विवेकशीलकी जमुनाः गुलाफ देखाउँदै भोट माग्दै

समाधान संवाददाता २०७६ मंसिर ११ गते १३:४२

अमृत सुवेदी
पोखरा

पोखरा–११ एउटा चोक छ, भानुचोक । भानुभक्तको शालिकसँगैका पार्कनजिकै रोकिएको छ झण्डासहितको एउटा गाडी । पार्कजनिकै स्टान्डमा देखाइएको छ प्रचार सामग्री । बाटो आउजाउ गर्नेहरु एकछिन्, हेर्छन् , जान्छन् । गाडी आसपास कोही मान्छे छैनन् । तर, गाडीबाट बजिरहेछ, एउटा गीत ।
कास्कीमा गुलाफको फूल
भोट हाल्न कसैले नभुल

यो विवेकशील नेपाली दल समर्थित जमुना शर्माको चुनावी प्रचार अभियानको एउटा दृश्य हो । चुनाव नजिकिएसँगै ठूला सभा र हल्लखल्लाबीच प्रतिस्पर्धाको रापताप बढी नै छ । दलहरुबीच आरोप–प्रत्यारोपको घोचपेच चलि नै रहेको छ । ११ गते बुधबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । त्योभन्दा अगाडि विभिन्न दलहरुले तीब्र प्रचार गरिरहेका छन् ।

Advertisement

विवेकशील समर्थित जमुनाको चुनावी प्रचार भने फरक देखियो । विवेकशील नेपाली दल दर्ता नभएका कारण जमुना कास्की क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार भइन् । चुनावी अभियानमा विवेकशीलका नेताहरुसहित घरदैलो गरिरहेकी छन् । भानुचोकबाट २ समूहमा बाँडिएर विवेकशीलले घरदैलो गर्दै रहेछ । भानुपार्क नजिकै चौतारीमा बसेका १ जना व्यक्तिले इसारा गरेतिरबाट केही पर पुग्दा रञ्जु दर्शनासहितको एक टोली भेटियो ।

विवेकशीलकी नेतृ रञ्जु चौतारीमा बसेर २ युवालाई सम्झाउँदै थिइन्, ‘तपाईंहरुले यसअगाडि पनि भोट त हाल्नु भएकै हो । अब त्योभन्दा अगाडि तपाईंका बुवाआमाले पनि भोट हालेर जिताउनुभएकै हो । तर, हेर्नुस् त, खै देश बदलियो त ?’ रञ्जुले विवेकशील युवाहरुको पार्टी भएको बताउँदै यसपाली जमुना शर्मालाई भोट हाल्न आग्रह गरिन् ।

Advertisement

‘राजनीतिप्रतिको दृष्टिकोण बदल्ने युवाले नै हो । त्यसैले अहिलेको पार्टीलाई ठीक ल्याउने अब तिमीहरु सच्चिएनौं भने अर्को पार्टी आउँछ भनेर देखाउने बेला हो,’ रञ्जु भन्दै थिइन् । ती युवा रहेछन्, रवीन प्रधान र अर्जुन गुरुङ । उनीहरुले भोट हाल्ने सहमति जनाउँदै शुभकामना दिए ।

त्यहीं नजिकै अर्का २ ज्येष्ठ नागरिक थिए । उनीहरुले विवेकशीलबारे पत्रिका र टिभीमा देखेको बताए । रञ्जुले यसपटक विवेकशीलको पक्षमा भोट हाल्न आग्रह गर्दा उनीहरुले टाउको हल्लाउँदै सहमति जनाइन् ।

जमुनाको पक्षमा चुनावी अभियान चलाउन र घरदैलो गर्न विवेकशील नेतृ रञ्जु १६ दिनदेखि पोखरा छिन् । उनी घरघर पुगेर जनतालाई सम्झाउने यसपटक वैकल्पिक शक्ति अनि युवाहरुको पार्टीलाई भोट आग्रह गर्छिन् ।

जनताको घरघर पुग्दा उनले के बुझिन् त ? पुरानै राजनीतिक चेत छ कि केही मतदाताको मानसिकता पनि बदलिएको छ ? यसबारे रञ्जुले घरदैलोको अनुभव सुनाइन् । ‘पहिलो कुरा त घरघर पुगेर पार्टीका विषयमा बुझाउन पाइयो । पहिलेजस्तो कुरै सुन्न नखोज्ने जनता देखिएनन् । अर्कै पार्टीको झण्डा फरफराइरहेका घरमा मतदाता पनि ध्यान दिएर अरु पार्टीका कुरा सुन्ने भएछन्,’ रञ्जुले सुनाइन्, ‘अभिमत जता जाहेर पनि कुरा सुन्नु र बुझ्न खोज्नु भनेको पनि समाज अन्धभक्तभन्दा माथि उठ्नु हो । मान्छेले नयाँ वैकल्पिक पार्टीको खोजि चाहिँ मैले महसुस गरें ।’

जनतामा पैदा भएको निराशा भने सबै पार्टीले सिक्नै पर्ने र बुझ्नै पर्ने अवस्था आएको रञ्जुको भनाइ छ । ‘राजनीतिबाट मतदाता टाढिएको हो कि भन्ने पो मैले महसुस गरें,’ उनले सुनाइन्, ‘यो हाम्रो त्यति ठूलो बेस भएको ठाउँ पनि होइन । ठूला पार्टीले यहीँबाट राजनीति गरे । कति जना मतदाता त हामीसँग आएर रुनु नै भएको छ । लोकतन्त्रमा यो चाहिँ राम्रो कुरा होइन ।’

यो निर्वाचनलाई अहिलेको सरकारको पक्षबिपक्षको मिनि संग्रहको रुपमा हेरिएको छ । तर, कास्कीको यो निर्वाचन प्रत्येक पार्टीको हैसियत पत्ता लगाउने परीक्षा पनि हो । विवेकशील दल कास्कीमा कहाँनेर छ अहिले भनेर हेर्न र आफ्नै परीक्षामा समेल हुन पनि यो चुनावमा सहभागी भएको उनले बताइन् ।

भास्कर स्कुलको आसपासमा विवेकशील समर्थित जमुना शर्माको घरदैलो चलिरहेको रञ्जुले बताइन् । भास्कर स्कुलको नजिकै रहेको एउटा किराना पसलनेर नेपाली झण्डा लिएर बसेका केही मान्छेको समूह देखियो । त्यही रहेछ उनीहरुको घरदैलो । न आसपास ठूलो आवाजमा भोट माग्दै हिँड्ने मान्छेको समूह छ, न कुनै ब्यानर ।

जमुनाको हातमा छ, गुलाफको फूल, चोलो र सारीमाथि कोट र कोटमाथि पनि गुलाफको फूल । केही युवाका हातमा चुनावी एजेन्डासहितको पर्चा छ र उनीहरुले त्यही पर्चा दिँदै भोट मागिरहेका छन् । देशको राजनीति मन पिरोलेपछि आफैं राजनीतिमा होमिनुपर्छ भनेर युवाहरुको पार्टी रोजेर अहिले उम्मेदवारका रुपमा मैदानमा आएको जमुनाले सुनाउँदै थिइन् । ‘म सामाजिक क्षेत्रमा क्रियाशील थिएँ । देशमा व्याप्त निराशा देखेपछि राजनीतिमा लागेर केही गर्नुपर्छ भनेर आएकी हुँ,’ जमुना गुलाफ फूल देखाउँदै भन्दै थिइन्, ‘यसअघि तपाईंहरुले धेरै पटक पुराना पार्टीलाई भोट हाल्नुभयो । यसपाली गुलाफमा हाल्नुस् ।’

पोखरा बैदाम घर भएकी जमुना समाजिक परामर्शदाताको रुपमा पनि काम गर्थिन् । उनले त्यो क्षेत्रमा काम गर्दा समाज अझै नजिकबाट बुझेको बताउँछिन् । महिला अधिकारको क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिका खेल्दै आएकी सामाजशास्त्र र राजनीति शास्त्रकी विद्यार्थी हुन् ।

जमुनाले घरदैलोको अनुभव सुनाइन् । पहिलो पटक चुनावी स्वाद लिँदै गरेकी जमुना राजनीतिमा केही समयपछि परिवर्तन आउने र जनताहरुले विस्तारै विकल्पको खोजी गर्ने बताउँछिन् । ‘पुराना पार्टी राम्रा भइदिएको भए । न विवेकशील बन्थ्यो । न म राजनीतिमा आउनुपथ्र्यो,’ जमुनाले सुनाइन्, ‘भइरहेका पार्टी भ्रस्टाचार, कुशासन र विभिन्न बाहानामा जनता झुक्याउने, कमिसन र पैसाको वरिपरिमात्रै घुम्ने गरेकै कारण पो हामी पाउनु परेको । यो कुरा विस्तारै जनताले बुझ्दैछन् ।’

विवेकशील पार्टीको सिद्धान्त र विचार मिलेका कारण र एउटा सुसंस्कृत राजनीतिको सुरुआत गरेका कारण त्यसैसँग जोडिएर राजनीतिमा होमिएको जमुनाले बताइन् । घरदैलोमा युवाहरु भेटिन्छन्, जमुनाको प्रचार टोली युवाहरुकै पार्टी हो भन्दै बुझाउँछन् । ज्येष्ठ नागरिकलाई हिजो भोट हालेर गएका नेताले केके गरे, केके गरेनन् एक सोचेर नयाँ पिडीलाई माया गर्न आग्रह गर्छन् ।

सचेत युवाहरु राजनीतिमा हस्तक्षेत्र गर्ने गरी आउनुपर्ने घरदैलोमा हिँडेका अलोक सुवेदी बताउँछन् । ‘म राम्रो देशमा ५ लाख तलब सुविधा छोडेर जे गर्ने हो, देशमै गर्ने हो । राजनीति पनि अब युवाले नै गर्नुपर्छ भनेर आएको हुँ,’ विवेकशीलका केन्द्रीय सदस्य सुवेदीले सुनाए, ‘म जम्मा ३३ वर्ष भएँ, हाम्रो अध्यक्ष मीलन पाण्डे त जम्मा ३१ वर्षका छन् । यी युवा त्यसै राजनीतिमा होमिएका त होइनन् नि ।’

नेकपाबाहेक अरु पार्टीको जस्तै चुनावी एजेन्डा विवेकशीलको पनि झण्डै उस्तै नै छ । शिक्षा, स्वास्थ्य, सुशासन, यातायात, पूर्वाधारमा केन्द्रित एजेन्डा नै हो । उनीहरुको मुख्य जोड राजनीतिलाई गाली गरेर बस्ने होइन, युवाहरु नै राजनीतिमा होमिनुपर्ने बताउँछन् । मंगलबारदेखि विवेकशील संयोजक पाण्डे पनि घरदैलोमा छन् । पुरानो पार्टीबाट निराश जनता वैकल्पिक शक्ति चाहिन्छ भन्ने स्थिति देखेको बताउँछन् । यो निर्वाचन जनता र विवेकशीलका निम्ति पनि एउटा कोशे ढुंगा हुने उनको पनि विश्वास छ ।

पहिले साझा विवेकशील एउटै पार्टी थियो । अहिले कास्कीमा साझा र विवेकशील बेग्लाबेग्लै चुनावी अभियानमा छ । यी २ पार्टीका निम्ति पनि यो चुनावको अगाडि हुने भन्ने यो चुनावले देखाउने पनि छ । चुनावी टोली पनि आफ्नो प्रतिस्पर्धी कोही नभएर अव्यवस्था, बेथिति, भ्रस्टाचार, कुशासनजस्ता कुरासँगमात्र प्रतिस्पर्धा रहेको बताउँछन् । उनीहरु घरदैलोमा पहिले कुन पार्टीलाई मत दिएको सोध्छन् अनि भोट माग्छन् । दोहो¥याएर सोध्छन् र हिँड्नेबोला भन्छन्, ‘ल है त हजुर यसपालि गुलाफमा भोट, पुराना र भ्रस्टाचारीलाई चोट ।’

तपाईको प्रतिक्रिया