पोखरामा पहिलोपटक न्युरोसर्जरी सम्मेलन

समाधान संवाददाता २०७६ मंसिर ३० गते १४:३७

समाधान संवाददाता, पाेखरा

पोखरामा पहिलोपटक न्यूरो सम्मेलन भएको छ । मनिपाल शिक्षण अस्पताल पोखरा र ब्रेन एन्ड स्पाइन फाउन्डेसन नेपालको आयोजनामा पोखरामा ‘प्रथम वार्षिक मनिपाल न्यूरो सम्मेलन’ भएको हो । शुक्रबार र शनिबार २ दिनसम्म पोखरामा चलेको सम्मेलनको क्रममा पहिलो दिन शुक्रबार भारतका प्रोफेसर डाक्टर सतीशचन्द्र गोरेले ढाडमा नशा चेपिएको अवस्थामा ठुलो घाउ नपारी दुरबिनले गरिने एन्डोस्कोपिक स्पाइन सर्जरी सम्बन्धी १ दिने वर्कसप गरेका थिए । शनिबार न्युरोसर्जरी सम्मेलनको बन्द सत्र चलेको थियो ।

सम्मेलनमा ५० प्रकारका वैज्ञानिक र क्लिनिकल रिसर्चका बारेमा छलफल भएको मनिपाल शिक्षण अस्पताल न्युरोसर्जरी विभागका एसोसिएट प्रोफेसर न्युरो सर्जन डाक्टर बालगोपाल कर्मचार्यले जानकारी दिए । मनिपाल शिक्षण अस्पताल न्युरोसर्जरी विभागका एसोसिएट प्रोफेसर न्युरो सर्जन डाक्टर बालगोपाल कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रोफेसर डाक्टर सतीशचन्द्र गोरे, डाक्टर रवीन्द्रनाथ कोम्मी, डाक्टर कृष्ण शर्मा, डाक्टर वसन्त पन्त, डाक्टर नीलम खड्का लगायतले बोलेका थिए ।

Advertisement

कार्यक्रमको सञ्चालन डाक्टर रचना नकर्मीले गरेकी थिइन् । सम्मेलनमा नेपाल र भारतका विभिन्न अस्पतालका गरी १ सय २० जना न्युरोसर्जन, न्युरोलोजिस्ट, स्पाइन सर्जन, फिजियोथेरापिस्ट र न्यूरो नर्सहरूको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया