गण्डकी अस्पतालमा छुट्टै आइसोलेसन कक्ष

समाधान संवाददाता २०७६ चैत ७ गते १२:२५

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा तयारी अवस्थामा राखिएको आइसोलेसन कक्षका बेडहरु । तस्बिरः ईश्वर देवकोटा÷समाधान

ईश्वर देवकोटा
पोखरा

कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण जोखिमलाई ध्यान दिँदै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा १० शड्ढयाको आइसोलेसन कक्ष तयार गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल समेत उच्च प्रकोपको जोमिखमा पर्न सक्ने चेतावनी दिएसँगै सरकारले जारी गरेको उच्च सर्तकता अन्तर्गत अस्पतालमा छुट्टै कक्षको व्यवस्थापन गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालमा यसअघि १ आइसियु र २ बेड आइसोलेसनका लागि मात्र उपलब्ध थिए । सरुवा रोगमध्येको अत्यन्तै महामारीको रुप धारण गरिसकेको कोरोना भाइरस नियन्त्रणका लागि विशेष आइसोलेसन कक्ष व्यवस्थापन गरिएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

Advertisement

कोरोना संक्रमण पुष्टि भइसकेका बिरामीलाई मात्र उक्त कक्षमा राखेर उपचार थालिने उनको भनाई छ । ‘कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिको नमुना परीक्षण गरेर पुष्टि भइसकेपछि मात्र यस कक्षमा ल्याएर उपचार गरिन्छ,’ उनले भने, ‘सोहीअनुसार अस्पतालमा चिकित्सकको टोली तयारी अवस्थामा राखिएको छ ।’ कक्षमा भेन्टिलेटर जडान सहितको बेड पनि राखिएको छ । संक्रमण देखिएपछिको अवस्थामा उच्च जोखिमका बिरामीलाई उक्त बेड प्रयोग गरिने निर्देशक डा आचार्यले जानकारी दिए । शौचालय, तातो पानीसहित आवश्यक सामग्रीको जोहो कक्षमै तयारी अवस्थामा राखेको उनले बताए ।

‘सेल्फ क्वारेन्टाइनमा बसेर पनि संक्रमणबाट पहिल्यै जोगिन सकिन्छ, तर संक्रमण देखिएर ज्वरो आयो, स्वाश्प्रस्वासमा समस्या आयो र वरिपरिकालाई पनि समस्या पर्ने देखियो भने चिकित्सको निगरानीमा आइसोलेसन कक्षमा राखेर उपचार गरिन्छ,’ उनले भने, ‘हामीकहाँ आएका बिरामीमध्ये उच्च ज्वरो भएकाहरुलाई छुट्टै टेन्ट टाँगेर उपचार गर्ने व्यवस्था पनि गर्न लागेका छौं ।’ अस्पतालले शंका लागेका व्यक्तिहरुको स्वाब परीक्षण गरेर कोरोना पोजेटिभ देखिएका बिरामीलाई थप उपचारको प्रक्रिया थाल्ने निर्देशक डा. आचार्यले जानकारी दिए । मौसमी प्रभावका कारण सामान्य एन्फुलुन्जा लागेका बिरामीलाई पनि रुघाखोकी लाग्ने हुँदा सावधानी अपनाउनुपर्ने तर नआत्तिन उनको आग्रह छ ।

Advertisement

गण्डकी प्रदेशबाट हालसम्म ९ जनाको स्वाब परीक्षणको लागि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग सेन्टरमा पठाइएको थियो । तीमध्ये ६ जनाको रिपोर्ट नेगेटिभ प्राप्त भएकाले उनीहरु दैनिक कामकाजमा फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । रिपोर्ट आउन बाँकी रहेका व्यक्तिहरु ‘होम क्वारेन्टाइन’मा बसेको उनले बताए । ‘हस्पिटलमा राखियो भने धेरैमा फैलिन सक्ने सम्भावना हुन्छ, सुरक्षाको सन्तुलनलाई व्यवस्थित गर्न ३ दिन घरमा परामर्श दिएर राख्ने र रिपोर्ट नेगेटिभ आयो भने खबर गरिहाल्छौं,’ उनले भने, ‘यदि पोजेटिभ आयो भने जसको नमूना लिइएको हो उक्त व्यक्तिसहितका परिवार सबैलाई आइसोलेसनमा राख्छौं ।’

पोखराको चरक मेमोरियल अस्पतालमा ३०, मनिपालमा १५, गण्डकी मेडिकल कलेजमा १५ र जिपी कोइराला स्वासप्रस्वास केन्द्रमा ३० वटा बेड आइसोलेसनका लागि तयारी अवस्थामा राखिएको निर्देशक डा. शर्माले जानकारी दिए । उपचारमा खटिने चिकित्सक संक्रमणबाट जोगिन चाहिने व्यक्तिगत सुरक्षाका सामग्री (पिपिई) उपलब्ध रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया