पर्यटकले खोलिदिएको आँखाः हिमालय आँखा अस्पताल

समाधान संवाददाता २०७६ भदौ १२ गते १२:३८

समाधान संवाददाता
पोखरा

नेदरल्यान्डबाट नेपाल घुम्न आएको अनिता सिमोन्स र लिन्ड्रेट पार्लेभ्लिटको जोडी जुम्ला पुग्यो । जुम्लाको गाउँमा पुग्दा त्यहाँका नागरिकमा आँखाको समस्या देखेपछि जोडी अवाक भयो । अब केही गर्नुपर्छ भनेर स्वदेश फर्केको जोडीले च्यारिटीबाट सुरुको वर्ष १० लाख डलर संकलन गर्‍यो । अनि सुरु भयो आई केयर फाउन्डेसन नेदरल्यान्ड । त्यही फाउन्डेसनले नेपाल नेत्रज्योति संघसँग मिलेर पोखरामा हिमालय आँखा अस्पताल खोल्यो । त्यही अस्पताल अहिले गण्डकी र कर्णाली प्रदेशको ज्योति बनेको छ ।

नेपाल लगायत विश्वका १६ मुलुकमा आँखाको क्षेत्रमा सहयोग गर्दै आएको आई केयर फाउन्डेसन नेदरल्यान्डले ३५ वर्ष पार गरेको छ । यही अवसरमा फाउन्डेसनले नेपालका विभिन्न जिल्लामा उत्सव मनाएको छ । यही क्रममा पोखरा आएका फाउन्डेसनका संस्थापक लिन्ड्रेट पार्लेभ्लिटले हिमालय आँखा अस्पतालले गरेको प्रगति देखेर खुसी व्यक्त गरे । उनले भने, ‘३५ वर्ष वर्ष पहिला जे सपना देखेर हामीले नेपालमा काम थालेका थियोैं त्यही अनुसार काम भएको पायौं, यसले हामीलाई धेरै खुसी बनाएको छ ।

Advertisement

सन् १९८४ मा स्थापित फाउन्डेसनले पोखराको हिमालयमात्र होइन पूर्वको झापामा मेची आँखा अस्पताल खोल्न पनि सहयोग गरेको थियो । पहिला उपचार केन्द्रको रुपमा स्थापित हिमालय आँखा अस्पताल हाल शैक्षिक थलोसमेत बनेको छ । उक्त अस्पतलामा हाल ब्याचलर इन अप्टोमेट्री र मास्टर्स इन अप्टोमेट्रीका कक्षासमेत सञ्चालनमा ल्याएको चिफ मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनले बताए । उनका अनुसार पोखरा विश्वविद्यालयसँगको सहकार्यमा नेपालमै पहिलोपटक पोखरामा मास्टर्स इन अप्टोमेट्री कक्षा सञ्चालनमा आएका हो ।

आई केयर फाउन्डेसनका निर्देशक बिजोर्न स्टेन्भर्सले नेपाल र नेदरल्यान्डबीचको सम्बन्ध विस्तारका लागि समेत फाउन्डेसनले महत्वपूर्ण भूमिका खेलेको बताउँछन् । फाउन्डेसनको नेपालका लागि कन्ट्री डाइरेक्टर अनिल गोर्खाली ग्रामीण भेगमा रहेका आँखा उपचार केन्द्रको स्तरवृद्धि र जनशक्तिको क्षमता बढाउन सहयोग अझै जारी रहेको बताए ।

Advertisement

अस्पतालले सुरुका ५ वर्ष कमाएको सबै रकम फाउन्डेसनले अस्पतालको कोषमा राखिदिएको छ । त्यसपछिका १० वर्ष १० प्रतिशत कटाएर कोषमा राखिदिएको डा. महर्जनले बताए । त्यसपछि भने फाउन्डेसनले नेपाल नेत्रज्योति संघलाई उक्त अस्पताल पूरै हस्तान्तरण गरेको हो । नेत्रज्योति संघ कास्कीको व्यवस्थापनमा अस्पताल सञ्चालनमा छ । चिफ मेडिकल डाइरेक्टर डा. महर्जन भन्छन्, ‘अरु रोग लागे अन्यत्र जानुपरे पनि आँखाको उपचारमा पोखराले अन्यत्रकालाई निम्तो दिइरहेको छ । चस्मा लगाउन नपर्ने गरी गरिने रेटिना सम्बन्धी अप्रेसन सुविधा तिलगंगा आँखा अस्पतालमा मात्रै छ । नत्र आँखा सम्बन्धी समस्याको ९० प्रतिशत उपचार पोखरामै हुने उनले जानकारी दिए । अस्पतालको आफ्नै प्रयास र दातृ संस्थाहरुको सहयोगले आँखा उपचारमा हिमालय आँखा अस्पताल अब्बल रहेको दाबी डा. महर्जनको छ ।

१ तथ्यांक अनुसार मुलुकमा कुल जनसंख्याको १६ प्रतिशतलाई कुनै न कुनै आँखाको रोग छ । ३ प्रतिशत पूर्ण वा आंशिक दृष्टिहीन छन् । तर नेपालमा हाल १ सय १५ को हाराहारीमा आँखा विशेषज्ञ छन् । तीमध्ये जम्मा ३० जनामात्र डाक्टर काठमाडौं बाहिर छन् । कम्तीमा १ लाख जनसंख्या बराबर १ आँखा विशेषज्ञ हुनुपर्नेमा २ लाख बराबर १ जना मात्र उपलब्ध छन् । नेत्र सहायक र अन्य प्राविधिकसमेत पर्याप्त नहुँदा नागरिकले चाहेको अवस्थामा आँखाको उपचार पाउन सकेका छैनन् ।

तराईभन्दा पहाडी क्षेत्रमा आँखा उपचार समस्या बढी छ । आँखा उपचारका सुविधा तराई र सहरी क्षेत्रमा केन्द्रित भएकाले पहाडी भेगमा उपचार सुविधा सहज हुन सकेको छैन । पहाडी क्षेत्रमा राजधानीबाहिर पोखरामा हिमालय आँखा अस्पताल र पाल्पामा लायन्स लाकौल गरी २ मात्र अस्पताल छन् । बेलाबखत बस्ने आँखा शिविर र मुलुकका २९ ठाउँमा सञ्चालित आँखाको प्रारम्भिक उपचार हुने स्वास्थ्य केन्द्रले सक्दो सेवा दिँदै आएका छन् ।

नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङ हिमालय आँखा अस्पताललाई रिसर्च र जनशक्ति उत्पादनको केन्द्रको रुपमा विकास गर्दै आएको बताउँछन् । संघका सचिव सुरेन्द्र थापामगरले आँखा उपचारमा ख्याति कमाएको हिमालय आँखा अस्पतालमा बर्सेनि इन्टर्नसिपमा आउने विदेशी बाक्लै हुने बताए ।

उनका अनुसार बेल्जियम, नेदरल्यान्ड, बेलायत, अस्ट्रेलिया लगायत देशबाट बर्सेनि २५ जनाको हाराहारीमा इन्र्टनसिप गर्न आउने गरेका छन् । उनीहरुले नेपालीमा देखिएको आँखाको समस्या र यहाँ अपनाइएको उपचार विधिबारे सिकेर फर्कने गरेको थापा मगरको भनाइ थियो । हिमालय आँखा अस्पतालका लागि किनिएको ७० रोपनी जग्गामा हाल २६ वटा भवन छन् । गण्डकी प्रदेश सरकारले समेत उक्त अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया