वस्तुगत उपाध्यक्षमा अञ्जनको उम्मेदवारी

समाधान संवाददाता २०७६ चैत ४ गते १३:४५

समाधान संवाददाता
काठमाडौं

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठले महासंघमा १३ वर्ष बिताएका छन् ।

कन्फेक्सनरी, डेरी, स्टिल र हुन्डाई गाडीको अधिकृत बिक्रेता यो समूह दर्जनभन्दा बढी उद्योग, व्यवसायमा आवद्ध छ । उनी सबल, सुदृढ र सफल निजी क्षेत्र बनाउने उद्देश्यसहित उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउँछन् । ‘एफएनसिसीआइलाई संस्थागत रुपमा सुदृढ र सबल बनाउने प्रमुख उद्देश्य छ भने निजी क्षेत्रलाई सही वातावरण बनाएर सफल बनाउने मेरो प्रमुख एजेन्डा छ,’ उनले भने, ‘सदस्य संस्थाको समस्या र अग्रगमनका लागि चाहिने वातावरण तयार गर्न मेरो क्रियाशीलता रहनेछ ।’

उनले वस्तुगतसँग आवद्ध संस्थाको समस्या समाधानका लागि छुट्टै संयन्त्र तयार गरिने बताउँदै विज्ञहरुको छलफलका आधारमा अघि बढ्ने प्रतिवद्धता पनि जनाए । ‘महासंघमा वस्तुगत परिषद् छ । तर क्षेत्रगत रुपमा हेर्न छुट्टै संयन्त्र आवश्यक छ । त्योबाहेक पनि क्षेत्रीय र अन्तर्राष्ट्रिय अनुभवलाई हेरेर आवश्यक नीति निर्माण गर्न सरकारलाई सुझाव दिने वातावरण तयार पार्छु’, श्रेष्ठले भने ।

श्रेष्ठ विद्यार्थी जीवनबाटै व्यवसायमा आवद्ध भएका हुन् । २०४८ सालमा प्लास्टिक उद्योग खोलेर व्यवसायमा प्रवेश गरेका श्रेष्ठले नेपालकै ठूलो र सफल कन्फेक्सनरीको रुपमा सुजल फुड्सलाई उभ्याए । उनकै नेतृत्वमा कृषिलाई व्यवसायिकरण गर्ने लक्ष्यसहित सुजल डेरी स्थापना भयो ।

Advertisement

देशमा राजनीतिक द्वन्द्वसँगै यो समूहले ट्रेडिङमा हात हाल्यो । यो समूह हुन्डाईको नेपालको आधिकारिक बिक्रेतासमेत बन्यो । त्यसको केही वर्षमै नेपालकै अग्रणी अटोमोबाइल कम्पनीको रुपमा लक्ष्मी हुन्डाई स्थापित भयो । अहिले यो समूहको लगानी रहेको स्टिल उद्योग पनि सञ्चालनमा आइसकेको छ भने ५ स्थानमा होटल खोल्ने तयारी भएको छ ।

धुलिखेल, पोखरा, चितवन, धम्पुस र काठमाडौंमा होटल खोल्न जग्गासमेत किनिसकेको छ । सोलुखुम्बु र गोरखामा १२÷१२ मेगावाटको जलविद्युतमा समेत निर्माण गर्दैछ । ‘समूहको डाइभर्सिफाइड लगानीका कारण पनि उद्योगी, व्यवसायीका मुद्दा बुझ्न र सम्बोधनका लागि सरकारसँग नेगोसियसन गर्न मलाई सहज हुन्छ,’ श्रेष्ठले भने, ‘व्यवसायिक क्षेत्रको मुद्दालाई सम्बोधन र थप एक्सिलिरेट गर्न सदैव लाग्नेछु ।’

उनको व्यावसायिकसँगै महासंघको आवद्धता पनि लामो छ । उनी २०६३ सालमा महासंघको उद्योग समितिका सदस्य भए । उनी त्यही बेलामा ब्रान्डिङ समितिका संयोजकसमेत बने । महासंघमा आवद्ध भएपछि श्रेष्ठ २०६५ सालमा कार्यकारिणी सदस्य बने । त्यही बेलामा उनी कर तथा राजस्व समितिका सहसंयोजक र रोजगारदाता परिषद्को सदस्यसमेत भएका थिए । ४ कार्यकाल कार्यकारी सदस्य रहेका श्रेष्ठले विभिन्न समितिको सदस्य, सहसभापति र सभापति हुँदै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

२०६८ सालमा कार्यकारिणी सदस्य निर्वाचित भएपछि उनले रोजगारदाता परिषद्को सदस्य भएर रोजगारदाता र मजदुरबीचको विवाद समाधानका लागि महत्वपूर्ण भूमिका खेले । श्रेष्ठ २०७१ सालमा महासंघ कार्यकारिणी सदस्यमा निर्वाचित भएपछि राजस्व समितिका सहसभापति बने । उनले अहिलेको कार्यकालमा उद्योग सभापतिको रुपमा सरकारले ल्याएका विभिन्न औद्योगिक क्षेत्रका ऐन, नियमको मस्यौदा हुँदादेखि नै सक्रिय सहभागिता जनाएर व्यवसायिक क्षेत्र अनुकुल बनाउन भूमिका खेलेका थिए ।

उनी सामाजिक सुरक्षा कोष ऐन, औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र विशेष आर्थिक क्षेत्र ऐनलाई निजी क्षेत्रमैत्री बनाउन सक्रिय थिए । उनी नाडाका अध्यक्षसमेत भइसकेका छन् भने नेपाल प्लास्टिक उत्पादक संघका उपाध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया