—सम्पादकीय— पृनालाई प्रदेशको विश्वविद्यालय बनाऊ

समाधान संवाददाता २०७६ भदौ १९ गते १४:२०

पृथ्वीनारायण क्याम्पसले भदौ १७ गते अर्काे एउटा वार्षिकोत्सव मनायो । वार्षिकोत्सव कार्यक्रममा यो क्याम्पसलाई विश्वविद्यालय बनाउनुपर्ने माग र सुझाव प्रशस्त आए । २०१७ सालको भदौ १७ गते स्थापित यो क्याम्पसलाई विश्वविद्यालय बनाउने कुरा २५ सालदेखि नै उठेको संस्थापक क्याम्पस प्रमुख जोर्ज जोनले फेरि सम्झाए । पृनासँग सरोकार राख्ने, त्यहाँ पढेर विद्वान भएर देशलाई सेवा गरिरहेका सबैजसोले यसलाई विश्वविद्यालय बनाइनुपर्ने धारणा राख्दै आएका छन् । तर पनि किन कार्यान्वयन भएको छैन ? संशययुक्त प्रश्न छ ।

गण्डकी प्रदेश सरकारले प्रदेशको विश्वविद्यालय बनाउन कम्मर कसेको छ । विश्वविद्यालय खोल्न जमिन संघ सरकारले उसलाई दिएको छैन । पृनालाई नै विश्वविद्यालय बनाउँछु भन्दा उसले पृनाबाटै भनेजस्तो सहयोग पाएन । सबैले पृनालाई विश्वविद्यालय बनाऊँ भन्ने तर कामचाहिँ नहुने आखिर किन ? जोजो अहिले पृनामा प्राधिकार छन् तिनीसँग यो प्रश्नको जवाफ हुनुपर्छ । वा हिजोका प्राधिकार पनि । के तिनीहरु र अहिलेका प्राधिकार पृनालाई साँच्चीकै विश्वविद्यालय बनाउन पहल गरेका थिए वा छन् ? सुनिन्छ के भने अहिले त्रिभुवन विश्वविद्यालय मातहत हुँदा जेजस्तो गरी आफ्नै सुरमा क्याम्पस चलाउन पाइएको छ, त्यो पाइन्न भन्ने डर त्यहाँको प्राधिकारलाई छ ।

प्रदेश सरकार मातहत हुनेबित्तिकै नजिकबाटै निगरानी हुँदा बढी चेपुवामा परिन्छ, बढी काममा धस्सिनुपर्छ भन्ने मानसिकता त्यहाँका प्राध्यापकहरुमा पनि छ भन्ने त्यहींको स्रोत बताउँछ । खाइपाई आएका सुविधा के हुने होला भन्ने डर पनि छ । स्थायी भएकै भरमा अध्यापनमा ठगठाग गरी तलब थाप्ने दिनको अन्त्य हुने डर छ । त्यो आरोप सत्य हो कि भन्ने आधार पुष्टि गर्छ पृनामा प्राध्यापकहरुलाई डिजिटल हाजिरी अनिवार्य नहुनुले । अरु थुप्रै विकृति त्यहाँ छन् ।

Advertisement

हाला कि पृनालाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर प्रत्यायान प्रमाणपत्र (क्युएए) प्रदान गरेको छ । तर क्याम्पसमा गुणस्तरीय पढाइ नभएको प्रष्ट नतिजा छँदैछ । क्युएएको एउटा आधार गुणस्तरीय शिक्षा पनि हो, तर केहीबाहेक धेरै विभागको हालत चौपट छ । दसौं हजार विद्यार्थी भएको क्याम्पसबाट वार्षिक ७÷८ सय हराहारीका विद्यार्थीमा मात्रै उत्तीर्ण हुनु खास उपलब्धि होइन ।

पृनासँग जग्गा जमिन पनि प्रशस्त छ । स्थापना हुँदा नै पछि विश्वविद्यालयसमेत बनाउनुपर्ने हुने सक्ने भनेरै त्यतिका जमिन ओगटिएको छ । पृनामा भौतिक पूर्वाधार पनि राम्रै छ । विद्यावारिधि उपाधिधारी ३८ जना छन् । प्राध्यापक २५÷२६ जना छन् । विभाग ३२ वटा छन् । स्नातकोत्तर तहमा २० वटा विषयको पढाइ चलिरहेको छ । कर्मचारी तथा अध्यापकको वृत्तिविकास र निवृत्तीभरण लगायत सेवा सुविधाको ग्यारेन्टीसमेत हुने गरी पृनालाई विश्वविद्यालय बनाउन सकिन्छ । प्रदेश सरकारले पहल गरोस् ।

Advertisement

तपाईको प्रतिक्रिया