउनै नदिने कुनै त्यस्तो मनसाय नभएको भनी स्पष्ट पार्‍यो । यत्ति भएपछि कुरा सकिनुपर्ने तर म यस घटनालाई यहाँसम्म आइपुग्दा समेत पुनः विवादकै श्रेणीमा राख्दछु र अब यस्ता किसिमका संस्कृति र परम्परासँग जोडिएका गहन विषयहरुमा विवाद होइन कि यस्ता विषयहरुमा एउटा गहन बहसको जरुरी छ जस्तो लाग्छ ।

मैले यस आलेखको सुरुआतमै भनेकी छु कि– ‘धर्म र संस्कृतिका बारेमा मेरो आफ्नै ढंगको धारणा छ’ भनेर । यस कुरालाई मैले आउँदै गरेको हरितालिका तीजसँग जोडेर हेर्दै छु । मेरो जन्म पूर्वी नेपालको झापा जिल्लास्थित दमकमा भएको हो भने मेरो बिहे पोखरामा भयो । बिहे भएको केही समय म काठमाडौंमा बसे र विगत दुइ÷ढाई वर्षदेखि म पोखरामै छु । यहाँ मेरो व्यक्तिगत कुरा यस कारण पनि जोड्दै छु कि, मेरो बिहे भएको ५ वर्ष भैसक्दा पनि म तीजमा माइती अर्थात् झापा घर गएकी छैन । अर्को कुरा म आजका दिनसम्म तीज भनेर व्रत समेत बसेकी छैन । म तीजमा झापा नजानु र व्रत नबस्नु यी मेरा नितान्त व्यक्तिगत र व्यवहारिक कुरा हुन् । तर कोही दिदीबहीनी तीज भनेर माइतीघर गएको, नाचगान र रमाइलो गरेको, व्रत बसेको जस्ता कुरा देख्दा र सुन्दा मलाई रमाइलो लाग्छ । किनकि यससँग हाम्रो मौलिकता जोडिएको छ, पूर्वीय सभ्यता जोडिएको छ जसले नारीहरुको आत्मीयतालाई बढावा दिएको पाउँछु र म तीजमा खुसी हुन्छु ।

मैले माथिको हरफमा भनेका ३ सहर; झापाको दमक, कास्कीको पोखरा र देशको राजधानी काठमाडौं सहरबीचको समानता एउटै कुरामा छ– तीजको सौन्दर्य । झापा पहाडबाट मानिस झरेर बस्न थालेपछिको बस्ती हो । जहाँ तीजका बेला विभिन्न जातजाति र सम्प्रदायका महिला दिदीबहिनीहरु भेला भएर नाचगान र खानपिन गर्ने गर्दछन् ।

काठमाडौं र पोखरा भनेका उपत्यका हुन् यहाँको बस्ती भने केही त्यहाँका रैथानेहरुले बनेको छ । धेरैजसो नजिकका काँठ र वरपरका पहाडि जिल्लाबाट मानिस आएर बसेको बस्ती छ, उनीहरुले पनि आ–आफ्नो तौर तरिकाका गीत, नाचगान र खानपान सहित दिदीबहीनीहरु भेला भएर तीज मनाउने गर्दछन् । जसबाट के कुरा बुझ्न सकिन्छ भने तीजलाई कुनै भूगोलले छेकेको छैन किनकि यसलाई हरेक क्षेत्रमा समान महत्वका साथ मनाउने गरिन्छ । जहाँ पछिल्लो समय हिन्दु महिला मात्र नभएर सबै नेपाली महिलाहरुको सहभागिता रहेको पाइन्छ । यो महिला दिदीबहिनीहरुको पर्वका रुपमा पूर्णतः विकसित भइसकेको छ ।

यसरी नेपाली समाजमा अबको तीज भनेको हिन्दु नारीहरुको मात्र नभएर समस्त नेपाली नारीहरुको तीज बनेको छ । भारतका केही प्रान्तहरुमा समेत तीज मनाइन्छ भने नेपालबाट खाडी, युरोप र अमेरीकासम्म पुगेका नेपालीहरुले तीजको मौलिकतालाई तीज गीतमा नाचगान, खानपान र भेटघाटद्वारा प्रवासमा समेत बचाइ राखेका छन् । यसर्थ पनि तीज हाम्रो संस्कृति हो, मौलिकता हो र हाम्रो पहिचान हो । हामीले आउँदो वर्ष ‘नेपाल पर्यटन वर्ष, २०२०’ मनाउँदै छौं । पर्यटन वर्ष मनाइरहँदा हामीले हाम्रा मौलिक संस्कृति र परम्पराहरुलाई नजरअन्दाज गर्न सकिन्छ ? त्यसैले पनि तीज लगायतका मौलिक संस्कृतिको जर्गेना गर्नु सरकार लगायत तपाइँ हामी सम्पूर्ण सरोकारवालाहरुको जिम्मेवारी हो ।

हिजोआज हामीकाँहा गलत परिपाटी के बसेको छ भने कुनै पनि पश्चिमा संस्कृति हामीले मनायौं भने चाहे त्यो जस्तो सुकै किन नहोस हामी त्यसलाई आधुनिकतासँग जोडेर हेर्छौं । तर सदियौंदेखि चलिआएका नेपाली प्रथा, परम्परा आदिलाई जुन वैज्ञानिक हिसावले समेत अत्यन्तै सकारात्मक र फाइदाजनक छन् तिनलाई पुरातन र अन्धविश्वासको सज्ञा दिन्छौं ।

यतिबेला तीजको हकमा चलेको वहस समेत यही हो । व्रत, पूजा, ध्यान, यज्ञ, आदि सबैका आ–आफ्नै महत्व छन् । जसको वैज्ञानिक पुष्टी समेत छ । मौलिकता र संस्कृतिमा हामी धनी हुँदा हुँदै पनि यसका केही छिद्रहरुमा टेकेर हाम्रा संस्कृतिलाई अपव्याख्या गरिँदैछ । जस्तै तीजलाई यसअन्तर्गत हुने ऋषि पञ्चमीको पूजालाई रजस्वलासँग जोडेर यसको अपव्याख्या गरिएको पाउँछु ।

जसरी राज्य सञ्चालनका लागि कामका आधारमा गरिएको वर्ण व्यवस्थालाई हिन्दु धर्मसँग जोडेर हिन्दुधर्मले छुवाछुत फैलायो भनेर अपव्याख्या गरिन्छ । त्यसकारण पनि अब हामीले ऋषि पञ्चमीलाई रजस्वलाको पाप पखाल्ने पर्व होइन कि रजस्वलाको पूजा गर्ने पर्वका रुपमा व्याख्या गरेर तीजको महिमा अझ बढाउनुपर्दछ । किनकी रजस्वलाबिना सृष्टि सम्भव छैन ।

धार्मिक स्वतन्त्रताको हकलाई नेपालको संविधानको धारा २६ ले समेत सुरक्षित गरेको परिप्रेक्षमा कसैले कसैको धर्म र आस्था माथि आँच आउने खालका कुराहरु गर्न वर्जित छ । अझ तीजका हकमा त संविधानको धारा ३८ मा रहेको महिलाको हकले समेत यसलाई थप मजबुद बनाएको छ । यी दुवै धारा नेपालको संविधानले मौलिक हक अन्तर्गत समावेश गरेको छ । जसको उल्लंघन÷हनन् भएमा उपचार अथवा क्षतिपूर्तिसम्मको व्यवस्था संविधानले नै गरेको छ । यसरी कानुनत सुरक्षित हकलाई कुनै लहड र बिना अध्ययनका भरमा अकुंश लगाउन खोज्दा यसको परिणाम गलत आउन सक्छ ।

संस्कार÷संस्कृति भनेका परिवर्तनशील हुन्छन् सभ्यताको विकाससँगै यसमा परिवर्तन आउनु स्वभाविक हो तर यसको सिमा नाप्ने औजार भने आजसम्म निश्चित छ जस्तो मलाई लाग्दैन । हिजोका दिनहरुमा महिलाहरु चाडपर्व मनाउन परिवारका अन्य सदस्यको मुख र आदेश मान्न विवश थिए भने आजभोलिका महिलाहरु आर्थिक र सामाजिक हिसाबले सक्षम हुँदै गएका छन् । उनीहरुलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्न कसैको आदेश र इसारा कुर्नु पर्दैन ।

आजका दिनसम्म आइपुग्दा रोजगार वा अन्य विभिन्न सिलसिलामा मानिसहरुको बसाइँ सराइँको दर गुणात्म ढगंले बृद्धि भइरहेको छ । कतिपयलाई आफ्नो घर र भाडाको कोठामा दर खाने खुवाउने तारतम्य मिलाउन सहज नहुन सक्छ । सबैले सबैकोमा जाने, नाचगान गर्ने, खानपान गर्ने र आत्मियता साट्ने काम सायद एकै दिनले प्रयाप्त नभएर नै हो दर खाने दिनहरु थपिएका । हो यी र यस्तै चालचलनको परिस्कृत रुप हो वर्तमानको तीज; होटल, पार्टी प्यालेस र रेस्टुरेन्टको तीज । तीज मात्र होइन हाम्रा थुप्रै परम्परा, चाल चलन र व्यवहारहरु सभ्यता र समयको विकाससँगै परिवर्तन भएका छन् । जुन सामाजिक विज्ञानले समेत स्वीकारीसकेको छ ।

कुन हदलाई संस्कृति र कुन हदलाई विकृति मान्ने, यो विषय मानिसको विवेकमा भर पर्छ । हुने र हुँदा खानेबीचको अन्तरलाई ख्याल गर्ने, गरगहना र पहिरनको दुरुपयोग नगर्ने, समयलाई ख्याल गनुपर्ने जस्ता कुरामा व्यक्तिले ध्यान दिनु पर्छ । जसमा सबै सचेत हुन जरुरी छ भने यसमा प्रशासनको काम भनेको आम जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकलाई संरक्षण गर्ने हो । जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने हो । समान ढंगले महिलाका सवालमा समेत हाम्रो जस्तो विकासोन्मुख देशमा प्रशासन अत्यन्तै सुझबुझका साथ अगाडि बढ्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया