सपना अलपत्र पारेर अलपत्र हुन्नँः प्रम ओली

समाधान संवाददाता २०७६ फागुन २० गते १२:१५

समाधान संवाददाता, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौलाको प्रत्यारोपणपछि आफू थप ऊर्जा र आत्मविश्वासका साथ काममा फर्कने बताएका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुअघि देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफूले मैदान नछाड्ने बताएका छन् ।

‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन त्यसैगरी हाम्रा जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ,’ प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा भनेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाबारे ढुक्क हुन सबैलाई आग्रह गर्दै आफू केही दिनको अस्पताल बसाइपछि थप ऊर्जा र आत्मविश्वासका साथ फर्कने बताए ।

Advertisement

‘मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुहोस्, हामीले देखेको सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वासका साथ काममा फर्कनेछु,’ भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले भने ।

उनले आफू अस्पताल बसे पनि सरकारका काम कारबाही भने यथावत रुपमा अगाडि बढ्ने बताए । उनले आफ्नो अनुपस्थितिमा पनि कोरोना र अन्य भइपरी आउने समस्याबारे आवश्य निर्णय लिन संयन्त्र तयार गरेको बताएका छन् ।

Advertisement

ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन् । ओली सोमबार बेलुका सवा ६ बजे अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीको फागुन २१ गते बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । मिर्गौला प्रत्यारोपणका लागि अस्पतालका विशेषज्ञसहित विशेष टोली खटिने भएको छ । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट वरिष्ठ सर्जन डा. प्रेमराज ज्ञवाली नेतृत्व टिमले गर्ने भएको छ ।

युरोलोजी डिपार्टमेन्टका अन्य ४ सर्जन पनि टोलीमा सहभागी हुनेछन् । मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाह छन् । उनको टिममा डा. महेश सिग्देल, डा.मुकुन्द काफ्लेलगायत छन् । युरोलोजीमा प्राडा उत्तम शर्मा, डा. ज्ञवाली, डा.भोजराज लुइँटेल, डा. पवन चालिसे कार्यरत छन् । अस्पतालले प्रम ओलीको अस्पताल बसाइ ६ दिन हुने जानकारी गराएको छ ।

प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला दिन आफन्त नाताकी एक महिला तयार भएकी छन् । यसअघि भने बुहारी नाताकी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन् । आइतबार बिहान ग्रान्डी अस्पतालमा प्रधानमन्त्रीले स्वास्थ्य जाँच गराए थिए । स्वास्थ्य जाँच गरिएको रिपोर्ट सामान्य आएपछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।

प्रधानमन्त्री ओलीले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा २०६४ सालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए । पुनः स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौ ५ गते सिंगापुर गएका थिए । त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गराएका थिए । १५ दिनको बसाइपछि उनी स्वदेश फर्केका थिए । त्यसपछि भने उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया