क्यानभासमा स्व.रवीन्द्र

समाधान संवाददाता २०७६ फागुन ११ गते १२:३२

जमुना वर्षा शर्मा
पोखरा

पोखराका कलाकारले स्व.रवीन्द्र अधिकारीलाई आफ्नो क्यानभासमा उतारेका छन् । फागुन १५ नजिकिँदै गर्दा प्रथम स्मृति दिवसका सन्दर्भमा कलाकारले क्यानभासमा रवीन्द्र शीर्षक दिएर उनको व्यक्तित्व र कामलाई क्यानभासमा उतारेका हुन् ।

विभिन्न चित्राकृतिबाट रवीन्द्रको व्यक्तित्वलाई क्यानभासमा उतारिरहेका कलाकार एवं कार्यक्रम संयोजक रमेश श्रेष्ठले भने, ‘मैले वर्षैंखिको मित्र गुमाएको १ वर्ष पुग्यो । उहाँलाई क्यानभासमा उतार्दा मलाई पीडा भइरहेको छ । शब्द हराएको छ, आँखा अगाडि उहाँको हँसिलो अनुहारले मेरा हातलाई अल्झाइरहेको छ । फेरि पनि प्रयास गरिरहेको छु ।’

Advertisement

कलाकार देवी राईले रवीन्द्रको व्यक्तित्वबाट आफू प्रभावित भएको र त्यसैलाई क्यानभासमा उतारेको बताइन् । ‘मैले धेरैचोटि उहाँलाई भेटेको थिएँ, सधैँ म उहाँको आदर्श व्यक्तित्वबाट प्रभावित भएको थिएँ । आज उहाँ हाम्रो माझ हुनुहुन्न, कलाको माध्यमबाट सम्झने प्रयास गरेको छु ।’

कलाकार कमल गुरुङले रवीन्द्रलाई विकासप्रेमी नेताका रुपमा चित्राकृतिमा उतारेको बताए । ‘ देशको १ विकासप्रेमी नेताका रूपमा चिनेको थिएँ, उहाँलाई दूरदृष्टि भएको नेताको आत्मविश्वासको अनुहारलाई ‘फोकस आउट’ गरेको छु ।’

Advertisement

कार्यशालामा पोखरा र काठमाडौंका १५ कलाकार सहभागी थिए । तयार पारिएका चित्राकृति फागुन १५ मा रवीन्द्र अधिकारी स्मृति दिवसमा प्रदर्शन गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

प्रतिष्ठानले स्व. अधिकारीको प्रथम स्मृतिमा उक्त कला कार्यशालाको आयोजना गरेको हो । गत वर्ष फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी अधिकारीसहित ७ जनाको निधन भएको थियो । उनको ‘समृद्ध नेपाल’, ‘लोकतन्त्र, संविधानसभा र राज्य पुनर्संरचना’ २ पुस्तक प्रकाशित छन् । अधिकारीको सम्झनामा गत जेठ १८ गते प्रतिष्ठान स्थापना गरिएको थियो ।

तपाईको प्रतिक्रिया