बाग्लुङमा पटक पटक लापरवाही, यस्तै गरे बर्बाद हुन्छ

समाधान संवाददाता २०७७ वैशाख १ गते १३:४८
फाइल तस्बिर

रामकृष्ण ज्ञवाली

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा बिस्तार हुन नदिन सरकारले देशैभर लकडाउन जारी राखेको छ । काठमाण्डौंमा पहिलो दोश्रो संक्रमण भेटिएपछि यो भाइरसलाई समुदायमा फैलन नदिन देशैभर लकडाउन घोषणा गरियो, जुन निकै प्रभावकारी पनि देखिएको छ ।

काठमाण्डौंपछि देशमा कोरोना भाइरसको संक्रमण देखिएको ठाउ गण्डकी प्रदेश हो । गण्डकीको बाग्लुङ जिल्लामा पहिलो कोरोना संक्रमण भएको थियो । त्यो बेलामा बाग्लुङमा कोरोना नियन्त्रण गर्ने जिम्मा पाएका स्थानीय जिम्मेबारवालाहरुले गम्भीर गल्ती गरेका थिए । यस्तै गल्ती अहिले पनि गरेका छन् ।

Advertisement

विदेश ट्राभल हिस्ट्री भएको र ज्वरो आएको विरामीलाई समेत क्वारेन्टाइनमा वा आइशोलेशन वार्डमा नराखेर सामान्य भन्दै घर पठाइयो । पछि उनी संक्रमित भएको पुष्टी भयो । उनीसंगे आएकी ती युवतीकी हजुर आमा पनि अहिले संक्रमित भएको प्रमाणित भएको छ ।

उनीहरु विदेशबाट आएपछि यति एअरको विमानमा पोखरा र जिपमा बाग्लुङ गएका थिए । उनीहरुको सम्पर्कमा आएका मानिसहरुको खोजीमा ढिलाई गरियो । हाम्रो भाग्यले साथ दिएको भन्नु पर्छ, उनीहरुबाट दोश्रोमा सरेको अहिलेसम्म फेला परेको छैन ।

Advertisement

पहिलो घटनामा नै गम्भीर गल्ती गरेका बाग्लुङका जनप्रतिनिधि र अधिकारीहरुले त्यसपछि पनि पाठ सिकेका रहेनछन् भन्न्े कुरा काठेखोला गाविसको घटनाले फेरि उदाङगो पारेको छ । जसरी पहिलो संक्रमित युवतीलाई कहाँ राख्ने भन्ने सवालमा त्यहा ठुलै लफडा भएको थियो । संक्रमण पुष्टी भएको ७ भण्टा पछि राती करिब ११ बजे उनलाई बाग्लुङ अस्पतालको क्वारेन्टाइनमा लगिएको थियो । काठेखालामा पनि त्यस्तै भयो ।

अहिले बाग्लुङमा रयापिड टेष्ट भैरहेको छ । टेष्ट गर्दा पोजेटिभ वा नेगेटिभ यी दुई रिजल्ट नै आउने हो । तर पोजेटिभ परिणाम आयो भने के गर्ने भन्ने तयारी उनीहरुसंग केही छैन भन्ने कुरा हिजाको काठे खोला घटनाले देखायो ।

सो गाउपालिकाको वडा नम्बर ६ मा चैत्र ६ गते भारतबाट फर्किएकी एक बृद्धामा पोजेटिभ देखियो । उनीहरुको विदेश ट्राभल हिस्ट्री भएकै कारण टोली परिक्षणमा गएको थियो । तर त्यहाँ जाँदा पोजेटिभ परिणाम देखिए के गर्ने भन्ने कुरामा न त स्वास्थ्यकर्मीको कुनै तयारी थियो, न त स्थानीय सरकारको नै ।

परिणाम पोजेटिभ देखेपछि खटिएका स्वास्थ्यकर्मी आफै डराए । उनलाई घर मै छोडेर हिड्नेसम्मको परिस्थिति बन्यो । गाउमा एक जनालाई कोरोना भाइरसको संक्रमण हुन सक्ने सम्भावना देखिएपछि सिङ्गो गाउलाई नै क्वारेन्टाइन गर्नु पर्ने हुनसक्छ । त्यहाँ पनि सदरमुकामकै चाला भयो ।

बल्ल बल्ल स्थानीय विद्यालयमा एउटा क्वारेन्टाइनको व्यवस्था गरेर उनलाई त्यही राख्ने निर्णय गरियो । तर त्यहाँ पुर्याउने कसले ? ६५ बर्षीया बृद्धा आमा कोरोना पोजेटिभ हुन सक्छ भन्ने त्रासले त्यसै डराउनु भएको थियो । उहाँलाई विद्यालयसम्म पुर्याउन निकै पापड पेल्नु पर्यो ।

यहाँ सम्मकी एम्बुलेन्सले समेत उनलाई बोक्न मानेन । नेपाल रेडक्रस सोसाइटीले नै सञ्चालन गरेको एम्बुलेन्स नै जिम्मेबारी भाग्छन ? यसको जवाफदेही को हो ? भाग्यले साथ दिएका कारण बाग्लुङमा अरु संक्रमित देखिएका छैनन् । पहिलो संक्रमण हुँदा त ठिकै छ । कुनै तयारी थिएन, एक्कासी देखियो भन्न पाइएको थियो । तर अहिले त बाग्लुङ गण्डकीको हट स्पट हो । यही हट स्पटमा अर्को संक्रमणको सम्भावित मानिस भेटिदा पनि भागाभाग हुन्छ भने कोरोनाका विरुद्धको लडाईमा हाम्रो तयारीलाई कसरी मुल्याङ्कन गर्ने ?

अझै लाजमर्दो कुरा त के छ भने बाग्लुङ जिल्लाका कुनै पनि एम्बुलेन्स कोरोना संक्रमितलाई बोक्न तयार छैनन् । त्यसैले बाग्लङ प्रहरीले जिल्ला रेडक्रस सोसाइटीको एम्बुलेन्स कब्जा गरेर राखेको छ । रेडक्रसले चालक दिएको छैन । नेपाल प्रहरीले आफ्नै सिपाहीलाई एम्बुलेन्सको चालक बनाएको छ । आइतबार पनि काठेखोलाका संक्रमित आशंका भएकी बृद्धालाई क्वारेन्टाइनसम्म पुर्याउन त्यही प्रहरी चालक भएको एम्बुलेन्स गाउ पुग्नु पर्यो । सरकारले त्यसको व्यवस्थापन गर्न स्थानीय सरकारलाई भनेको छ । तर गरिएन। र त जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले चलाउने एम्बुलेन्स पठाउनु पर्यो ।

यस्तै लापरवाही गर्ने हो, र जिम्मेबारीबाट भाग्ने हो भने, गण्डकी प्रदेशमा बर्बाद हुन सक्छ । भारतमा सरकारले घनिभुत प्रयास गर्दा गर्दै तबलिकी जमाात मस्जिदका कारण पुरै भारत बर्बाद भयो । त्यस्तै बाग्लुङमा गरिएका लापरवाहीले पुरै नेपाल बर्बाद हुनसक्छ । बेलैमा व्यवस्थापन गरौं । सजग बनौं । आज रोकथाम गर्न सकिने अवस्थामा छौं, भोली पछुताउनु नपरोस ।

तपाईको प्रतिक्रिया