नेविसंघ र उमेर हद

समाधान संवाददाता २०७६ माघ २० गते १५:१५

युवराज पौडेल

विगत
वि.सं. २००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरुले पाठ्यक्रममा आधुनिक विषयहरु थप गर्नुपर्ने मागसहित गरेको ‘जयतु संस्कृतम्’ आन्दोलन नै नेपालको शैक्षिक आन्दोलनको प्रस्थानविन्दु हो । नेपालमा हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरुमध्ये नेवि संघ सबैभन्दा पुरानो विद्यार्थी संगठन हो, जसको आफ्नै गर्विलो र विरासतपूर्ण इतिहास छ । तत्कालीन समयमा दलीय राजनीति प्रतिबन्धित थियो । वाक् स्वतन्त्रता खोसिएको, शान्तिपूर्ण आन्दोलन गर्न र संगठित हुन प्रतिबन्ध लगाइएको अवस्था थियो । राजा महेन्द्रको निरंकुशताका बीचमा नेपाली कांग्रेस प्रजातन्त्रका लागि लडिरहेको थियो । यस्तो विषम परिस्थितिमा लोकतन्त्र र नागरिक अधिकारको पेचिलो लडाइँ लड्नका लागि युवा विद्यार्थीहरुलाई गोलबद्ध गर्ने उद्देश्यका साथ वि.सं. २०२७ वैशाख ६ गते नेवि संघको स्थापना भएको थियो । तत्कालीन कांग्रेस सभापति विपी कोइराला र नेता कृष्णप्रसाद भट्टराईको पहलमा नेवि संघ स्थापना भएको थियो ।

तत्कालीन पञ्चायती निरंकुशताका विरुद्ध होस् वा दोस्रो जनआन्दोलनका आँधी तुफानका क्रममा होस्, सडकका अग्र मोर्चामा नेवि संघले कलम र मसाल अंकित झण्डा फहराइरहेको थियो । लोकतन्त्र प्राप्तिका लागि मात्र नभएर नेपाली विद्यार्थीका शैक्षिक मुद्दामा समेत नेवि संघको भूमिका विगतदेखि नै महत्त्वपूर्ण रहेको तथ्य जगजाहेर नै छ । आजका पार्टी सभापति शेरबहादुर देउवादेखि चर्चित कांग्रेस युवा नेताहरु विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल लगायत थुप्रै नेताहरु नेवि संघकै नेतृत्वबाट राजनीतिको मूलधारमा प्रवेश गरेको तथ्य पनि स्पष्टै छ । स्थापनाकालदेखि आजसम्म १८ जना विद्यार्थी नेताहरुले नेवि संघको केन्द्रीय नेतृत्व सम्हाल्ने सुनौलो अवसर प्राप्त गरे ।

Advertisement

वर्तमान
हिजोको त्यो गर्विलो इतिहास बोकेको नेवि संघ आज मृत्युशड्ढयामा छ । एघारौ महाधिवेशनको म्याद सकिएपछि २ पटक म्याद थपिसक्दा पनि आजसम्म बाह्रौ महाधिवेशनको स्पष्ट कार्यदिशा तय भइसकेको छैन । यस क्रममा नेवि संघ सभापति नैनसिंह महरले राजीनामा दिएका छन् । अध्यक्ष नैनसिंह महरको कार्यशैलीको विरोधमा रहेको महामन्त्री कुन्दन काफ्लेसहित असन्तुष्ट समूहले एकलौटी रुपमा बाह्रौ महाधिवेशनको मिति नै घोषणा गरेपछि नेबिंसंघभित्रको विवाद चर्किएको थियो ।

हाल विधान अनुसार ३२ वर्षे उमेर हदका सम्बन्धमा र महाधिवेशनका लागि तदर्थ समिति बनाउने क्रममा माउ पार्टी कांग्रेसको हस्तक्षेपले नेवि संघ थला परेको छ । विवादका बीच गत वर्ष फागुन १ गतेको कांग्रेस केन्द्रीय समिति बैठकले नेवि सघंलाई नेतृत्व दिन सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको थियो । जिम्मेवारी पाएको ११ महिनापछि देउवाले माघ १६ गते महाधिवेशनका लागि तदर्थ समिति गठन गरेका छन् । सुनसरीका ४६ वर्षीय राजीव ढुंगानालाई सभापति बनाइएको छ भने महामन्त्रीमा काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई जिम्मेवारी दिइएको छ । अध्यक्ष ढुंगानाको नेतृत्वको समितिलाई ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नेगरी जिम्मेवारी दिइएको छ । जसमा अहिले तदर्थ समितिमा रहेकाहरु उम्मेदवार हुन नपाउने व्यवस्था समेत गरिएको छ । यसक्रममा ३२ वर्षे उमेर हद लागु गर्नुपर्ने मागसहित विधान कार्यान्वयन गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा निवर्तमान केन्दीय सदस्य नवराज त्रिपाठी आमरण अनसनमा छन् ।

Advertisement

आज नेवि संघमा विभिन्न गुट उपगुटको शक्ति संघर्ष चरम उत्कर्षमा छ । हानाहान, पिटापिट, टाउको फुटाल्ने, खुकुरी हान्ने काम ती गुटका अन्तरसंघर्षका बाहिरी रुपहरु हुन् । प्रत्येक माउ नेताकाका गुट विद्यार्थी नेताले बोकेका छन् । यो गुट शेरबहादुर, यो रामचन्द्र, यो कृष्ण सिटौला आदि आदि । हिजो पुतलीसडक, रत्नपार्क र प्रदर्शनी मार्गमा कफन बाँधेर शैक्षिक अधिकारका आवाज बुलन्द गर्ने नेवि संघ आजभोलि सडकमा देखिँदैन बरु सानेपामा तमासा गर्न पुग्छ । नेवि संघले शैक्षिक मुद्दामा बोल्न छाडेको धेरै भइसक्यो । आज शैक्षिक जगत चरम विकृति र विसंगतिको बीचबाट गुज्रिरहेको छ ।

सार्वजनिक विद्यालयहरुको अवस्था असाध्यै कमजोर छ । निजी र सरकारी शिक्षाको बिभेदले गरिबहरुका लागि गुणस्तरीय शिक्षा ‘आकाशको फल आँखा तरी मर्’ भनेजस्तै भएको छ । विश्वविद्यालयहरु अनुसन्धानमा होइन, दलीय चाकडीको दुष्चक्रमा नराम्ररी फँसेका छन् । हिजो लोकतन्त्र र नागरिक अधिकारका लागि सिंहझै गर्जने नेवि संघ आज आफ्नै संगठनभित्रको रोइलोमा हराइरहेको छ । लोकतन्त्रको पहरेदारका रुपमा इतिहास बनाएको नेवि संघभित्र नै आज अलोकतान्त्रिक चरित्रको गलत अभ्यास गरिरहेको छ । आज नेवि संघ सिंहजस्तो गर्जने होइन, मुसाजस्तो शीर्ष नेताका दुलामा छिरेर आत्मिक सन्तुष्टि लिइरहेको छ । नेवि संघमा उमेरको कुनै हदबन्दी छैन । त्यहाँ विधान हात्तीको देखाउने दाँत मात्र हो । ४६ वर्षका राजीव ढुंगानालाई सभापति बनाएर सभापति देउवाले फेरि एकचोटि जगत हँसाएका छन् । देउवाका लागि विधि विधान केही होइन, उनले चाहेको मान्छे जसरी पनि भातृसंगठनमा छिराउन सक्छन् ।

अस्ति भर्खरसम्म शेरबहादुरलाई युवा नेता भनिने पार्टीमा ४६ वर्षीय ढुंगाना सभापति बनााइनु कुनै नौलो अभ्यास भने होइन । बरु राजीवजीको यो उमेरमा पनि देखिएको पढाइप्रतिको लगावलाई धन्यवाद दिए हुन्छ । बरु उहाँले कुन कलेजमा पढ्नु हुन्छ, त्यो आम नेपाली जनतालाई बताइदिँदा राम्रो हुन्थ्यो होला ।

फेरि यो नागरिकको जान्न पाउने अधिकार पनि हो । आज नेवि संघ इतिहासको यस्तो कालखण्डमा उभिएको छ, जहाँ आफ्नै आमाले नै नाबालाक सन्तानको घाँटी निमोठिरहेको वीभत्स परिदृश्य हेर्नु बाहेक ऊसँग अर्काे कुनै विकल्प छैन । नेवि संघ माउ पार्टीका नेताहरुको परेडशाला हो, जहाँ जसलाई जसरी पनि इच्छा अनुसार नेतृत्वले खेलाउन सक्छ । भातृ संगठनको रुपमा रहेको नेवि संघ आफ्नो कुनै स्वतन्त्र निर्णय गर्न सक्ने अवस्थामा नै छैन । आज पनि कलम र मसाल अङ्कित रक्तरञ्जित झण्डा बोक्ने लाखौ नेबिंसंघका सदस्यहरु छन्, तापनि ती नेतृत्वको कुकर्मका कारण अर्धमूर्छित अवस्थामा छन् ।

खण्डित र मुर्छित नेवि संघबाट भविष्यमा केही होला भन्ने तिनका मनमा कतै आशाको बीऊ बाँकी छैन । त्यहाँ आज कुनै जीवनको गति छैन, कतै रक्तसञ्चार छैन । यतिबेला नेवि संघ वास्तविक विद्यार्थीका वास्तविक शैक्षिक मुद्दा लिएर हिड्न सकिरहेको छैन, बरु नेवि संघको नाम भजाएर चन्दा र पैसाको जोहो गर्ने अल्छी, पढ्न जाँगर नभएका, डन, मुन्द्रे र कामचोरहरुको संगठन बनिरहेको तीतो यथार्थलाई नस्वीकारी सुखै छैन । यथार्थ आखिर यही हो । यसको अर्थ नेवि संघभित्र होनहार प्रतिभाशाली स्वच्छ छविका विद्यार्थीहरु छँदै छैनन् भन्ने होइन । तर त्यस्ता इमान्दार र प्रतिबद्ध विद्यार्थी नेताहरुलाई तिनै डन, चुल्ठे, मुन्द्रेहरुले पछि पारिरहेका छन् । बेलाबेलामा सानेपातिर देखिने लडाइँका तमासाहरु सिनेमाझैँ हेरिरहेका आजका सचेत जनताले यी देश र जनताको हितका लागि लडेका हुन् भनेर पत्याउनेवाला छैनन् । ती आफ्ना व्यक्तिगत र गुटगत स्वार्थको छुद्र उद्देश्यका लागि लडिरहेको तथ्यलाई जनताले राम्रैसँग बुझेका छन् । राम्रो काम गर्न कोही लड्नै पर्दैन । समाजसेवा गर्न, देशको हितमा काम गर्नका लागि लडेको भए परिदृश्य बेग्लै हुने थियो । पैसा, शक्ति र बाहुबलका आधारमा नेवि संघ कब्जा गर्ने अनि यसलाई ‘प्यारालाइज्ड’ बनाएर आफ्ना स्वार्थका खातिर प्रयोग गर्ने प्रवृत्तिले गौरवशाली इतिहास बोकेको नेवि संघ आज जीवन मरणको दोसाँधमा छटपटाइरहेको छ ।

भविष्य
हिजो एकतन्त्रीय निरंकुशताका विरुद्ध लड्ने बेलामा जोसिला विद्यार्थीहरुले गोली खान तयार हुन्थे । तिनको तातो र रातो रगतले परिवर्तन विरोधीहरुका मुटुमा ढ्यांग्रो बज्थ्यो । सडकका मोर्चाहरुमा टाउकामा कफन बाँधेर अग्र मोर्चामा तिनै जोसिला युवाहरु उर्लिरहेका हुन्थे । पञ्चायती निरंकुश शासकहरु गोली खान तयार तिनको देशभक्ति देखेर ३ छक पर्थे । चाहे माओवादी युद्ध होस् वा चाहे ज्ञानेन्द्र शाहको निरंकुशता विरुद्धको आन्दोलन नै किन नहोस्, तिनको आवश्यकता र औचित्य इतिहासले बाराम्बार सावित गरिरहेको थियो । त्यो राजनीतिक परिवर्तनको आन्दोलन थियो, जहाँ विद्यार्थी संगठनहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्थे । विद्यार्थीका हकहितका विषयलाई उठाएर राज्यलाई नै तह लगाउने सामथ्र्य राख्थे । तर आज समय फेरिएको छ ।

राजनैतिक परिवर्तन एउटा उचाइमा पुगेर टुंगिएको छ । गणतन्त्र, संघीयता, समावेशी, धर्म निरपेक्षता सहितको पूर्ण लोकतान्त्रिक अधिकार प्राप्त संविधान कार्यान्वयनको चरणमा छ । हिजोको संरचनामा अर्थात् निरंकुशताका विरुद्ध लड्ने उद्देश्यका साथ बनाइएका संगठनहरुले आजको बदलिएको परिवेशमा कसरी काम गर्न सक्छन् भन्ने प्रश्न विभिन्न कोणहरुबाट उठिरहेकै छ । विद्यार्थीहरुको मुख्य काम पढ्नु हो । पढ्नका लागि किन यति विध्न विद्यार्थी संगठन चाहिन्छन् ? दलैपिच्छेका विद्यार्थी संगठनको औचित्य आज छ कि छैन ? यी प्रश्नहरुमा छलफल गर्नुपर्ने बेला आइसकेको छ । वास्तवमा आज समग्र विद्यार्थीको हकहितका लागि एउटै साझा संगठन बनाउनु नै सबैभन्दा उपयुक्त छ । प्रत्येक पार्टी अनि तिनका गुटका स्वार्थ पुरा गर्नका लागि अब विद्यार्थी संगठनको आवश्यकता र औचित्य पुष्टि गर्न सकिने अवस्था छैन ।

वास्तवमा आजसम्मको इतिहासलाई हेर्ने हो भने राजनैतिक परिवर्तनका मुद्दाहरुमा र केही शैक्षिक मुद्दाहरुमा विद्यार्थी संगठनहरुले महत्त्वपूर्ण भूमिका खेलेकै हुन् । तर यति भनिरहँदा ती संगठनभित्र मौलाएका विकृति र विसङ्गति तथा तिनले पठनपाठनमा पारेको दुष्प्रभावलाई नजर अन्दाज गर्न पनि सकिँदैन । पढ्न क्याम्पसमा गएका विद्यार्थीहरुले हिजो कलेज वा क्याम्पसहरुलाई रणभूमि बनाएका होइनन् र ? सामान्य विषयमा पनि ढुंगामुढा गर्ने, चक्काजाम गर्ने, क्याम्पसका संरचनाहरु ध्वस्त पार्ने, क्याम्पस प्रमुखलाई कोठामा थुन्ने लगायतका हिंसात्मक गतिविधि कसले गरे ? पढ्न भनेर आएका सोझा युवालाई ढुंगा हान्न सिकाएर तिनले कस्तो मनोविज्ञान तयार गर्न खोजे ? क्याम्पसमा स्ववियु चुनाव हुँदा कहिले शान्तिपूर्ण चुनाव भयो ? शैक्षिक गुणस्तरका लागि यी सबको के जरुरी थियो ? यी प्रश्नहरुको सेरोफेरोमा बहस नचलाइकन अगाडि बढियो भने फेरि पनि उही नियति बेहोर्नबाट कसैले बचाउन सक्दैन । यसरी हेर्दा विद्यार्थी संगठनहरुले रचनात्मकभन्दा बढी हिंसात्मक कार्यमै बढी समय बिताए र त्यस्तै स्कुलिङबाट धेरै नेताहरु आजको मूलधारको राजनीतिमा प्रवेश गरे ।

त्यो हिंसात्मक राजनीतिले आम युवा मनोविज्ञानमा पारेको प्रभावलाई सामान्य ढङ्गबाट मात्र लिन मिल्दैन । आज पनि तपाई हामीले वस्तुगत भएर हेर्ने हो भने विद्यार्थी संगठनले राज्यका मूल शैक्षिक मुद्दामा उल्लेख्य भूमिका निर्वाह गरेको कतै पाइँदैन । प्रकाश चन्दले मेडिकल माफियाका विरुद्ध उठाएको वास्तविक आन्दोलनलाई आजका नेवि संघ र अनेरास्ववियूले कति साथ दिए ? फेरि सरकार जुन पार्टीको छ, तिनका विद्यार्थी संगठनले सरकारलाई अप्ठेरो पर्छ भनेर मुख्य मुद्दामा प्रवेश गर्न नचाहने प्रवृत्तिकै कारण प्रत्येक पटकका शैक्षिक आन्दोलनहरु मूलतः रक्षात्मक अवस्थामा पुगेर माछो माछो भ्यागुतोका हालतमा पुगेका होइनन् र ? इतिहासले बताएको यथार्थ यही होइन र ? मेडिकल माफियाहरुका विरुद्ध गोविन्द केसी र प्रकाश चन्दहरुले उठाएको आन्दोलनलाई मूल संगठनहरु नेवि संघ र अनेरास्ववियुले निस्वार्थ सहयोग गरेको भए आज मेडिकल माफियाहरु दुला दुलामा पसिसकेका हुन्थे । तर बिडम्बना स्वार्थ र गुट उपगुटहरुका चौतर्फी चक्रव्यूहमा फँसेका विद्यार्थी संगठनहरुबाट यो सम्भव थिएन र भएन । फेरि पनि हुनेवाला छैन । त्यसैले अब क्याम्पस वा कलेजहरुमा ती गुट उपगुटमा रमाउने, नेताको कमाइ धन्धा गर्ने, हिंसात्मक संस्कृति निर्माण गर्ने, पठनपाठनलाई अस्तव्यस्त बनाउने राजनैतिक दलका विद्यार्थी संगठनहरुको औचित्य समाप्त भइसकेको छ ।

वास्तवमा हामी नयाँ नेपाल साँच्चै बनाउने तयारीमा छौं भने विद्यार्थी, शिक्षक, कर्मचारी, व्यापारी, डाक्टर, वकिल आदिका दलैपिच्छेका संगठन विघटन गर्ने हिम्मत गर्नुपर्छ । तिनले सम्बन्धित संगठनभित्र अनावश्यक द्वन्द्व र मनमुटाव बाहेक केही निम्ताइरहेका छैनन् र निम्ताउनेवाला पनि छैनन् । पढ्ने विद्यार्थीलाई के को राजनीति गर्नुपर्‍यो, जबकि उसको एकमात्र उद्देश्य सिक्नु वा ज्ञान आर्जन गर्नु हो । पढाउने शिक्षकलाई किन दलको संगठन चाहियो, जबकि तिनको एकमात्र काम शिक्षण गर्नु हो । यस्ता संगठनहरु इतिहासको आवश्यकतामा निर्माण भएका थिए, अब इतिहासले तिनको औचित्य सावित गर्दैन । ती अब दलका लागि चुनावमा आफ्नाे जित हासिल गर्नका लागि प्रयोग गर्ने अस्त्र बाहेक केही बन्नेवाला छैनन् । ती जनता र सम्बन्धित संगठनका लागि भुत्ते भइसके । समय बदलियो, इतिहास बदलियो तर सांगठनिक संरचनाहरु बदलिएनन् । परिवर्तित समयको पदचाप अनुसार मानिसको मानसिकता बदलिएन, जसका कारण आज चौतर्फी समस्याहरु बढिरहेका छन् । खुरापाती राजनीतिले हाम्रा सार्वजनिक विद्यालयहरु हाम्रै आँखा अगाडि सकिए, अस्पताल सकिए, विश्वविद्यालय मरणासन्न भए भन्ने चेतना अब त आउनुपर्‍यो नि ? शिक्षा, स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रहरुमा अनावश्यक राजनीति भएकै कारण आज ती क्षेत्रहरु गतिहीन भएका होइनन् र ? यो तथ्यलाई आजको राजनीतिमा क्रियाशील दलका नेताहरुले मनन गर्नुपर्दैन र ?

तपाईको प्रतिक्रिया