ओखर खेतीबाट १० लाखसम्म आम्दानी

समाधान संवाददाता २०७६ कार्तिक २९ गते १३:१६

एसके थकाली
जोमसोम

मुस्ताङको थासाङ २ लार्जुङमा व्यावसायिक ओखर खेतीतर्फ किसान आकर्षित भएका छन् । २०२५ सालदेखि उक्त क्षेत्रमा परीक्षणका रुपमा गरिएको ओखर खेती राम्रो भएपछि ७० घरधुरीले ओखर खेती गर्न थालेका हुन् ।

समुन्द्री सतहदेखि १६ सय मिटर उचाइको सुख्खा चिसो भूगोलमा ओखर खेती उपयुक्त हुन्छ । सुख्खा चिसो स्थान र उपयुक्त हावापानीका कारण लार्जुङमा ओखर खेती योग्य भएको हो । ओखर खेतीका लागि हावापानी सुहाउँदो मुस्ताङको लार्जुङमा मार्फास्थित शीतोष्ण बागवानी विकासमा कार्यरत तत्कालीन कृषि विज्ञ बुद्धिरत्न शेरचनले ओखर खेती सुरु गरेका थिए । त्यहाँ शेरचनले दाँते जातको ओखर परीक्षण खेती सुरु गरेको स्थानीय अशोक गौचनले बताए । ओखर खेतीको सुरुआतपछि त्यस भेकका गाउँहरु कोवाङ, खन्ती, नाउरीकोट, सौरु र नाकुङ लगायत गाउँमा ओखर खेती गरिएको गौचनले सुनाए ।

Advertisement

लार्जुङ लगायत आसपासका स्थानीयले ५ देखि २५ वटासम्म ओखरका बोट रोपका छन् । ‘झन्डै ५ दशकअघि सुरु भएको ओखर खेती सफल हुनेमा कसैलाई पत्यारै थिएन, कतिले लगाए, कतिले रेखदेख नै गरेनन्,’ गौचनले भने, ‘केही वर्षपछि ओखर फल्न थालेपछि सबैको चासो बढ्यो, घरको करेसाबारी र खेतको कान्लामा ओखर लगाउन थाले ।’ उक्त समय कृषि विज्ञ हिराचनले केही स्याउ र ओखरको बोट लगाउन स्थानीयलाई सुझाएको स्थानीय गौचनको भनाइ छ ।

लार्जुङ लगायतका गाउँमा व्यक्तिगत रुपमा ओखर खेती गरिएको भए पनि स्थानीय आमा समूहले सामूहिक ओखर खेती गर्न अग्रसरता देखाएका छन् । लार्जुङ पूर्व कालीगण्डकी किनारामा तटबन्ध र तारजाली लगाई १ सय २० वटा ओखरका बेर्ना लगाइएको छ । अतिरिक्त आम्दानीको स्रोत बनेको ओखर खेतीबाट प्रत्येक घरधुरीले ५० हजार देखि १० लाख सम्म आम्दानी गर्छन् । बर्खे खेतीको रुपमा रहेको ओखर भदौ–असोजमा पाक्ने गर्छ । बेर्ना रोपेपछि अरु खेती जस्तो खासै ठूलो झन्झट गर्नु पर्दैन । शीतोष्ण बागबानी विकास केन्द्र मार्फाका वरिष्ठ अधिकृत बालकृष्ण अधिकारीले ओखरलाई बोरोन सूक्ष्म मल आवश्यक हुने बताए । वागवानी विकास केन्द्रले बर्सेनि २ हजार ओखरका बिरुवा उत्पादन गर्ने गरेको उनले जानकारी दिए ।

Advertisement

ओखरको पकेट क्षेत्र भए पनि स्थानीयले ओखर खेतीबारे प्राविधिक सहयोग र ज्ञानको सुविधा नहुँदा समस्या परेको छ । प्राविधिक सहयोगको अभावले एकै प्रकारको ओखर उत्पादन नभई सानो, ठूलो र मसिनो फल्ने गरेको स्थानीय बुद्धिसिंह नेपालीले जानकारी दिए । पछिल्लो समय मुस्ताङको ओखर कोसेलीको रुपमा बिक्री हुन थालेको छ । स्वादिलो र खाँदा कमलो हुने भएकाले मुस्ताङ आएका पर्यटकले स्थानीय ओखर मन पराएका हुन् । ओखरमा मिनरल, एन्टी अक्सिडेन्ट र भिटामिन जस्ता पोषक तत्व पाइन्छ ।

नेपालले बर्सेनि छिमेकी देश चीनबाट करिब १७ करोडको ओखर आयात गर्ने गर्छ ।

तपाईको प्रतिक्रिया