मोहोरियामा आइसोलेट अस्पताल

समाधान संवाददाता २०७६ चैत ५ गते १२:२०

रामशरण नेपाली
लेखनाथ

कोरोना संक्रमितलाई राख्न पोखरा ३० मोहोरियामा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रदेशकै आइसोलेटेड अस्पताल बनाउने विषयमा मंगलबार छलफल भएको छ । अस्पतालका पदाधिकारी एवं स्थानीय सरोकारवालासँग सामाजिक विकास मन्त्रालय र गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलयले छलफल गरेको हो ।

हालसम्म देशभित्र कोरोना संक्रमित नभेटिएको भए पनि हुन सक्ने जोखिम मध्यनजर गर्दै प्रदेश सरकारले आइसोलेटेड अस्पताल बनाउने प्रस्ताव गरेको हो । छलफलमा सहभागीले कोरोनाको भाइरसको विषयमा समुदायमा १ किसिमको सन्त्रास छाएको अवस्थामा समुदायमा सचेतना जगाउनुपर्ने र त्यही अनुसार व्यवस्थापन गर्नुपर्ने, अस्पतालले प्राप्त गर्ने अवसरका विषयमा स्पष्ट रुपमा प्रदेश सरकारले खुलाउनुपर्ने, अस्पतालको भविष्यको विषयमा उत्तरदायी हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।

Advertisement

विगतमा अस्पतालको विकास र स्तरोन्नतिमासरकारले सहयोग नगरेको उनीहरुको गुनासो थियो । कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रांगत बराल, पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष श्रीराम पोख्रेल, वडा सदस्यहरु सोमलाल कँडेल, शारदा बास्तोला, जिल्ला समन्वय समिति कास्की उपसंयोजक सावित्री भण्डारी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश भटृराई, अस्पतालका पूर्व अध्यक्ष महेश्वर पाण्डे, सल्लाहकार ध्रुवनाथ भटृराई, पोखरा विश्वविद्यालयका उपकुलपति डा. ईन्द्रप्रसाद तिवारी, साविक लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिकराम पौडेल, लायन्स क्लब अफ लेखनाथका अध्यक्ष वुद्धिप्रसाद बास्तोला, राजेन्द्र ओझा, दयाराम तिवारी, डालराज बञ्जरा, बलराज पौडेल, रविमोहन भण्डारी लगायतले बोलेका थिए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य चिकित्सा महाशाखाका प्रमुख डा. रामबहादुर केसीले अस्पताल एवं स्थानीयको माग प्रदेश प्रमुखसमक्ष प्रतिवाद्धता गरे । उनले सरकारलाई अप्ठ्यारो परेको बेला हार्दिकताका साथ सहयोग गर्न आग्रहसमेत गरे । गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलयका निर्देशक डा. विनोदविन्दु शर्माले अस्पताललाई डेडिकेटेड आइसोलेटेड अस्पतालको रुपमा सञ्चालन गर्ने क्रममा नियमित सेवा सुचारु नै रहने र स्थानीयका माग विषयमा लिखित रुपमा समझदारी हुने प्रतिवद्धता गरेका थिए ।

Advertisement

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको जोखिम नेपालमा पनि रहेको जनाएको छ । जोखिमलाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले मालेपाटनस्थित कृषि तालिम केन्द्रलाई क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गर्ने भएको छ ।

क्वारेन्टाइनबाट कोरोना संक्रमित भएको पुष्टि भएको खण्डमा संक्रमितको उपचार एवं रेखदेखका लागि लेखनाथस्थित सामुदायिक अस्पताललाई डेडिकेटेड आइसोलेटेड अस्पताल बनाउने प्रस्ताव अनुसार प्रदेश सरकारले मंगलबार छलफल गरेको हो ।

तपाईको प्रतिक्रिया