१० बर्षे बच्चाको ४० पटक हात खुट्टा भाच्चिसक्यो, किन भाचिन्छ पटक पटक हड्डी ?

समाधान संवाददाता २०७७ वैशाख २६ गते ८:३३

जमुना बर्षा शर्मा
पोखरा

पोखरा महानगरपालिका–६ का खिम लामिछाने र पत्नी दुर्गा छोरा अनिमेश अहिले मात्र १० बर्ष भए । तर १० वर्ष पुगिसक्दा उनको ४० पटक हड्डी भाँचिसकेको छ । ११ महिनाको हुँदा खाटबाट लडेर हड्डी भाँचेका अनिमेशको त्यसयता सामान्य लड्डा पनि हात खुट््टा भाच्चिहाल्छ । उनका बाबु आमाले विश्वका सुविधा सम्पन्न अस्पतालमा लगेर समेत उनको उपचार गराईसके । तर हड्डी बलियो हुन सकेको छैन ।

यो आफैमा रोग होइन । यस्तो अवस्थालाई बिसबोन भनिन्छ र जो सुकै मानिसलाई पनि हुन सक्छ । त्यसैले यसबारेमा जनचेतना जगाउन मे ६ तारिखलाई विश्वभर विसवोन डे भनेर मनाउने गरिन्छ । तर पनि धेरै मानिस यसबारेमा अनजान नै छन् ।

Advertisement

शरीरका हाडहरु साह्रै कमजोर भएर हाड भाँचिने अवस्थालाई अस्टियोजेसिस इम्पर्फक्टा र मेडिकल टर्ममा अस्टियोजेनेसिस इम्पर्फक्टा अर्थात ओआई भएको भनिन्छ । ओआई आफैमा रोग होइन, शरीरका हड्डी अर्थाथ अस्थिपञ्जर प्रणाली निकै कमजोर हुने एक अवस्था मात्र हो ।

अनिमेशका बाबा खिम लामिछानले ओआई भएकाहरुलाई बिरामी वा रोगी भनिदिँदा मानसिकरुपमा आफूहरुलाई असक्षम र परनिर्भर भएको अनुभूति गर्ने गरेको बताउँछन् । ‘शरीरका विभिन्न अंगमध्ये हाड मात्र कमजोर हो, हाड नभाचिँदाको अवस्थासम्म अरु ओआई नभएका व्यक्ति सरह नै हुन्छन् । ओआईको कारणले अन्य रोगहरु जस्तै कान कम सुन्ने, श्वासप्रश्वास सम्बन्धी रोग लगायत अन्य जटिलताहरु उत्पन्न हुन सक्दछ । तर ओआई भने आफैंमा रोग होइन ।

Advertisement

हाड जोर्नी विशेषज्ञ डा। रवीन्द्र श्रेष्ठ शरीरमा हुने कोल्याजिन भन्ने तत्व परिपक्व नहुँदा हड्डी कमजोर हुन जाने र यो समस्या आउछ। उनले यसको लक्षण विशेष गरी गर्भावस्थाको २८ हप्ता पछाडि र जन्मेपछि देखिने गरेको बताए । ‘जब बच्चा हिँड्न थाल्छ कमजोर हड्डी भाँचिन थाल्छ, अहिले आधुनिक शल्यक्रिया मार्फत भाँचिनु अगाडिनै रड राखेर जोगाउने अभ्यासहरु हुन थालेको छन्, सकेसम्म हड्डी भाँचिनबाट जोगाउनुनै हो,’ उनले भने ।

चिकित्सक श्रेष्ठका अनुसार यो समस्या भएकाहरुमा आँखा निलो र दाँत बिग्रन सम्भावना हुने साथै हड्डी कमजोरी सँगै अन्य शरीरिक जटिलताहरुको बिकास हुँदै जान सक्छ । यो लाखौं हजारौ बच्चा जन्मिँदा कुनै एक बच्चामा यो अवस्था देखिन सक्छ ।

संसारभर यो ओआई बारेमा जनचेतना फैलाउने अभिप्रायले अंग्रेजी महिनाको मे ६ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रमहरु हुने गरेको र यसलाई विसबोन डे भनेर चिनिने उनले जानकारी दिए । उनका अनुसार यो दिन पहेँलो कपडा लगाएर विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिन्छ ।

विसबोनको शब्दिक अर्थ बलियो हड्डीको कामना भन्ने हुन्छ । नेपालमा ओआई भएका कति बिरामी छन् भन्ने यकीन नभएपनि पछिल्लो समय विभिन्न माध्यमबाट यसबारेमा जानकारी लिनेहरु भने बढ्दै गएको उनको भनाइ छ ।

यस अवस्थाको बारेमा रगत, छाला, एक्सरे, डिएनए आदी परीक्षण गरेर यो पहिचान गर्ने गरिएको छ । ओआई मा धेरै पटक शरीरका विभिन्न हाडहरु भाँचिरहने हुँदा पटक पटक अस्पताल जाने, एक्स–रे गर्ने र प्लास्टर लगाउने काम भइरहन्छ ।

विश्व विसबोन डे अर्थात मे ६ का दिन यो यो समाचार प्रकाशन गरेका थियौं । यस बारेमा अझै धेरै मानिसले थाहा पाउनु पर्ने महसुस गरेर पुन प्रकाशन गरेका छौं– सम्पादक ।

तपाईको प्रतिक्रिया