मुस्ताङको लोघेकरमा बिजुली

समाधान संवाददाता २०७६ मंसिर १८ गते १७:१७

एसके थकाली, जोमसोम

हिमाली जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका–४ अन्र्तगतको दुर्गम बस्तीहरु यारा ,घारा ,ढि र सुर्खाङमा एकैसाथ नेपाल बिद्युत प्राधिकरणले केन्द्रिय प्रशारण लाईन बिस्तार गरेपछि स्थानीयबासी उत्साहित भएका छन् । यसअघि सामान्य प्रकारको सोलार र ईन्भटरको सहयोगमा उज्यालो पूर्ति गर्दै आएका स्थानीयले केन्द्रिय लाईन पुगेपछि बिद्युतबाट लिन सकिने सबै सुविधा पाउने भएका हुन् ।

नेपाल बिद्युत प्राधिकरण तथा लोघेकर दामोदरकुण्ड गाउपालिकाको भौतिक र आर्थिक सहयोग तथा निलगिरि उपभोक्ता सहकारी संस्थाको प्राविधिक सहयोगमा लोघेकरका ४ गाउमा बिजुली पुर्‍याईएको हो । गाउमा केन्द्रिय प्रशारण लाईनको बिजुली बलेपछि यारा,घारा,ढि र सुर्खाङ गरी ७० घरधुरी लाभान्वित भएको वडा ४ का अध्यक्ष हिरा बिष्टले जानकारी दिए । ४ गाउमा बिजुली पुर्‍याउन नेपाल विद्युत प्राधिकरणले ३ सया थान पोल बिस्तार गरेको थियो भने यसको ढुवानी खर्च पालिकाले व्यवहोरेको थियो । घरको सबै वयरिङ खर्च सेवाग्राही आफैले खरिद गरेका वडाअध्यक्ष बिष्टले सुनाए ।

Advertisement

उनका अनुसार गाउमा बिजुली बत्ती पुगेपछि उज्यालोका साथै टेलिभिजन हेर्न, खानेपानी तताउन, बत्ती बाल्न, साना उद्योग धन्दा संञ्चालन गर्न, मोवाईल चार्ज गर्न र कम्प्युटर चलाउन समेत सजिलो भएपछि स्थानीयबासी उत्साहित भएका छन् । स्थानीयले दाउरा र ग्यासको बिकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् । यस्तै उनीहरुले फर्निचर, कुखरा र पशुपालनका लागि थप योजना बनाउन थालेको वडाअध्यक्ष बिष्टले बताए ।

२ वर्षअघि लोघेकर दामोदरकुण्ड गाउपालिकामा बिद्युत बिस्तार भएको थिएन । गत वर्ष नेपाल बिद्युत प्राधिकरण र गाउपालिकाले मिलेर वडा २ को घमी, ढाक्मर र वडा नम्बर ३ को घिलिङ स्यावचे, झैते, छुङ्गा र तामागाउमा बिजुलीको पहुँच पुर्‍याईएको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । अर्को वर्ष गाउँपालिकाको वडा ५ र १ को चराङ र मराङमा केन्द्रिय प्रशारण लाईन पुर्‍याउने योजना रहेको गाउँपालिकाका अध्यक्ष बिष्टले बताए । मराङ र चराङमा लोकल हाईड्रो पावर संञ्चालनमा रहेपनि बिजुलीबाट लिन सकिने सबै सुविधा पर्याप्त नभएको अध्यक्ष बिष्टले खुलाए ।

Advertisement

उत्तरी कोरलानाका संग सीमा जोडिएको लोमान्थाङ गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाईन अझै पुगेको छैन । गाउँपालिकाका अध्यक्ष बिष्टले लोघेकरमा बिजुली बिस्तारपछि कोरला सम्म विद्युत बिस्तार गर्न प्राधिकरणलाई सहज हुने उल्लेख गरे । पर्खालले घेरिएको लोमान्थाङ बजारमा चिन सरकारबाट सहयोग प्राप्त १७ केबीको सौर्य उर्जा सञ्चालनमा छ भने अमेरिकन सहयोगी संस्थाले निर्माण गरेको माईक्रो हाईड्रो बन्द छ ।

तपाईको प्रतिक्रिया