कोरोनाः सतर्क बनौं, हल्ला नचलाऔं

समाधान संवाददाता २०७६ माघ २३ गते १२:४२

चीनको हुबेई प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरसबाट धेरै आतंकित बनेका छन् । यसबाट अहिलेसम्म चीनमै ४ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । ७ हजारभन्दा बेसीमा भाइरसको संक्रमण देखा परेको छ । विश्वका २० हाराहारी देशमा यो भाइरस देखा परेको छ । नेपालमा चीनबाट आएका १ जनामा भाइरस देखिएको भनेर ती बिरामीको निगरानी गरिएको छ । उपचारमा राखिएको छ । कोरोना भन्ने भाइरस यसअघि पनि देखा परेको हो, तर यसपालिको चाहिँ नयाँ भएकाले नोवेल कोरोना भनिएको छ । यही भाइरसका कारण संसारभरि र खास गरी नेपालमा पनि मानिस ठूलो चिन्ता र चासो मात्रै छैन, १ किसिमको आतंक पनि मच्चिएको छ । विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य आपतकाल घोषणा १७ माघमा गरेपछि झन् आतंकित बनाएको छ ।

चिकित्सकले नै बताइरहेका छन् कि कोरोना भाइरस लाग्दैमा मान्छेको मृत्यु भइहाल्दैन । मृत्युको सम्भावना ३ प्रतिशतमात्रै छ । योभन्दा ज्यादा मृत्युको सम्भावना भएको इबोला भाइरस अफ्रिकी महादेशमा फैलिँदा पनि स्वास्थ्यको आपतकाल घोषणा भएको थिएन । कोरोनाका हकमा भने त्यसो हुँदा मानिसमा संत्रास अलि बढी नै देखिएको छ । चीनमा यो रोग देखा परेका कारण आतंक सिर्जना गरी चीनलाई हतोत्साह गर्न खोजिएको आरोप पश्चिमा मुलुकमाथि लागेको छ । चीनले पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएको छ । सुपर पावरका रुपमा उदीयमान चीनको अर्थतन्त्रमा यो रोगको असर प्रत्यक्ष परिसकेको छ । उसको प्रगतिमा डाडे अमेरिकाले बढी कोकोहोलो मच्चाएको भन्ने आरोप पूर्णतः असत्यचाहिँ छैन । यस दृष्टिबाट समेत हेरी कोरोनाबाट अनावश्यक मात्रामा हामी नेपाली पनि त्रसित भयौं कि सोच्नुपर्छ ।

ज्वरो आउनु, सास फेर्न अप्ठेरो हुनु र छातीमा संक्रमण हुनु कोरोनो भाइरसको मुख्य लक्षण हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, १ जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्न सक्ने चिकित्सकले बताउँदै आएका छन् । तसर्थ त्यस्तो कर्मबाट सचेत रहनुपर्छ । यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, संक्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीको निगरानी गर्ने जस्ता उपाय अपनाउनुपर्नेमा चिकित्सकको सुझाव ग्रहण गरी व्यवहारमा उतार्नुपर्छ । कोरोना भाइरसको डरकै कारण चीनसँगका नेपाल सरकारले सीमा नाका बन्द गरेको छ । आगन्तुकको जाँच पनि गरिरहेको छ । पोखरा लगायत ठाउँमा सहायता कक्ष खुलेका छन् । जसरी सरकारले आफ्नो ठाउँबाट सतर्कता अपनाएको छ, व्यक्ति व्यक्तिले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । तर सामाजिक सञ्जाल लगायतमा अनावश्यक हल्ला मच्चाउने खालका गलत जानकारी नराख्नु हितकर हुन्छ । हल्लाकै भरमा पोखरा जस्ता पर्यटकीय सहरमा पर्यटक आगमन गिरेको छ । यसको असर यहाँको अर्थतन्त्रमा पर्छ र सबै नेपालीको जीवनमा प्रतिबिम्बित हुन्छ । सबैलाई नोक्सान पुर्‍याउँछ । त्यसैले कोरोनाको भाइरसबाट बच्न चिकित्सकको सल्लाह मुताविकका काम गरौं । सचेत बनौं । तर अनावश्यक आतंकित नबनौं । अरुलाई आतंकित नपारौं ।

Advertisement

तपाईको प्रतिक्रिया