म्याग्दीका २ पसलमा सिलबन्दी

समाधान संवाददाता २०७७ वैशाख ३० गते १४:३३

म्याग्दी

बजार अनुगमन टोलीले बेनीबजारमा दर्ताको उद्देश्य विपरीत सञ्चालित दुईवटा पसलमा सिलबन्दी गरी बन्द गराएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार न्यूरोडको करुणा खाद्यान्न र क्याम्पसचोकको झिङ्खानी मासु पसल बन्द गराइएको हो । अनुगमनका क्रममा सो खाद्यान्न पसलका सञ्चालकले खाद्यान्न सामग्रीको उद्देश्य राखेर दर्ता गरेको पसलमा पूजा र शृङ्गारका सामग्री बिक्री गरेको र मासु पसलका सञ्चालकले मासु पसल भनेर दर्ता गरेकामा एकै ठाउँमा खाद्यान्न सामग्री पनि बिक्री गरेको पाइएको कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।

ती पसलका सञ्चालकलाई उद्देश्यअनुसार सञ्चालन गर्न अथवा उद्देश्य थप र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ । निर्देशन पालना गरेपछि मात्र पसल खुलाउन पाउने भएका छन् । हुलाकचोकबाट क्याम्पसचोकसम्मका खाद्यान्न पसलको अनुगमन गरिएको थियो । जिल्ला प्रशासन, प्रहरी, बेनी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको बजार अनुगमनमा सहभागिता रहेको थियो ।

Advertisement

अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तु बरामद गरेर नष्ट समेत गरिएको छ । यसअघि नमूनाको रूपमा थोरै सङ्ख्यामा पसलहरुको अनुगमन हुने गरेको थियो । सोमबार भने सबै पसलहरुको क्रमशः अनुगमन गरिएको थियो । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समयमा कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी हुनसक्ने भएकाले स्थानीय प्रशासन र सम्बद्ध कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएका छन् । रासस

Advertisement

तपाईको प्रतिक्रिया