सुरक्षा व्यवस्था कडा बनाऊ

समाधान संवाददाता २०७६ कार्तिक २५ गते १४:१६

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनको दिन नजिकिँदै गएको छ । दलहरु मतदातालाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भनेर लागी गरेका छन् । कोणसभा, घरदैलो देखि भेटघाटलाई तीब्र बनाएका छन् । निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिम्मेवारी अनुसार कर्तव्य निर्वाह गरिरहेका छन् । अनि स्थानीय प्रशासनले शान्ति सुरक्षाको बारेमा तयारी गरेको छ । त्यसो त माओवादी द्वन्द्व चलिरहेका बेला समेत नेपालमा चुनाव भएकै हो । त्यतिबेला सुरक्षा चुनौती गम्भीर नै थियो । अहिले त मुलुकका केही निर्वाचन क्षेत्रमा मात्र चुनाव हुने हो, सुरक्षाकर्मीको संख्या पर्याप्त छ । सुरक्षा व्यवस्था कडा पार्न सरकार प्रतिबद्ध त । त्यही अनुसारको रणनीति बनाएर गृह प्रशासन अगाडि बढिरहेको छ । चुनावमा सेना परिचालनका लागि सरकारले निर्णय गरिसकेको छ । सेना, सशस्त्र र नेपाल प्रहरी रहने गरी ३ तहको सुरक्षा योजना तयार भइसकेको छ ।

कास्की क्षेत्र नम्बर २ उपनिर्वाचनका ३२ मतदान स्थलहरुमा जिल्ला सुरक्षा समिति कास्कीले सुरक्षा दृष्टिले ७ वटा मतदान स्थललाई अति संवेदनशीलको रुपमा पहिचान गरेको छ पोखरा महानगरका ११ वटा वडाका विभिन्न ३२ मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा समितिले विशेष निगरानी बढाउने तयारी पनि भइरहेकौ छ । ८ वटा संवेदनशील र बाँकी १७ वटा मतदान स्थल सामान्य रहेकाले त्यही अनुसारको रणनीति तय गरेर काम भइरहेको छ । भौगोलिक विकटता, राजनीतिक दलको प्रतिस्पर्धा र निर्वाचन बहिष्कार गर्ने समूहहरुका गतिविधिका आधारमा सुरक्षा विश्लेषण गरिएको हो । विकट भूगोल, राजनीति प्रतिस्पर्धा, विरोधी समूहको उपस्थिति हुन सक्ने स्थललाई अति संवेदनशीलको रुपमा लिइएको छ । कास्की क्षेत्र नम्बर २ मा ११ वडा छन् । तीमध्ये वडा १६, २०, २१, २२ का अधिकांश भू–भाग भौगोलिक रुपले केही विकट छन् । भौगोलिक असहजताको फाइदा उठाउँदै निर्वाचन बहिष्कार गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) समूहले मतदातालाई डर÷त्रास फैलाउन सक्ने आशंका सुरक्षा निकायको छ ।

सुरक्षाकर्मीको उपस्थितिले मात्र सुरक्षा अवस्था चुस्त छ भनेर भन्न सकिने अवस्था रहँदैन । मनोनयन पत्र दर्ता गराउने दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भयो । कस्सो उक्त विस्फोटमा मानवीय क्षति हुन पाएन । निर्माणाधीन पर्यटन बसपार्कको माटोको थुप्रोमा भएको विस्फोटले मानवीय क्षति नपु¥याए पनि जनमानसमा त्रास भने पक्कै फैल्यायो । मानिसको आवतजावत भएरहने, अनि सरकारी कार्यालयहरुको नजिकै मात्र होइन कि सुरक्षा निकायका कार्यालयको नजिकै भएको यो घटनाले वास्तवमै ठूलो चुनौती दिएको छ । सुरक्षाकर्मीहरु एकातिर व्यस्त भएका बेला आँखा छलेर हुने यस्ता घटनाले आमजनमानसमा नराम्रो छाप पारेको हुन्छ । त्यसो त उक्त बम विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले विप्लब समूहका १ जनालाई पक्राउ पनि गरिसकेको छ । यस्ता गतिविधिमा संलग्न हुने आशंकामा रहेकाहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिइरहेकै छ । वार्ता गर्ने भन्दा पनि दबाउने सरकारी नीतिका कारण विप्लव कार्यकर्ताहरु झन् आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । जेजसरी हुन्छ मंसिर १४ मा भयरहित तरिकाबाट मतदातालाई भोट खसाउने वातावरण बनाउनु प्रहरी प्रशासन चुक्नु हुँदैन ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया