‘सरकार रिजल्टमात्रै खोज्छ, परीक्षा तयारी गर्न चाहँदैनः रुविना क्षेत्री

समाधान संवाददाता २०७६ मंसिर २२ गते ११:५०

विकास रोकामगर/युनिश गुरुङ
पोखरा

स्वर्ण सपना बोकेर सागमा होमिएको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली माल्दिभ्सलाई हराएर काश्य पदकमै सीमित हुन पुगेको छ । साग खेलका दौरान नेपालले विभिन्न ४ विश्व रेकर्ड नै कायम गर्न सफल भयो । तर, बलियो मानिएका टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेश र श्रीलंकासँग ४ महिने लामो अभ्यासपश्चात ‘नेपाल कहाँ छ ?’ भनेर आफूलाई जाँच्ने मौका पनि यही साग थियो ।

ती दुवै राष्ट्रसँग हार ब्यहोरेपछि नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान रुविना क्षेत्रीले समाधानसँग आत्मसमीक्षा गरेकी छिन्, ‘आखिर कहाँ रहेछौं त हामी ?’ बाँकी उनकै शब्दमाः

Advertisement

श्रीलंकासँग हारसँगै हाम्रो सागमा फाइनलमा पुग्ने यात्रा रोकियो । त्यसबाट केही डिस्अपोन्टमेन्ट छौं । प्लानवाइज १२०÷२५ मै प्याकअप गर्छौं भन्ने सोचेका थियौं । त्यो किसिमको इफोर्ट र स्टार्ट पनि भएको हो । तर अन्तिमतिर आएर हामी चुक्यौं । फिल्डिङमा चुक्यौं ।

ब्याटिङमा जुन किसिमको हामीले भनेका थियौं, त्यो म्याच एक्स्पोजरको कमीले पूरा हुन पाएन । देशका लागि यत्रो महिना सेक्रिफाइज गरेर खेलेका छौं । हार्छाैं भनेर हामी खेल्ने कुरा हुँदैन । जित्ने त प्रत्येक खेलाडीको चाहना नै हुन्छ ।

Advertisement

खासमा भन्नुपर्दा हामीले उनीहरुसँग खेल्न पाउनु नै ठूलो कुरा हो । जित निकाल्न सकेको भए आफैंमा बेस्ट हुन्थ्यो । तर, बेटर क्रिकेट त खेल्नु पर्‍यो नि ! सेक्रिफाइजेज् इज अलट के । ४ महिना क्याम्पमा बस्यौं । एउटामात्रै कमजोरी के हो भने म्याच एक्स्पोजरको कमीले कहाँ कसरी आफूलाई सम्हाल्ने÷ढाल्ने भन्ने जानेनौं ।

हुन त सबै कुरा पर्फेक्ट हुँदैन । तर, साग हुनुभन्दा अघि कम्तिमा ५÷६ वटा म्याच खेल्न पाएको भए प्लस प्वाइन्ट हुन्थ्यो । बीचमा भएको डक्लुसिएलले हेल्प गर्‍यो, त्यो आफैंबीचमा भएकाले त्यतिधेरै महत्वपूर्ण दिएन ।

राम्रो टिमसँग खेल्नलाई त हामीलाई स्ट्रङ टिमसँग भिड्नुपर्‍यो नि । त्यतिबेला उनीहरुसँग राम्रो अभ्यास गरेर सागमा हारेको भएपनि यति धेरै डिफिकल्टी हुँदैन थियो भन्ने मलाई लाग्छ । टेस्ट राष्ट्रसँग हार्‍यौं । तर, माल्दिभ्स कमजोर टिम भएर जितेको भन्ने पनि हुँदैन ।

सबैभन्दा पहिलो आफूले कुन वातावरणमा खेलिरहेको छु त्यो महत्वपूर्ण हुन्छ । यस पटकको खेलका लागि हाम्रो मेहेनतमा कुनै पनि शंका छैन । प्लेयर्सलेमात्रै होइन, कोचिङ स्टाफदेखि सबैले धेरै मेहेनत भएको छ । खास कुरा त एउटा टुर्नामेन्टका लागि मात्रै ४ महिना दिएर हुँदैन नि त । मैले कस्तो क्रिकेट खेल्दै छु भन्ने कुराले पनि खेलमा प्रभाव पार्छ । हामीले कसरी सम्झौतासहित खेलिरहेका छौं त्यो पीडा हामीलाई मात्रै थाहा छ ।

यो पछिल्लो २ वर्षमामात्रै हो हामी चिनिएको । टेस्ट कन्ट्रीसँग जुध्नै नसक्ने आरोप आएको छ । कुरो त्यस्तो होइन्, त्यो किसिमको घरेलु वातावरण, एक्स्पोजर, सुविधा पाउनु पर्‍यो नि त । खेलाडी चाहियो । यो सिनियर टिमबाहेकको अर्को टिम ल्याएर हेरे हुन्छ नेपालमा महिला क्रिकेटको स्थान कहाँ छ ? जति खेल्दै छौं हामीबीचबाटै खेल्दै छौं ।

खेलाडीको पोटेन्सियल र स्तर चिन्न त उनीहरुलाई त्यही अनुसारको सुविधा, व्यवस्थापन गर्नुपर्‍यो नि । हामीसँग तलब छैन । घरको पैसा ल्याएर पुर्‍याइरहेका छौं । खेलमा लागेको यत्रो वर्ष भइसक्यो पाएको केही छैन ? योचाहिँ हाम्रो संघर्ष होइन ? संघर्ष पछिको उपलब्धी खोइ त ?

जीवनका सुन्दर १०÷१२ वर्ष यही क्रिकेटमै बितायौं । केही चिज क्रिकेटबाट पायौं पनि होला । त्यो अनुसार हामीले दिन सकेका छैनौं होला । तर, खोइ त हामीलाई ‘पुस’ गर्ने मान्छे ? पुस गराउनुस् हामी तयार छौं । यो भनेको हाम्रो क्रिकेट प्रतिको माया नै हो ।

अहिले हामी टेस्ट कन्ट्रीसँग हार बेहोर्‍यौं । तर, हारलाई मात्रै नहेरिदिनुस्, पहिलेको र अहिलेको नतिजालाई एकपटक केलाइदिनुस् त, सुधार भएको छैन त ?

माल्दिभ्स विक कन्ट्री हो । तर, रेकर्ड भन्ने कुरा ठट्टामा आउने कुरा होइन । १७ रनमा अलआउट गर्नु, ६ विकेट बिना कुनै रन प्राप्त गर्नु त्यो सफलता नै हो । खेलाडीले ब्याट र बल खेलाउनै नसकेर पाएको त होइन नि ?

यो समयमा हामीलाई यही खेल महत्वपूर्ण थियो । यो खेलबाट हामीले शिक्षा लिएका छौ । क्लालिपाएर खेलमा कमजोरी सुधार्न पनि धेरै महत्वूपर्ण भूमिका निभाएको छ । आगामी दिननमा क्यानले इन्डिया र पाकिस्तानसँग म्याच एक्स्पोजर मिलाइदिन्छ भन्ने पनि विश्वास लिएका छौं ।

सरकारले जहिल्यै महिला क्रिकेटरले यो भन्छन्, त्यो भन्छन्, भन्नुभन्दा पनि महिला क्रिकेटमा के खाँचो छ बुझिदिनुपर्छ । एकपटकमात्रै आएर हामीसँग बसेर खेल हेरिदिए हुन्थ्यो कि कति दुख र आँशु बगाएर खेलिरहेका छौं । मान्छेले बाहिरबाट यो त्यो भन्छन्, तर भित्री पीडा त हामीसँगै छ नि कि यहाँसम्म आइपुग्न केके करा त्याग्यौं भन्ने ।

धेरै भनेका छैनौं – कम्तिमा वर्षभरि व्यस्त राखिदिए आफूलाई सुधार्ने मौका पनि पाउँथ्यौं । राखेप क्यानमा र क्यान राखेपमा निर्भर नहोस् । दुवैले आआफ्नो तरिकाले कार्यक्रम गर्ने बित्तिकै हामीसँग एकैचोटी २ वटा अवसर हुन्छ । प्रदेश वा स्थानीय तहले अहिले त आफै टुर्नामेन्ट गर्ने हैसियत बनाइसकेको छ त किन गर्न सक्दैन ? हामी जहिल्यै त्यही २ महिना, १५ दिनको क्याम्पमा डिपेन्ड भयौं ।

सरकारले व्यवस्था गरिदिनुपर्नेमा बाहिरी देश जानेबेला पनि आफ्नै गोजीबाट पैसा हालेर जानुपर्छ । इन्डिया, बंगलादेश जानेबेला पनि आफैं पे गरेर पुग्नुपर्छ । यो त सबैले सक्दैनन् नि । त्यो त सरकारले बुझिदिनुपर्‍यो नि । अहिले ४ महिना क्याम्प बस्दा खेलाडीमा राम्रो सुधार आयो । यदि सरकारले वर्षैभरि व्यस्त बनाइराख्ने हो भने त चाँडै नेपाली महिला क्रिकेटमा राम्रो सुधार आउँछ । राम्रो नतिजा खोज्नेले त्यही अनुसार तयारीको व्यवस्था पनि त गरिदिनुपर्‍यो नि ।

इमान्दरा भएर भन्नुपर्दा खेलमा कत्ति पनि भविष्य छैन । त्यही भएर योङ जेनेरेसनलाई पनि केही भन्न सकिरहेकी छैन । १२ वर्षदेखि एउटै खालको संघर्ष गरिरहेका छौं भने उनीहरुलाई कसरी खेल क्षेत्रमा आऊ भन्न सक्छु त ? पढाइ छोडेर खेल त भन्न सक्दिनँ नि ?

पढाइ छोडेको अहिले दुख लाग्छ । ४ वटा क्रिकेट टुर यसरी जुध्यो कि मैले ब्याचलर लेबलका कुनै पनि परीक्षा दिन पाइनँ । त्यो सेक्रिफाइज त हामीलाईमात्रै थाहा छ । योङ जेनेरेसनलाई तैंले पढाइ छोड्, अर्को अवसर छोड्, क्रिकेट खेल त कसरी भन्नु ? आफै डामाडोल अवस्थामा छौं ।

तर, छ नि ! राज्य सधैं भन्छ, ‘आउनुस्, तपाईंहरुको भविष्य हामी बनाउँछौं । त्यसरी मिडियामा नबोलिदिनुस् ।’ तर, खोइ त ? १२ वर्षदेखि एउटै आश्वासनमात्रै पाइरहेका छौं । उपलब्धी त्यही आश्वासनमात्रै त हो ।

तपाईको प्रतिक्रिया