शंकरलाई समको चिठी

समाधान संवाददाता २०७६ पुष ११ गते १५:१२

त्रिवेणी

बिहान उठ्दा मरेको म
म मरेको बुझेर हाँस्नेछ
मरेकाका मेराहरु च्याँठिएलान्
मेरा मरेकाहरु भने मौन हुने छन्
र मरेकाहरु बीचका मौनतामा मेरो आबाजको सोइलो पस्नेछ
“मरेकाका मेराहरु, भोलीको लागि आज किन रुन्छौं ?

साँच्चै । कान्तिको मृत्युमा कोही रुँदैनन् । आखिर रुनका खातिर के नै पो बाँकी थियो र ? उसले भनेझैँ जोगिले सुनेको देवताको भाषा उस्का आफ्नाले सुनिदिएनन् । सुनून् पनि कसरी ? उनीहरुका कान मांसपिण्डको एक अंशमात्र थिए । उनीहरुले नसुनेकै कारण ऊ नमरेकी हुन सक्छे । अँ साँच्ची ! जोगीको भिन्नै दर्शन पनि त छ फेरि । वासांसी जिर्णानी. . . . . भन्दै गीताका श्लोक पाठ गरी आत्माका गाथा गाउनेलाई लोकले मानेको मृत्यु वस्त्र फेरेझैँ त हो । के कान्तिले हाडमासुको वस्त्र फेरी ? उसो त रगत, लिदी र गिदी उसको पुरुष तत्वको वस्त्रांश थिए होलान् । नाटकमा नमरेकी कान्ती चितामा जलिरहेको आफ्नो कायालाई हेरेर मुस्काउँछे । आफ्नै शरीर जलेको हेरिरहेकी उस्का आँखाले चिच्याएर बोलेझैं लाग्छ–

Advertisement

म भिक्षुणी बनें, हा .. हा .. हा हामी एक्ला चलो रे गाइरहेका छौं ।

रंगमञ्च कथाहरुको पत्रे चट्टान हो । पात्रका कथा खोतल्दै जाँदा त्यहाँ जीवनको जीवास्म भेटिन्छ । दर्शनको भष्म भेटिन्छ । भष्म होइन, चन्दन लगाएको जोगी रंगमञ्चमा एकाएक छिर्छ । उसँग भित्रिन्छन् टैगोर पनि किनकी उस्ले रवीन्द्रनाथको अक्षर गाइरहेको छ । चिम्टाको चिम्टे आवाजसँगै ‘एक्ला चलो रे‘ गाउने ऊ वास्तवमै एक्लो छ । अघोरले शक्ति सञ्चय गर्ने खोपडी जस्तै, पूर्णतः रित्तो । स्वास्नीमान्छेले दिएको भिक्षा गह्रण नगर्ने ऊ स्वानीमान्छे मन पराउने स्वास्नी पीडित देखियो । हो कान्तीलाई उस्ले प्रेम गरेकै हो र स्वास्नीमान्छे उसका हेयका पात्र हुन् ।

Advertisement

बालाई बा बन्नको चटारो छ । छोरीको बिहे गरिदिएपछि मात्र बाहरु बा बन्दा रहेछन् । त्यसैले कनक कहिल्यै बा बनेनन् । उनी बा नभएकै कारण कान्ती कहिल्यै मरिन । भुवनको यत्न व्यर्थ भो । स्वयंवरको दिन कान्तीको मलाम हिँडेको उसलाई स्वयं मरेझैं लाग्यो । लाहुरे छिमेकीले नमरेकी ऊ मर्दा पनि जुँगामा ताउ दिन बिर्सिनन्, खाकी भिर्न भुलेनन् । कक्कड र खाकी बर्दी उनका प्रिय थिए । भुवनको कान्तीसँग बिहे हुने भएपछि छरछिमेकका सबैलाई डाकेर मदिरा पिलाएका हुन् उनले । मदिराको मात नउत्रिदैँ मलाम गए उनीहरु । भुवनको लाजमा कान्तीप्रतिको प्रेम स्पष्ठ थियो । कनकको ज्वाइँ भन्ने सपना, भुवनको कान्तीलाई अधांगिनी बनाउने सपना सबैको हत्या परिस्थितिले गरिदिन्छ । जोगीका आफ्नै सपना थिए । कान्तीले पृथक विचार पालेकी थिई । मान्छेका सपना नसकिने हुनाले पनि ऊ नमरेकी हुन सक्छे ।

उड्न देऊ चरीसँगै उस्लाई उडिन मन छैन
बग्न देऊ खोलासँगै उस्लाई फर्किन मन छैन ।

रंगमञ्चमा बेला बेला गुञ्जने यो गीत कान्तीको चरित्रसँग सोह्रै आनामेल खान्छ । साँच्चै ऊ स्वतन्त्र उड्न चाान्छे । ऊ भिक्षुणी बनेर जीवनको अर्थ पहिल्याउन चाहन्छे, जोगिको सेविका बनेर पुन्य कमाउन चाहन्छे । जेठीले बिहेका लागि राखेको प्रस्ताव पधेरा, घर र आँगन सबैले सुने पनि कान्तीले सुन्दिन । ऊ बिहे नगरिकनै भिक्षुणी बन्ने सोँचमा छे र त ऊ कहिल्यै नमरीकन अमर बनी । बिहे हुन्थ्यो त कान्ती सकिन्थी । ऊ मर्थी ।

नाटकमा लोकशैलीको भजनको प्रयोग गरिनु संगीतको अलड्ढार तुल्य छ । राधाकृष्णको नृत्यले दर्शकलाई इतिहासको साक्षी बनाउँछ । कान्तीले फुकेका पानीका फोकामा ऊ आफ्नो जीवन देखिरहेकी छे । हो, उस्को जीवन पनि ती फोकाजस्तै उडिरहेको छ भूमण्डलमा । वास्तवमा ती फोकाको आयु कम थिए । क्षणमै फुटेर ती कता बलाइगए कता । तर फोकाको गैरफोके रुपको अस्तित्व अझै पनि रंगमञ्चमा छ । उस्तै कान्तीको अकान्ती रुप अझै भूमण्डलमा विचरण गरिरहेको छ । ऊ जोगीको कमण्डलुमा हुनसक्छे वा अन्त कतै । खैर, उसको अस्तित्व जीवित छ । ऊ मरेकी छैन ।

रंगमञ्चको कुनो च्यापेको मसँगै सम नाटक हेरिरहेका थिए । म भने नाटकसँगै उनलाई । कान्तीको आँखाको उष्णता उनका आँखामा पनि झल्किएको थियो । बुढी आमैले रक्सी पिएर रमिता देखाउँदा उनले मलाई हेर्दै ऐला घुट्क्याइरहेका थिए । मारुनीमा भने समलाई नाँच्न मन लागेन । जोगीको अभिनय निकै चाख मानेर हेरिरहेका उनी बेला बेला मुन्टो बटार्थे । कान्तीको हिँडाई, बोलाई र उसका आँखाको भाषामा उनले आफ्ना अक्षर भेटेको कुरा मेरा कानमा फुस्फुसाएका थिए । एक पटक त सम भक्कानिए । किनकी भुवनको अनुरोधमा कान्तीले यस्तो गीत सुनाएकी थिई, जहाँ जीवन दर्शन जीवित थियो । समका भरिएका आँखा उतिबेला हाँसिरहेका थिए । जोगीले रमायण पाठ गरेको उनलाई उसाध्यै प्रिय लागेछ । नतमस्तक भएर अँजुली बाँधी कथा श्रवण गरिरहेका उनका मुखबाट बेला बेला आबाज फुत्कन्थ्यो–

‘जय श्री राम’ ।

स्वास्नीमान्छेले दिएको भिक्षा नकार्ने जोगी मरेकी स्वास्नीमान्छेलाई भिक्षा स्वरुप माग्छ । पानी फोकामा उसको रुप देखेर बौलाहझैं तान्डव देखाउँछ । उसको तान्डवले समका जमेका गोडामा जाँगर भरिदिएको थियो । र त जुर्मुरिँदै उठेका उनले अश्रुधारा बगाएर चिच्याएका थिए–

मेरो जोगी तँ धन्य छस् ।

कान्तीभित्रको ‘ऊ’ लाई भिक्षामा लिएर हिँडेको जोगी कराईरहेको थियो, ‘ऊ मरेकी छैन ।’ उति बेला सुँक्कसुँक्क गरेका समले मलाई अँगाल्दा मेरा आँखाले पनि आफ्नो धर्म स्वीकार गरे । अन्तिम पटकको पर्दा ब्यूँझिएपछि समले चुरोटको खिलिमा लेखेको पत्र मलाई दिएर भने, ‘ शंकरलाई दिनू ।’

रंगमञ्चभित्र हराइसकेको ‘ऊ मरेकी छैन’ ध्वनी बाहिर भने उदात्त पथमा उक्लिरहेको थियो । बाहिर निस्केपछि को चिच्याईरहेछ भनी म खोज्न थालें । सम ऐला घुट्क्याउँदै चिच्याईरहेका थिए,

‘ऊ मरेकी छैन ।’

म उनको समीप पुगेपछि मलाई हेरेर उनी मुस्काए । त्यसपछि उनी चिच्याउँदै ‘ऊ मरेकी छैन’ भट्याउँदै भैरव टोलतिर लागे । नाटकघर फर्किआएर मैले शंकर दाइलाई उनको चिठी सुम्पिदिएँ । अनौठो कुरा ! भैरव टोलमा अझै सम चिच्याइरहेका छन्, यता थिएटरमा चुरोटे चिठीको धूँवा पुत्ताइरहेको छ ।

तपाईको प्रतिक्रिया